१९ वैशाख, हेटौंडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले स्पोर्टस् अवार्ड तथा युथ समिट गर्ने भएको छ ।
प्रदेश सरकार स्थापना भएपछि पहिलो पटक स्पोर्टस् अवार्ड तथा युथ समिट हेटौंडामा आयोजना गर्ने तयारी भइरहेको युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले जानकारी दिए ।
युवा खेलाडीको प्रोत्साहनका लागि मन्त्रालयले यो कार्यक्रम गर्न लागेको उनको भनाइ छ । ‘युवा खेलाडीको मनोबल उच्च बनाउन प्रतियोगिता आयोजना गरेर मात्रै पुग्दैन । उनीहरुलाई हौसलासँगै प्रोत्साहन पनि राज्यको तर्फबाट गर्नुपर्छ’ उनले भने ।
मन्त्रालयले जेठको पहिलो हप्ता हेटौंडा उपमहानगरपालिका–४ हुप्र (लोकतान्त्रिक चौर)मा प्रदेश स्तरीय स्पोर्ट्स अवार्ड तथा युथ समिट गर्ने भएको हो । मन्त्रालयले ३ सदस्य उपसमिति गठन गरेर तयारीलाई तीव्र बनाएको मन्त्री महर्जन बताउँछन् ।
उपसमितिको संयोजकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दिपक श्रेष्ठ छन् । सदस्यहरुमा तेक्वान्दोका पूर्व अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका वरिष्ठ प्रशिक्षक प्रेमबहादुर भण्डारी र खेलकुद पत्रकार प्रकाश तिमल्सिना रहेका छन् ।
उक्त उपसमितिले आगामी १० दिनभित्र बागमती प्रदेश भित्र रहेका नयाँ र पुराना गरी ९ जना प्रतिभावान खेलाडीहरुको छनौट गर्नेछ ।
यस्तै, पत्रकारितामार्फत खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याएका एकजना खेलकुद पत्रकारलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिने मन्त्रालयले जानकारी दिएको छ ।
बागमती प्रदेश सरकार स्थापनाको ७ वर्षमा हालसम्म खेलकुद क्षेत्रबाट दुई जना खेलाडी मात्रै सम्मानित भएको मन्त्री महर्जन बताउँछन् ।
७ महिना अगाडि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गणतन्त्र दिवसको अबसरमा पारा ओलम्पिक गेममा कास्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई नगद १० लाख र १९औं एसियन गेमसमा रजत पदक विजेता करातेकी एरिका गुरुङलाई ५ लाख नगदसहित सम्मान गरी हेटौंडा बजार परिक्रमा गराइएको थियो ।
प्रतिक्रिया 4