+
+

नाफा मात्रै कमाउने भए बैंक छाडेर एकल लगानी गर्नुस् : गभर्नर

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ माघ ११ गते १८:४१

११ माघ, बुटवल ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मुलुकको समृद्धिको लागि लगानीलाई सुरक्षित गर्नुपर्ने बताएका छन् ।

समृद्धिका लागि लगानी अपरिहार्य रहेको भन्दै उनले सुरक्षित कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे ।

प्रदेश स्तरीय देउराली लघुबित्त बित्तीय संस्थाको बुटवलमा शुभारम्भ गर्दै गभर्नर डा. नेपालले बैंक तथा बित्तीय संस्थाले एउटाको पैसा अर्कालाई दिने भएकाले जनताको गरेको निक्षेपलाई सुरक्षित रुपमा राखिदिने दायित्व पनि बैंकको नै भएको धारणा राखे ।

उनले बैंक बित्तिय संस्थाहरुले नाफामात्रै कमाउने ध्यान राखेको भन्दै उनले भने,’नाफा मात्रै कमाउने मन भए एकल लगानीमा बिजनेस गर्नुस्’ बैंक बित्तीय संस्थामा अरुको पैसामा रमाउने काम नगर्नुस् । ‘

मुलुकको समृद्धि र आर्थिक क्रियाकलाप बढाउनका लागि नेपाल राष्ट्रबैंकले सहुलियतपूर्ण नीति लिएको जानकारी गराउँदै गभर्नर नेपालले बैंकको पूंजी बृद्धिका लागि मर्जरको समेत नीति लिएको बताए ।

बैंक तथा बित्तिय संस्थाको पुँजी वृद्धिलाई रोक्नकालागि मन्त्री तथा सांसदहरुले समेत घेर्ने गरेको बताउदै उनले राष्ट्र बैंकले लिएको नीति रोक्न नसकिने जानकारी गराए ।

धेरै संस्थाहरुमा पुँजी छरिएर रहंदा त्यसको लागत पनि बढी पर्ने भएकाले बैंक तथा बित्तीय संस्थाको पुँजी बृद्धिलाई राष्ट्र बैंकले जोड दिएको उल्लेख गरे ।

नेपाल राष्ट्र बैंकले मर्जरका लागि प्रेरित गरिरहेको अवस्थामा स्थापित उक्त देउराली लघुवित्त बित्तीय संस्थालाई पनि मर्जरका लागि तयार हुन र अनुकुलको संस्थाको खोजी गर्न समेत आग्रह गरे ।

५ वर्ष अगाडि आफू राष्ट्र बैंकको गभर्नर भएर आउँदा ६५ प्रतिशत जनता वित्तीय पहुँच बाहिर रहेको र हाल ६१ प्रतिशत जनता वित्तीय पहुँचमा पुगेको जानकारी गराउँदै उनले बाँकी ३९ प्रतिशत जनतालाई बित्तीय साक्षरता प्रवर्द्धनका लागि लघुवित्त बित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेे ।

नागरिकमा बित्तीय पहुच वृद्धि गर्नका लागि नेपाल राष्ट्र बैंकले नयाँ संरचना अनुसार सबै स्थानीय तहमा बाणिज्य बैंक पुर्‍याउने लक्ष्य अनुसार हालसम्म ७५३ स्थानीय तह मध्ये ७४३ स्थानीय तहमा बाणिज्य बैंक पुगेको जानकारी गराए ।

प्रदेश पाँचका १०९ वटै स्थानीय तहमा वाणिज्य बैंंक पुगेका छन् । यो अभियानले पनि बित्तीय पहुँचमा सुधार गरेको उनले बताए ।

त्यस्तै कार्यक्रममा प्रदेश पाँचका योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले प्रदेश सरकारले कृषि उद्योग र पर्यटनलाई प्राथमिकताका क्षेत्र निर्धारण गरिएको बताउँदै ती क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गरे ।

त्यस्तै नेपाल राष्ट्र बैंक लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागका निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बैंक तथा बित्तिय संस्थालाई नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुसार काम गर्न आग्रह गर्दै प्रदेश सरकारले पनि कृषि उद्योग र पर्यटनलाई प्राथमिकिताका क्षेत्र निर्धारण गरेकाले नयाँ सम्भावना समेतमा प्रदेश सरकारसँग मिलेर काम गरेमा अति गरिब जनताको आर्थिक सुधार गर्न सकिने बताए ।

देउराली लघुबित्त वित्तीय संस्थाका अध्यक्ष बिनोद ज्ञवालीले प्रदेशको नया संस्था भएपनि आफुहरु दीर्घकालिन योजनाका साथमा आएको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, चौतारी लघुबित्त बित्तीय संस्थाका अध्यक्ष जगतबहादुर पोखरेल, संस्थाका संस्थापक हरि लम्साल, प्रमुख कार्यकारी अधिकृत शिव ज्ञवाली लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?