Comments Add Comment

चार राज्यमन्त्री थप्दै प्रदेश सरकार

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले दुई मन्त्रालयमा मन्त्री पद खाली राखेर चार राज्यमन्त्री थप गर्ने तयारी गरेका हुन् ।

मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गर्ने छन् । चारैजनालाई आइतबार अपराह्न सपथ ग्रहण गराउने तयारी भइरहेको स्रोतले बताएको छ ।

दुई मन्त्रालय खाली

मुख्यमन्त्री शेरधन राईले जसमाया गजमेरलाई सामाजिक विकास मन्त्रालय, अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, राम रानालाइ भूमि कृषि तथा सहकारी मन्त्रालय र विजय विश्वासलाई पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् ।

एक नम्बर प्रदेशमा सात वटा मन्त्रालय छन् । मुख्यमन्त्री शेरधन राईले भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय आफैं हेर्दै आएका छन् ।

पूर्वाधार मन्त्रालयमा उनले गुरुङलाई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । लामो समय अमेरिका बसेका गुरुङ ओखलढुंगा प्रदेश निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी मुख्यमन्त्रीको विश्वासपत्र मानिन्छन् ।

शनिबार मात्र पार्टीको प्रदेश कमिटीले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो । तर मुख्यमन्त्री राईले भने मन्त्री खाली राखेर राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । राज्यमन्त्रीको आइतबार तीन बजे सपथग्रहण राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment