Comments Add Comment

वैदेशिक रोजगारीमा जाने बढे, रेमिट्यान्स भने घटेको घट्यै

२ पुस, काठमाडौं । कात्तिक महिनामा पनि विदेशमा रहेका नेपालीले पठाउने रकम (रेमिट्यान्स) घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को चौथो महिनासम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स निरन्तर ओरालो लागेको तथ्यांक दिएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चौथो महिना अर्थात कात्तिक मसान्तसम्म ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्सको यो तथ्यांक अघिल्लो वर्षको यसै अवधिको तुलनामा २ दशमलव ३ प्रतिशतले कमी हो ।

अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको तेस्रो महिनासम्म २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ भित्रिएको थियो । यो पनि गत आर्थिक वर्ष २०७५/७६ को तेस्रो महिनाको तुलनामा ४.९ प्रतिशतले कमी हो ।

चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि रेमिट्यान्स आप्रवाह ०.३ प्रतिशतले गिरावट आएर १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँमात्रै भित्रिएको थियो ।

विदेशिनेको संख्या बढ्यो

वैदेशिक रोजगारीमा जानेको संख्या घटेका कारण रेमिट्यान्समा गिरावट आएको विश्लेषण गरिएको थियो । तर तथ्यांकले वैदेशिक रोजगारीमा जानेहरु बढे पनि रेमिट्यान्स घटेको छ ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कात्तिकसम्म ५.६ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment