Comments Add Comment

शहरभित्र विजुली छिराउनै सकस

Photo Credit : फाइल तस्वीर
गत वर्ष खोकनामा बनिसकेपछि ढालिएको टावर

३ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा विद्युतको माग करिब उच्चतम् ४५० मेगावाट हाराहारी पुगेको छ । ऊर्जामन्त्री वर्षमान पुनका अनुसार उपत्यकामा विजुली वितरण लाइनको क्षमता ५०० मेगावाट मात्र छ ।

वितरण क्षमता जत्ति नै विजुलीको माग पुग्न लाग्दा पनि विद्युत प्राधिकरणले वितरण प्रणालीको क्षमता बढाएको छैन । ट्रान्सर्फमरहरु थपिएपनि प्रसारणलाइन र सबस्टेशनको क्षमता बढाउन नसक्दा झ्याप-झ्याप विजुली जाने समस्या छ । उपभोक्ताहरुले यसलाई ‘अघोषित लोडसेडिङ’ भनिरहेका छन् ।

ओभरलोड भएकाहरुलाई फेरेर उच्च क्षमताका नयाँ ट्रान्सर्फमरहरु राख्न स्थानीयले नै नदिने, प्रसारण लाइन तथा सबस्टेसन आफ्नो क्षेत्रमा बनाउन नदिने, जग्गा नपाउने लगायतका कारण उपत्यकामा विद्युत् लाइन विस्तार गर्न समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

उपत्यका घेरेर प्रसारणलाइन र सबस्टेसनहरु बनाउने प्राधिकरणको योजना अधुरो हुँदा सबै भागसम्म विजुली पुर्याउन सकस भएको उनले बताए । उनका अनुसार, २२० केभी प्रसारणलाइनबाट मस्र्याङ्दी र त्रिशुली हुँदै मातातीर्थ आएको विजुली उपत्यकाभित्रका सबस्टेसनहरुमा ल्याउन प्रसारणलाइनकै अभाव छ ।

उपत्यकाभित्र ट्रान्सर्फमरहरुको क्षमता बढाइए पनि रिंग (बाहिरी वितरण चक्र) बाट सहजै विजुली ल्याउन नसक्दा सहरमा एउटा सबस्टेसन समस्याग्रस्त हुनासाथ आपूर्ति मिलाउन कठीन हुने गरेको घिसिङ बताउँछन् । उनी भन्छन्, ‘पाटनको सबस्टेसनमा समस्या आउँदा प्रभावित क्षेत्रका अर्को सबस्टेसनबाट आपूर्ति गर्न सकियोस् भनेर काम गर्न खोजेका छौं, तर गाह्रो परिरहेको छ ।’

उनका अनुसार, उपत्यकामा वितरण क्षमता ५०० बाट तिन हजार मेगावाट नपुर्याए आउँदा वर्षहरुमा ठूलो समस्या हुनेछ । त्यसका लागि काम थालिएपनि विभिन्न ठाउँमा अवरोध भएको उनको गुनासो छ ।


२० वर्षदेखि योजना अलपत्र

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सहज पार्न थालिएका धेरैजसो काम अलपत्र परेको प्राधिरकण बताउँछ । हुनपनि, २० वर्षअघि सुरु भएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी रिङ मेन प्रसारणलाइन निर्माणको काम अझै सकिएको छैन । यसमा स्थानीयवासीन्दाको अवरोध छ । यो लाइन नबने मातातीर्थसम्म जति विजुली ल्याइए पनि शहरभित्र वितरण गर्न नसकिने प्राधिकरण बताउँछ ।

खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रका बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्न, त्यो नभए लट्ठामुनि पर्ने जग्गाको शतप्रतिशत मुआब्जा र क्षतिपूर्ति दिन माग राखेका छन् । खोकनाका राजु शाक्य प्राचिन शहर नै मास्नेगरी अनेक आयोजना ल्याइएपछि विरोध गर्नुपरेको बताउँछन् ।

गत १८ वैशाखमा ललितपुर महानगरपालिका- २१ खोकनामा बनिसेकको २७ नम्बर टावरको नट-बोल्ट खोलेर ढालिएको थियो । थुप्रै ठाउँमा स्थानीयवासीले प्रसारणलाइन बिरुद्व संघर्ष समिति नै बनाएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘आयोजनाहरुबाट आएको विजुली उपत्यका छिराउनै नपाउने समस्या आइलागेको छ ।’

आर्थिक वर्ष २०५५/०५६ बाट सुरु भएको यो प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड निर्माण स्थानीयवासीको अवरोधका पुरा हुन सकिरहेको छैन । खोकना, बुङमती, हरिसिद्धी र लामाटार क्षेत्रको समस्या समाधान गर्ने प्राधिकरणको प्रयास निस्फल भईरहेको छ ।

यो प्रसारण लाइन निर्माण सम्पन्न भए काठमाडौं, ललितपुर र भक्तपुरमा १३२ केभी प्रसारणलाइनको रिङ बन्छ । त्यो रिंगबाट विजुलीको वितरण लाइनमा गुणस्तर थपेर लाइन आउने-जाने समस्या हल गर्न मद्धत गर्छ ।

मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहे पनि थानकोट-चापागाउँ-भक्तपुर प्रसारण लाईन बन्न नदिए प्रणालीमा मनग्गे विजुली भएपनि काठमाडौंमा काम नलाग्ने अवस्था हुने घिसिङ बताउँछन् ।

प्राधिकरणले हरिसिद्धीमा सबस्टेसन र टावर रहने जग्गा अधिग्रहण गरेको छ, तर स्थानीयले काम गर्न दिएका छैनन् । ललितपुरमा १४ किलोमिटरभित्र ५१ वटा टावर खडा गरेर लट्ठा तान्नुपर्ने छ । तर, काम नभएर एकपटक ठेक्का तोडिएको यो आयोजनारुग्ण अवस्थामा पुगेको  छ ।

अरु योजनामा पनि समस्या

थानकोट-चापागाउँ-भक्तपुर प्रसारण लाइनमा अवरोध कायमै रहेपछि विद्युत् आपूर्ति प्रभावित हुन नदिन चोभारमा निर्माणधीन सुख्खा बन्दरगाहसँगै सबस्टेसन बनाउनेबारे छलफल भइरहेको प्राधिकरणले बताएको छ ।

उपत्यकाको विद्युत प्रणालीलाई प्रभावकारी बनाउन एक स्थानको सवस्टेशनमा समस्या आउँदा अर्को सबस्टेसनबाट लाइन दिन काठमाडौंको लप्सीफेदी, मुलपानी, फुटुङ, भक्तपुरको चाँगुनारायण र ललितपुरको चापागाउँमा सबस्टेसन निर्माणाधीन छन् ।

यस्तै सिंहदरबारभित्रको सबस्टेसनबाट १५ मेगावाट विद्युत् आपूर्ति गर्न फिडर निकालेर तारलाई भूमिगत बनाएर मिनभवनस्थित सबस्टेसनमा लैजानुपर्ने छ । तर, यसमा सडक विभागलाई सहमत पार्न नसकेको प्राधिकरण बताउँछ । कोटेश्वर र सिनामंगल क्षेत्रमा सबस्टेसन बनाउन चाही जग्गा नै पाउन नसकिरहेको प्राधिरकणको गुनासो छ ।

‘शहरभित्र ट्रान्सर्फमर र ट्रान्सर्फमर राख्ने ठाउँ नै पाइन्न, कसैले पनि आफ्नो घर छेउमा ट्रान्सर्फमर राख्न दिँदैनन्,’ कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘बल्ल-बल्ल मनाएर काम सुरु गर्दा कुनै न कुनै वहनामा अवरोध भइहाल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment