Comments Add Comment

गैरकानूनी रुपमा नेपाल–चीन सीमा पार गरे ७ दिनभित्र फर्काइने

सीमा रेखाको एक किलोमिटरभित्र गोली चलाउन निषेध

फाइल तस्वीर ।

१० माघ, काठमाडौं । गैरकानूनी रुपमा चिनियाँ नागरिक नेपाल प्रवेश गर्न खोजे ७ दिनभित्र स्वदेश फर्काइने भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको ‘सीमा व्यस्थापनसम्बन्धी सम्झौता’ले हिरासतमा राखेको एक साताभित्र चीन फर्काउने व्यवस्था गरेको हो ।

प्रतिनिधिसभाको जानकारीका लागि पेश गरिएको सम्झौताको पूर्णपाठको धारा २६ को उपधारा (२) मा भनिएको छ, ‘दुवै पक्षका सीमा प्रतिनिधिहरु र सक्षम निकायले गैरकानूनी रुपमा सीमा पार गर्न खोजेको व्यक्तिको सम्बन्धमा अनुसन्धान गर्नेछ, तिनीहरुको पहिचान, तथ्य र कारण यथासम्भव चाँडो यकीन गर्नेछ र हिरासतमा राखेको सात दिनभित्र निजलाई सीमा पार गर्नुभन्दा अगाडि बसेको अर्को पक्षतर्फ हस्तान्तरण गर्नेछ ।’

सम्झौताले नेपाल–चीन सीमाको एक किलोमिटरभित्र गोली प्रहार गर्न पनि निषेध गरेको छ । साथै, खुला गोलीबाट शिकार गर्न पनि निषेध गरेको छ ।

यससम्बन्धी अनुसन्धान सीमा प्रतिनिधि र सक्षम निकायले गर्ने भनिएको छ । साथै, ती व्यक्ति निर्धारित समयमा हस्तन्तरण गर्न वा प्राप्त गर्न नसकिए अर्को पक्षका प्रतिनिधि र सक्षम निकायलाई कारणबारे पनि जानकारी दिइने उल्लेख गरिएको छ ।

सीमा पार गरेर नेपाल प्रवेश गर्ने व्यक्ति नेपाली नागरिक भए, हस्तान्तरण गर्नुनपर्ने भनिएको छ । यसरी सीमा पार गर्ने चिनियाँ नागरिकको नेपालमा पनि कुनै कसूर देखिए हिरासतमा राखेर कानून बमोजिम कारबाही गर्न सकिने भनिएको छ । अनुसन्धानका लागि समयावधिसम्म हिरासतमा राखेर फिर्ता गर्न सकिने व्यवस्था छ ।

सीमा पार गर्ने व्यक्तिले सीमामा रहेका अधिकारी वा अन्यको व्यक्तिगत सुरक्षामा खतरा पुग्ने काम नगरे हतियार प्रयोग नगर्ने व्यवस्था धारा २७ (२) मा गरिएको छ । तर, गैरकानूनी क्रियाकलाप रोक्ने सन्दर्भमा गोली चलाउने सकिने व्यवस्था छ ।

सम्झौतामा भनिएको छ, ‘हतियार प्रयोग गर्नुपूर्व सीमा अधिकारीले हतियार प्रयोग गर्न लागिएको सम्बन्धमा स्पष्ट रुपमा चेतावनी दिनुपर्नेछ र चेतावनीस्वरुप गोली पड्काउनेछ ।’

यो पनि पढ्नुहोस सुपुर्दगीकै झल्को आउने नेपाल–चीन सन्धि !

सीमा आयोग स्थापना हुने

सम्झौतामा नेपाल–चीन सीमा संयुक्त आयोग स्थापना गर्ने पनि भनिएको छ । आयोगमा दुवै पक्षले आ–आफ्नो देशको कानूनले निर्दिष्ट गरेको कार्यविधि बमोजिम नियुक्त गरेको उपयुक्त दर्जाका मुख्य प्रतिनिधि र अन्य प्रतिनिधि रहने भनिएको छ ।

आवश्यकताअनुसार विज्ञ र प्राविधिकलाई संलग्न गराइने भनिएको छ । आयोगको पहिलो बैठक सम्झौता लागू भएको मितिले तीन महिनाभित्र भइसक्नुपर्ने भनिएको छ ।

नेपाल–चीन सीमा आयोगले के गर्छ ?

१. नयाँ ठाउँमा आवश्यकता अनुसार सीमा संकेतको मर्मत, पुनःनिर्माण, पुनर्स्थापना र पुनर्संरचना,

२. सीमापार जलस्रोतसम्बन्धी परियोजना र कार्यक्रम स्वीकृति तथा सुपरीवेक्षण गर्ने,

३. सीमापार सुविधासम्बन्धी परियोजना स्वीकृत तथा सुपरीवेक्षण गर्ने,

४. आवश्यकताअनुसार निश्चित सीमासम्बन्धी कार्यका लागि इन्चार्ज प्रतिनिधिहरु नियुक्त गर्ने,

५. सम्झौताको परिशिष्ट संशोधन वा परिपूण गर्ने,

६. सम्झौता कार्यान्वय गर्ने क्रममा सम्झौताको दफामा व्याख्यासम्बन्धी भिन्नता उपर कार्य गर्ने,

७. सीमा प्रतिनिधिहरुले समाधान गर्न नसकेको सीमासम्बन्धी घटना उपर छलफल तथा समाधान गर्ने,

८. सम्झौता कार्यान्वय सम्बन्धमा सुपरीवेक्षण गर्ने,

९. नेपाल–चीन सीमा व्यवस्थापन प्रणालीमा रेखदेखसम्बन्धी अन्य मुख्य विषयमा छलफल गरी निर्णयमा पुग्ने

सीमाको एक किमीभित्र गोली प्रहार गर्न निषेध

सम्झौताले नेपाल–चीन सीमाको एक किलोमिटरभित्र गोली प्रहार गर्न पनि निषेध गरेको छ । साथै, खुला गोलीबाट शिकार गर्न पनि निषेध गरेको छ ।

चीनबाट भागेर कुनै पशुपन्छी नेपाल आए वा नेपालबाट चीनतर्फ प्रवेश गरे तिनीहरुलाई फिर्ता धपाउने पर्ने पनि व्यवस्था गरिएको छ ।

नेपाल–भारत सीमा चाहिँ ५ सय मिटरभित्र कुनै पनि संरचना बनाउन वा अन्य गतिविधि गर्न रोक लगाइँदै आएको छ । चीनको सीमामा दुव्ै तर्फको १० मिटरसम्मको दायरामा नयाँ घर तथा स्थायी भवन बनाउन नपाइने गरिएको छ ।

चीनसँगको सीमामा सम्बन्धित राष्ट्रको एक किलोमिटरभित्र विष्फोटक पदार्थ विस्फोटन गर्नु परे पनि अग्रिम जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

सम्झौताको धारा ९ (२) मा भनिएको छ, ‘विष्फोटन गर्नुपरेमा अर्को पक्षलाई कम्तीमा ३ कार्यदिनको अग्रिम जानकारी दिनुपर्छ र अर्को पक्षको हितको सुरक्षाका लािग उपाय अपनाउनुपर्छ ।’

दुवै पक्षले सीमा क्षेत्रको पर्यावरणीय सुरक्षाका लागि उपाय अपनाउनुपर्ने पनि व्यवस्था गरिएको छ । साथै, सीमा रेखाको एक किलोमिटरभित्र खतरनाक रसायन तथा अन्य हानिकारक पदार्थको भण्डारण गर्न पनि निषेध गरिएको छ । ‘रेडियोधर्मी विकिरण जस्ता घातक फोहोर फाल्न पनि निषेध गर्नेछ’, सम्झौतामा भनिएको छ ।

हवाई तस्वीर लिनुपरे अग्रिम स्वीकृति लिनुपर्ने

नेपाल वा चीनमध्ये कसैले सीमा क्षेत्र तथा सुविधाको हवाई तस्वीर लिए वा टाढासम्म देखिने सर्वेक्षणका लागि विमान उडान गर्नुपरे १५ दिन अगावै कुटनीतिक माध्यमबाट स्वीकृति लिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

सर्वेक्षणका लागि अर्को पक्षको सीमाभित्र प्रवेश गर्नुपर्दाको हकमा पनि यो लागू हुने भनिएको छ । एक पक्षले अर्को पक्षको स्वीकृति विना सीमा प्रवेश गर्न नमिल्ने भनिएको छ ।

धारा १६ मा सीमामा हुने अपराध रोक्न संयुक्त कारबाहीमा सहयोग अभिवृद्धि गर्नेबारे उल्लेख गरिएको छ । ‘सीमामा हुनसक्ने तस्करी, लागूऔषध ओसारपसार, आतंकवादी तथा हिंसात्मक क्रियाकलाप जस्ता विभिन्न अपराध रोक्न तथा दबाउन सहयोग अभिवृद्धि गर्नेछन्’, सम्झौतामा भनिएको छ ।

पशुपन्छी सीमा कटे फिर्ता धपाउनुपर्ने

चीनबाट भागेर कुनै पशुपन्छी नेपाल आए वा नेपालबाट चीनतर्फ प्रवेश गरे तिनीहरुलाई फिर्ता धपाउने पर्ने पनि व्यवस्था गरिएको छ ।

यदि धपाउन नसकिए दुवै पक्षका अधिकारीले यथासक्य चाँडो एकअर्कालाई जानकारी दिनुपर्ने भनिएको छ । साथै, सकेसम्म चाँडो खोजी र फिर्ता गर्ने उपाय अपनाउनुपर्ने भनिएको छ ।

सीमा क्षेत्रमा प्राकृतिक प्रकोप (बाढी, आगलागी, भूकम्प, हिमपहिरो आदि) का घटना भए दुवै देशका अधिकारीले एकअर्कालाई जानकारी गराएर रोकथाममा सहकार्य गर्नुपर्ने भनिएको छ । साथै, सीमामा प्रकोप फैलिनबाट रोक्न पनि प्रभावकारी उपाय अपनाउनुपर्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment