Comments Add Comment

सुधारियो रेमिट्यान्स, ५ महिनामा भित्रियो ३ खर्ब ७७ अर्ब

५ माघ, काठमाडौं । ३ महिना यता लगातार घटेको रेमिट्यान्स चालु आर्थिक वर्षको पाँचौ महिनामा आइपुग्दा भने झिनो अंकले बढेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा रेमिट्यान्स ०.१ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७३/७४ को पाँच महिनाको तुलनामा गत आर्थिक वर्ष २०७५/७६ मा रेमिट्यान्स ३१.९ प्रतिशतले बढेको थियो । २०७५/७६ को पाँच महिनाको तुलनामा भने जम्मा रेमिट्यान्स ०.१ प्रतिशतलेमात्रै सुधार भएको हो ।

चालु आर्थिक वर्षको चौथो महिना अर्थात कात्तिक मसान्तसम्म अघिल्लो वर्षको यसै अवधिको तुलनामा २ दशमलव ३ प्रतिशतले कमी अाएर ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियाे ।

तेस्रो महिनामा पनि ४.९ प्रतिशतले घटेर २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ भित्रिएको थियो भने चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि रेमिट्यान्स आप्रवाह ०.३ प्रतिशतले गिरावट आएर १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँमात्रै भित्रिएको थियो ।

दशैंको मूख्य सिजनमा समेत घटेको रेमिट्यान्स थोरै भए पनि मंसिर महिनामा बढेको हो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ११ दशमलव ८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३८.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.४ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment