Comments Add Comment

मधेसमा सरकार ढाल्ने नेकपाको रणनीति

नेकपाको नेतृत्वमा मात्र मधेसको विकास सम्भव : ईश्वर पोखरेल

१२ माघ, बर्दिबास (महोत्तरी) । बर्दिबासको एउटा पार्टी प्यालेसमा शनिबार दिउँसो नेकपा महोत्तरीको जिल्ला कमिटीको ब्यानरमुनि उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलकै लहरमा निम्त्याइएका थिए– राजपाका वरिष्ठ उपाध्यक्ष शेखर सिंह र मृगेन्द्रकुमार सिंह ।

आफ्नो पार्टीको ब्यानरमुनि राजपा नेताहरुलाई राखेर नेकपा नेताले प्रदेश २ को सरकारको समीकरण चाँडै फेरिने उद्घोष गरे ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार पुनर्गठन गर्ने तयारी गरिरहँदा प्रदेश २ को सबैभन्दा ठूलो दल नेकपाका नेताहरु राउतलाई नै मुख्यमन्त्रीबाट हटाउने अभियानमा जुटिसकेको संकेत बर्दिबासको कार्यक्रमले दिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा दुई दलीय गठबन्धनको जीतसँगै अब यो गठबन्धन प्रदेश र संघ दुबै सरकारमा हुने नेकपा नेताहरुले विश्वास व्यक्त गरे ।

बर्दिबासको बिनायक हलमा जम्मा भएका मधेसका आफ्ना कार्यकर्तालाई सम्वोधन गर्दै नेकपा नेता पोखरेल र मण्डलले अब प्रदेश सरकारको चेहरा फेरिने मात्र बताएनन्, संघीय सरकारमा पनि राजपाको प्रवेश हुने आशा व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले मैथिली भाषामा र मण्डलले नेपाली भाषामा कार्यकर्तालाई सम्वोधन गरेका थिए ।

नेकपाको कार्यक्रममा अतिथि बनेका राजपा नेताहरु मृगेन्द्र र शेखरले पनि नेकपासँगको गठबन्धन शुरुवात मात्र हो भन्दै देश र मधेसको विकासका लागि सहकार्य अझ माथिल्लो स्तरमा हुने सम्भावना रहेको बताए ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार पुनर्गठन गर्ने तयारी गरिरहँदा प्रदेश २ को सबैभन्दा ठूलो दल नेकपाका नेताहरु राउतलाई नै मुख्यमन्त्रीबाट हटाउने अभियानमा जुटिसकेको संकेत बर्दिबासको कार्यक्रमले दिएको छ ।

राजपाको ‘फेस सेभिङ’ का लागि कुनै सहमतिमा हस्ताक्षर गरेर संघ र प्रदेशमा सत्ता गठबन्धन बन्न सक्ने नेकपा नेताहरुको दाबी छ । ‘हाम्रो स्पष्ट बहुमत छ, तर पनि हामी देशको विकास र समृद्धिका लागि मधेसवादी दल राजपालाई सँगै लिएर जान तयार छौं, राष्ट्रियसभा निर्वाचनको गठबन्धन त्यसको प्रारम्भिक बिन्दू हो’ महोत्तरीमा पुगेका उपप्रधानमन्त्री पोखरेलले भने, ‘नेकपाको नेतृत्वमा मात्र मधेसको विकास सम्भव छ’ ।

राष्ट्रियसभाको सफलताले नेकपामा उत्साह

राष्ट्रियसभामा नेकपा–राजपा गठबन्धन आफैंमा ‘सरप्राइज’ थियो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सानो टिममार्फत राजपासँग गठबन्धनको प्रयास गरिरहँदा अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरु बेखबर थिए । सहमतिमा हस्ताक्षर गर्नेबेलामा मात्र प्रचण्डलाई बालुवाटारमा बोलाइएको थियो ।

राजपासँगको चुनावी गठबन्धनलाई लिएर नेकपा स्थायी कमिटीमै यसअघि चर्को विरोध भयो । तर, माघ ९ गतेको राष्ट्रियसभा निर्वाचन परिणामले ओलीको योजना सफल सावित भइसकेको छ । अब नेकपाको माघ १५ को केन्द्रीय कमिटी बैठकपछि सम्भवतः मन्त्रिपरिषद बिस्तार हुनेछ ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली माघको पहिलो साता नै राजपालाई सरकारमा सहभागी गराउने तयारीमा थिए । एउटा बैठकमा उनले सो प्रस्ताव अचानक राखेपछि महन्थ ठाकुर पार्टीमा छलफल आवश्यक रहेको भनेर उठेका थिए ।

संविधान संशोधनको माग अस्वीकृत भएको भनेर समाजवादी पार्टीले सरकार छाडेको भर्खरै भएकाले राजपालाई संघीय सरकारमा सहभागी हुन समस्या नभएको होइन । तर, त्योभन्दा ठूलो समस्याचाहिँ राजपाले पाउने मन्त्रालय र मन्त्री बनाउनुपर्ने नेताको संख्या पनि हो । महन्थ ठाकुरबाहेक राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव, महेन्द्र यादव र अनिल झा सबैजना मन्त्रीका आकांक्षी छन् । तर, उनीहरुले पाउने मन्त्रालय भने दुईवटा मात्र छन् ।

अर्को पक्ष भन्छ– छलफलै भएको छैन

नेकपा सचिवालय सदस्य पोखरेल र प्रदेश २ इञ्चार्ज सत्यनारायण मण्डलले मधेसको समृद्धिका लागि नेकपा र राजपाको गठबन्धन राष्ट्रियसभा निर्वाचनमार्फत शुरुवात भएको बताइरहँदा मुख्यमन्त्री लालबाबु राउत भने प्रदेशको मन्त्रिपरिषद पुनर्गठनमा सहमति जुटाउन काठमाडौंमा थिए ।

राजपाका नेताहरुले अहिलेसम्म प्रदेश सरकारमा समाजवादी पार्टीसँगको गठबन्धन तोड्ने बताइसकेका छैनन् । तर, नेकपा नेताहरु प्रदेश दुईको समीकरण बदलिने विश्वासमा देखिन्छन् ।

नेकपाको अर्को एक स्रोतका अनुसार राजपालाई संघीय सरकारमा ल्याउने र प्रदेश सरकारमा नेकपा–राजपा गठबन्धन बनाउनेबारे अहिलेसम्म पार्टीमा छलफल भएको छैन । तर, प्रधानमन्त्री ओली र उनीनिकट नेताहरुले त्यो सम्भावना व्यक्त गरिरहेका छन् । उपसभामुख राजपालाई दिने प्रस्ताव पनि ओलीकै हो ।

कांग्रेसले अग्नि सापकोटालाई निर्विरोध निर्वाचित हुन सहयोग गरेकाले उपसभामुख कांग्रेसलाई दिने पक्षमा प्रचण्ड छन् । तर, ओलीले उपसभामुख राजपालाई दिने जानकारी प्रचण्डलाई गराएको स्रोतले जनाएको छ ।

सभामुख निर्वाचनअघि आइतबार पनि नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो । कांग्रेस र समाजवादी मिलेर अघि बढ्ने भएपछि राजपालाई साथमा लिएर संसद र मधेसमा नेकपाविरुद्ध हुने गठबन्धनलाई कमजोर बनाउन चाहान्छन् प्रधानमन्त्री । उनी राजपासँगको गठबन्धन आउने चुनावसम्मका लागि निरन्तर बनाउन चाहन्छन् ।

उता, राजपाका वरिष्ठ नेताहरु सर्वेन्द्रनाथ शुक्ल, बृषेशचन्द्र लाल लगायतले राजपा नेतृत्वलाई नेकपाको सरकारमा सहभागी नहुन दबाव दिइरहेका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पनि अहिले प्रदेश सरकारको गठबन्धन तोड्ने र संघ सरकारमा गठबन्धन जोड्ने सम्बन्धमा ठोस निर्णय नभएको बताउँछन् ।

यादवले अध्यक्ष मण्डलका सबै नेताहरु काठमाडौं पुगेपछि यसबारे छलफल हुने जानकारी दिए । सरकारमा सहभागिताबारे अहिलेसम्म पार्टीमा छलफल नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment