Comments Add Comment

लेखापरीक्षक घिमिरे मृत्यु प्रकरणमा चार व्यापारीको कल डिटेल हेर्दै प्रहरी

१२ माघ, विराटनगर । विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको शंकास्पद अवस्थामा सिंघिया खोलामा शव भेटिएपछि प्रहरीले उनीसँगै होटलमा खानपान गरेका चारजना व्यावसायीमाथि अनुसन्धान सुरु गरेको छ ।

मगंलबार विहान विराटनगर– २ का ५० वर्षका प्रवल घिमिरेको शव सिंघिया खोलामा भेटिएको थियो । सोमबार राति अबेरसम्म होटलमा सँगै बसेका चारजना व्यावसायीलाई तारेखमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले सोमबार साँझ घिमिरेसँग होटलमा बसेका विराटनगरका व्यावसायी नन्दकिशोर राठी, अरुण राठी, अशोक अटल र उर्लाबारीका अनिल चाण्डकलाई निगरानीमा राखिएको बताए । चारैजनाको छुटाछुट्टै बयान लिएको बताउँदै उनले अनुसन्धानका लागि कल डिटेल मगाइएको बताए ।

आठ वर्ष यता लेखा परीक्षकको काम गर्दै आएका घिमिरे गत सोमबार बेलुका उद्योगी नन्दकिशोर राठीले बोलाएपछि उनलाई भेट्न गएका थिए । राठीसँग उनी आमाज बेकरी क्याफे हुँदै होटल मुन र लोटस बारमा पुगेका थिए । राति अबेरसम्म घिमिरे घर नआएपछि उनको परिवारले खोजी गरेको थियो । तर मंगलबार बिहान उनको शव खोलामा भेटिएको थियो ।

विराटनगरका ठूला ५० वटा जति कम्पनीको अडिट गर्दै आएका घिमिरे सोमबार साँझ अडिटकै सिलसिलामा नन्दकिशोर राठीले बोलाएपछि उनको उद्योगमा पुगेका थिए । मोटरसाइकल राठीको उद्योगमै राखेर आमाज बेकरी पुगे ।

यो पनि पढ्नुहोस प्रवल मृत्यु प्रकरण : हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका

आमाजबाट नन्दकिशोरले उर्लाबारीका अनिल चाण्डकलाई होटल मुनमा भेट गर्न बोलाएपछि उनीहरु भाटभटेनी सुपरमार्केट हुँदै मुन होटल पुगेका थिए । मुन होटलमा विराटनगरका सुन पसल सञ्चालक अरुण राठी, अशोक अटलसँग भेट भएपछि एउटै टेबुलमा बसेर खानपान गरेका थिए । मुनबाट लोटस बार पुगेका थिए ।

लोटसबाट अनिलको गाडीमा लिफ्ट मागेर आएका घिमिरे विराटनगर मेनरोडस्थित वडा प्रहरी कार्यालय अगाडि उत्रिएका थिए । घर जान भन्दै हिँडेका उनी घर पुगेनन् । मोबाइल पनि अफ भएपछि उनका आफन्तले रातभर खोजी गरेका थिए ।

अस्पताल होटल र सडकमा खोजी गर्दा नभेटिएपछि चिन्तित भएको घिमिरे परिवारले घर आउने बाटो हेरिरहेका थिए । तर मंगलबार बिहान उनको शव खोलामा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment