Comments Add Comment

ब्याचलर पार्टी : स्वतन्त्रताको अन्तिम रात  

हामीकहाँ एउटा तामासिक रात मनाइन्छ, विवाहको बखत । खासगरी बेहुलाको घरमा । यो त्यस्तो उन्माद रात हो, जहाँ आइमाई/युवतीहरु मनलाग्दो गर्छन् । बोल्न मन लागेको बोल्छन्, गर्न मन लागेको गर्छन् । रतिरागात्मक गीत गाउँछन् । त्यहाँ कसैको रोकटोक चल्दैन । पुरुषका लागि प्रवेश निषेध हुन्छ । किनकी त्यो रत्यौली हो ।

रत्यौलीकै सालाखाला प्रारुप हो, व्याचलरेट पार्टी । यी दुईको समानता के भने, त्यहाँ उत्ताउलो गर्न मनग्ये छुट हुन्छ ।

जस्तो कि, केराको दाम्चालाई घोडा बनाइन्छ । परालको पुच्छर झुन्ड्याइन्छ । उपस्थित महिला/युवतीहरुले आफ्ना साडी माथि-माथि सारेर अनेक हर्कत गर्छन् । यो रत्यौलीको तरिका हो ।

व्याचलेर पार्टी जसलाई हेन नाइट पनि भनिन्छ । यो मदहोस रात युवतीहरुले आफ्ना संगीका साथ यसरी मनाउँछन्, जहाँ विवाह गर्नेवाला युवतीलाई कृतिम पुरुष यौनाङ्ग उपहार दिनेदेखि त्यस्तै आकृतिका केक काट्नेसम्म गरिन्छ । त्यसमा मदिरा र म्युजिकको साथ त छँदैछ ।

रत्यौली र व्याचलेर पार्टीबीच व्यापक असमानता छ । रत्यौली हाम्रो अर्थात पूर्विय प्रचलनको एउटा अंश हो । व्याचलेर पार्टी पश्चिमा संस्कृतिको निरन्तरता हो । त्यसैगरी दुलहालाई अन्माएपछि बाँकी रहेका महिला तथा युवतीहरुले रत्यौलीको जोरजाम गर्छन् । व्याचलेर पार्टी भने विवाहअघिको कुनैपनि रात मनाउने गरिन्छ । यसलाई ‘स्वतन्त्रताको अन्तिम रात’ भनिन्छ ।

स्वतन्त्रताको अन्तिम रात !

विवाहअघि र पछिको जीवन उस्तै रहन्छ ? सायद रहँदैन । विवाह गरेपछि आफ्ना साथीभाईसँग समय दिन, वेपर्वाह घुमफिर गर्न, विन्दास रमाउन छुट नहुन सक्छ । दाम्पत्य वन्धनमा बाँधिने र गृहस्थीमा प्रवेश गर्ने भएकाले पनि जीवनको एउटा सीमा र परिधी कोरिन्छ ।

एकअर्काको शरीर, सम्पति, समय साझेदार गर्नुपर्ने हुन्छ । एकअर्काको इच्छा, चाहना, आकंक्षा, रुची समाहित गर्नुपर्ने हुन्छ । एकअर्काको दुःख-सुख, हाँसो-रोदन समेट्नुपर्ने हुन्छ । पारिवारिक जिम्मेवारी बढ्छ । नातागोता, आफन्त, इष्टमित्र थपिन्छन् । उनीहरुले एउटा बेग्लै संसार रचना गर्नुपर्ने हुन्छ । त्यसैले विवाहअघि जति वेपर्वाह एवं स्वच्छन्द ढंगले जीवन विताउन पाइन्छ/सकिन्छ, विवाहपछि त्यसमा अल्पबिराम लाग्न सक्छ । यस्तै सोंचका पक्षधरहरु विवाहको तारतम्या मिलाइसकेपछि अन्तिम पटक आफ्ना हितैसीहरुसँग खुलेर रात बिताउँछन्, जसलाई ब्याचलर पार्टी भनिन्छ । (पुरुषले मनाउनेलाई ब्यचलर र युवतीले मनाउनेलाई ब्याचलरेट पार्टी भनिन्छ )

शहरमा चढ्दै मात

त्यसो त शहरी क्षेत्रमा अन्धधुन्द ब्यचलर पार्टी मनाउने चलन बढ्दो छ । हामीकहाँ भने अलग ढंगले मनाउने गरेका दिपक राई बताउँछन् । उनी ब्यचलर पार्टीमा भुक्तभोगी हुन् । उनका अनुसार साथीको विवाह हुने कुरा टुंगो लाग्नासाथ सहपाठीहरू पैसा जम्मा गर्छन् र सम्भावित दुलाहालाई ‘सरप्राइज्ड पार्टी’ दिन्छन् । नेपालमा यो ट्रेन्ड भित्रिएको धेरै भएको छैन । जबकी विश्वमा पाँचौं शताब्दीदेखि नै ब्याचलर पार्टी प्रचलनमा आएको पाइन्छ ।

युरोप अमेरिकातिर ब्याचलर पार्टीका गन्तव्य हुन्छ, स्ट्रिप क्लब  । उनीहरु स्ट्रिप डान्सरको कामुक भावभङ्गीको नृत्यसँगै मदिरामा लठ्ठिन्छन् । त्यस रात सबै जना यौनजन्य मनोरञ्जनमा लिप्त हुन्छन् । त्यसैले अमेरिकामा ब्याचलर पार्टीको उपयुक्त गन्तव्य हुने गरेको छ- स्ट्रिप क्लब । यस्ता पार्टीका लागि अमेरिकाको लासभेगास प्रख्यात छ । पार्टीमा हुनेवाला दुलाहालाई साथीहरूले कन्डोम, सेक्स टोयजस्ता उपहार प्रदान गर्छन् ।

कतिपय अवस्थामा त ब्याचलर पार्टीमा काटिने केकको डिजाइनमा समेत यौनाङ्गको आकृति हुन्छ । पेसेवर यौनकर्मीसँग रात बिताउने जस्ता उत्ताउला हर्कत गर्न पनि उनीहरू कञ्जुस्याइँ गर्दैनन् ।

अमेरिका तथा दक्षिण अफ्रिकामा यसलाई स्टेज पार्टी, स्टेज नाइट, बक् पार्टीजस्ता नामले चिनिन्छ । विश्वका थुप्रै मुलुकमा ब्याचलर पार्टी प्रचलनमा छ । यद्यपि त्यसको शैली र नाममा भने एकरूपता छैन ।

पश्चिमा मुलुकमा यस्तो पार्टी अर्गनाइज गर्ने छुट्टै ‘ब्याचलर पार्टी प्लानिङ कम्पनी’ सञ्चालनमा हुन्छन् । ती कम्पनीले सेवाग्राहीको बजेटअनुसार पार्टीको व्यवस्था गरिदिन्छन् । नेपालमा पनि एकाध यस्ता कम्पनी छन्, जसले विवाहको सम्पूर्ण योजना बनाउनेदेखि कार्यभार वहन गर्नेसम्मको काम गर्छन् । तिनै कम्पनीले ब्याचलर पार्टीको प्लानिङ गर्ने गरेको बताइन्छ । यद्यपि यस किसिमको अभ्यास त्यति चल्तीमा भने छैन ।

खासमा ब्याचलर पार्टी सम्भावित दुलाहाका लागि अप्रत्यासित हुन्छ । उनका निकट साथीभाइले आ–आफ्ना तर्फबाट पैसा संकलन गर्छन् र थाहै नदिई यस्तो पार्टीको चाँजोपाँजो मिलाउँछन् । ‘यसमा यति नै पैसा दिनुपर्छ भनेर तोकिँदैन,’ दीपक राई भन्छन्, ‘आफूले सकेजति दिने हो ।’ पैसा संकलन गरेपछि कुन ठाउँ जाने र कस्तो किसिमको पार्टी दिने भन्ने कुराको टुंगो हुन्छ । ब्याचलर पार्टीका निम्ति तन्नेरीहरू सिन्धुपाल्चोक, नगरकोट, धुलिखेलदेखि पोखराको लेकसाइडसम्म पुग्ने गरेका राईले बताए । त्यस्तै, ठमेल र झम्सीखेलका पव तथा बार पनि उनीहरूको रोज्जा गन्तव्य हुन् ।

यो पार्टीलाई स्मरणीय बनाउन अनेकौं तौरतरिका अपनाइन्छ । हुनेवाला दुलाहालाई अपहरण गरेर कुनै एकान्त ठाउँमा र्पुयाइन्छ । अनि अनपेक्षित रूपमा साथीभाइ भेला भएर उपहारसहित पार्टी दिइन्छ । यद्यपि सबैको हकमा यस्तो सम्भव हुँदैन । त्यसैले ठाउँ र परिस्थितिअनुसार आ–आफ्ना ढंगले ब्याचलर पार्टी दिइएको पाइन्छ । रात्रिकालीन समय, रक्सी र संगीतचाहिँ ब्याचलर पार्टीका साझा विशेषता हुन् । ब्याचलर र ब्याचलरेट पार्टीको रूपरेखा दुलाहा वा दुलहीको रुचि, सौख, प्रवृत्तिअनुसार तयार हुने विश्वव्यापी चलन छ ।

नेपाली सेलिब्रेटी पनि के कम ?

यो पश्चिमा संस्कृतिको रंग अहिले हाम्रो समाजमा पनि पोतिदैछ । केही समयअघि अभिनेत्री ऋचा शर्माले पोखरामा गएर ब्याचरलेट पार्टी मनाएको तस्वीर ‘भाइरल’ भयो । उनको गएको मंसीर २१ गते दिपेक्ष विक्रम राणासँग विवाह गरिन् ।

त्यसकै सिको गर्दै अर्की अभिनेत्री प्रियंका कार्कीले ‘ब्याचलरेट पार्टी’ मनाए, थाइल्यान्डमा पुगेर । आधा दर्जनजति आफ्ना संगी लिएर पुगेकी प्रियंकाका टोलीले समुन्द्री तटमा उन्मुक्त फोटोशुट गरेको तस्विर भाइरल भयो । हाँसउठ्दो कुरा के भने, प्रियंका कार्कीको विवाह कहिले गर्ने भन्ने टुंगो भने छैन । अभिनेता आयुशमान देशराज जोशीसँग इंगेजमेन्ट गरेकी उनले देखासेखीमा ब्याचलरेट पार्टी मनाएकी हुन् वा मदिराको प्रवर्द्धनका खातिर ? जवाफ उनैसँग होलान् । त्यसो त प्रियंका अरुले जे गर्छन्, त्यही कुरा पच्छ्यान माहिर छिन् ।

हेन नाइट

पश्चिमा मुलुकमा ब्याचलरेट पार्टीलाई हेन नाइट पनि भनिन्छ । हेन नाइट अलि अश्लील हर्कतका साथ मनाइन्छ । यस्ता पार्टीमा पुरुषको प्रवेश निषेध हुन्छ । अनौठो सजावट, त्यस्तै किसिमको पहिरन, पुरुष यौनाङ्को आकृतिको केक र पुरुष स्टि्रपरका साथमा युवतीहरू हेन पार्टी मनाउँछन् । पार्टीमा जुन युवतीको विवाह हुँदैछ, उनलाई विशेष किसिमले ड्रेसअप गराइन्छ । हेन पार्टीमा मस्तीको कुनै सीमा हुँदैन ।

विवाह टुटेपछि पनि स्वतन्त्रताको रात ?

हलिउड सेलिब्रेटीहरू ब्याचलर र ब्याचलरेट पार्टीलाई आफ्नो स्टाइलिस एवं विन्दास जीवनशैलीलाई बिदाइ गरेको संकेतका रूपमा सेलिब्रेट गर्छन् । रमाइलो त के छ भने हलिउड सेलिब्रेटीले  प्रेम जीवन एवं दाम्पत्य जीवन टुटेपछि पनि ‘स्वतन्त्रताको रात’ मनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment