Comments Add Comment

बैंकर्स संघले बनायो ३ उपसमिति, ब्याजदर र बैंकिङ कसुरको समेत अध्ययन गर्ने

Photo Credit : File Picture

१२ माघ, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकायरी अधिकृत (सीईओ)हरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले संघको कामकारबाहीमा सक्रियता देखाएका छन् । दाहालले संघको अध्यक्षको जिम्मेवारी लिएको एक महिना नपुग्दै संघको काम कारबाहीलाई प्रभावकारी बनाउन भन्दै आइतबारमात्रै ३ वटा उपसमितिहरु गठन गरिएको छ ।

केहि समययता बैंकको ब्याजदरको विषयमा भइरहेको बहस, बैंकिङ कसुर सम्बन्धी ऐन र बैंकिङ अन्तर्राष्ट्रिय संचरना सम्बन्धी अध्ययन गर्न छुट्टाछुट्टै समिति बनाएको हो ।

केहि समययता बैंकको ब्याजदरको विषयमा विभिन्न टिकाटिप्पणी हुने गरेका छन् । ब्याजदर र बैंकहरुले आर्जन गर्ने मुनाफा लगायको विषयमा अध्ययन गर्न संघले समितिले बनाएको छ ।

ब्याजदर र नाफाको जिम्मा उपाध्यायलाई

बैंकले कर्जाको ब्याजदर धेरै लिएको भन्दै गत वर्ष उद्योगी/व्यवसायीहरु सडकमै ओर्लिएका थिए । अहिले भने तरलता पर्याप्त भएका कारण ब्याजदरको विषयमा धेरै चर्चा भएको छैन । यद्यपि, अर्थमन्त्री डा. युवराज खतिवडाले नै स्थिर ब्याजदरको बहस शुरु गराएका छन् ।

गत शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको वाषिर्कोत्सवमा बोल्दै दीर्घकालीन ऋण लिनेहरुका लागि ‘फिक्स ब्याज’ तोक्न अर्थमन्त्री सुझाव दिएका थिए । ब्याजदर र बैंकको नाफाको अध्ययन गर्न कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायको नेतृत्वमा समिति बनाइएको छ ।

उनी नेतृत्वको समितिमा एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने, स्टाण्डर्ड चाडर्ड बैंकका प्रमुख वित्त अधिकृत सुरज लामिछाने र नविल बैंककी प्रमुख वित्त अधिकृत अञ्जुली श्रेष्ठ रहेका छन् ।

यो समितिले बैंकको ब्याजदरमा देखिएका समस्या, समाधानका उपायका साथै बैंकको मूनाफाका विषयमा समेत अध्ययन गरेर एक महिनामा प्रतिवेदन बुझाउने संघले बताएको छ ।

श्रेष्ठलाई नीति, नियमको जिम्मा

केहि समय अघि बैंक अफ काठमाण्डूका पूर्ब सीईओ अजय श्रेष्ठ बैंकिङ कसुर अभियोगमा पक्राउ परेका थिए । कमसल धितोमा कर्जा लगानी भएको र त्यो फाइलको अन्तितमा सीईओले समेत हस्ताक्षर गरेको भन्द्रै प्रहरीले श्रेष्ठमाथि मुद्दा चलाएको थियो । त्यसयता कर्जा लगानी गर्न समेत बैंकहरु डराउने अवस्था सिर्जना भएको संघका अध्यक्ष दाहाल बताउँछन् ।

कतिपय कानूनी व्यवस्थाहरु गल्ती नै नभई सजाय पाउने जस्ता देखिएको भन्दै कानूनी व्यवस्थाहरु सुधार हुनुपर्ने विषय उठान हुँदै आएको थियो । यस विषयमा अध्ययन गर्ने समितिको जिम्मा संघले राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठलाई दिएको छ ।

श्रेष्ठ नेतृत्वको समितिमा सनराइज बैंकका प्रमुख कार्यकारी जनक शर्मा पौडेल, पूर्ब बैंकर कुमार लम्सा सदस्य छन । यस समितिमा संघले विकास बैंकका सीईओहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द ढकाललाई समेत राखेको छ ।

उपाध्यक्षको संयोजकत्वमा अर्को समिति

संघले उपाध्यक्ष अनुकुल भाटनगरको संयोजकत्वमा अन्तर्राष्ट्रि बैंकिङ संरचना लगायतका विषयमा अध्ययन गर्न समिति बनाएको छ । यस समितिले विभिन्न देशका बैंकिङ संरचनाहरुको विषयमा अध्ययन गरेर रायसहितको प्रतिवेदन बुझाउनेछ ।

यस समितिमा सिभिल बैंकका सीईओ गोविन्द गुरुङ र नेपाल बैंकका सीईओ कृष्ण अधिकारी सदस्य रहेका छन् भने संघका कार्यकारी निर्देशक अनिल शर्मालाई सदस्य सचिव तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment