Comments Add Comment

डीभी पर्दा अमेरिका नगएकी उपमेयर ! अहिले के भयो ?

अमेरिकामा ‘सम्पर्कविहीन’ उपमेयरबारे थप अन्योल

१२ माघ, काठमाडौं । कालिकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली अमेरिकामा लुकेको खबर केही दिनअघि सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भयो । तर, आइतबार उनले फेसबुकमा स्टाटस लेख्दै आफू त्यहाँ लुकेको नभई बिरामी परेकाले नेपाल फर्किन नसकेको दावी गरेकी छन् ।

उनको दाबीले सञ्चार माध्यममा आएका समाचारको विश्वसनीयतामा प्रश्न उठाएको छ । तर, उनको भनाइलाई पनि आँखा चिम्लेर पत्याइहाल्ने स्थिति छैन । यसबारे सरकारले नै खोजीनिती गर्नुपर्ने देखिन्छ । किनकि, उपमेयरजस्तो जिम्मेवार पदमा रहेको व्यक्ति विदेशमा सम्पर्कविहीन बस्नु सामान्य विषय होइन । यसले देशकै प्रतिष्ठामा आँच पुर्‍याउन सक्छ ।

सीटी म्यानेजमेन्ट एसोसिएसन (आईसीएमए) ले आयोजना गरेको सम्मेलनमा सहभागी हुन नेपालबाट अमेरिका गएकी थिइन् । सो सम्मेलनमा उनीसँगै धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना र नगरपालिका संघका कार्यकारी सचिव कलानिधि देवकोटा पनि सहभागी भएका थिए ।

आईसीएमए विश्वभरका नगरपालिका व्यवस्थापकहरुको छात्रा संगठन हो । यसको वार्षिक सम्मेलन यसपाली अमेरिकाको दक्षिणी इलाकामा अवस्थित शहर टेन्नेसीमा अक्टोबर २० देखि २४ सम्म आयोजना भएको थियो । ढुंगाना र देवकोटा कात्तिक १ गते सँगै कोरिया हुँदै अमेरिका गएका थिए । उपमेयर दन्तालाई आफूहरुले त्यहाँ उपस्थित जनप्रतिनिधिहरुलाई राखिएको होटलमै भेटेको ढुंगानाले अनलाइनखबरलाई बताए ।

‘हामी पुग्नुभन्दा एक–दुई दिन अगाडि उहाँ पुगिसक्नुभएको रहेछ,’ उनले भने, ‘त्यहाँ हामी ४ दिन एउटै होटलमा बसेका हौं ।’

उक्त सम्मेलनमा सहभागी हुँदा आफूहरुले दन्तामा कुनै स्वास्थ्य समस्या नदेखेको ढुंगानाले बताए । उनका अनुसार २४ तारिखमा सम्मेलन सकिएपछि तीनैजना छुट्टिएर फरक–फरक गन्तव्यतर्फ लागेका थिए । ढुंगाना बोस्टन र कलानिधी फ्लोरिडातर्फ गएका थिए भने दन्ता न्यूयोर्क जान भनी हिँडेकी थिइन् ।

‘नेपाल फर्किन तीन दिन बाँकी रहेकाले हामी आ–आफ्ना चिनजानका मानिसहरु भएको ठाउँमा गयौं । उहाँले न्यूयोर्कमा आफ्नी फुपू भएको र उहाकहाँ जाने बताउनुभएको थियो,’ ढुंगानाले भने ।

तर, दन्ताका भाइ कविराजले भने अमेरिकामा आफूहरुको कोही पनि आफन्त नभएको बताएका छन् ।

उपचार गर्न ५ महिना लाग्ने भने पनि नेपाल फर्किने विषयमा चाहिँ दन्ताले केही उल्लेख गरेकी छैनन् । यसबाट उनीमाथि आशंका गर्ने ठाउँ बाँकी रहेको छ । उपचारपछि नेपाल फर्किन्छु भनेर लेखेको भए सम्भवतः उनको भनाइ विश्वसनीय मानिने थियो ।

उनले भने, ‘मैले चिनेको अमेरिकामा कोही पनि हुनुहुन्न । उहाँको चिनजानको कोही होला ।’

यसबीचमा दिदीसँग सम्पर्क भइरहे पनि उनी कहाँ बस्छिन् भन्ने नसोधेको कविराजको भनाइ छ । उनले दिदी अमेरिकामा लुकेको नभई बिरामी भएर स्वास्थोपचार नै गरिरहेको दावी गरे ।

‘हिजो उहाँको फेसबुक स्टाटस आएपछि पनि फोन गरेको थिएँ । मिडियामा आएका समाचारहरुले गर्दा निकै तनावमा हुनुहुँदोरहेछ । राम्ररी बोल्न पनि सक्नुभएन,’ कविराजले भने ।

दिदीले अस्पतालमै भर्ना भएर उपचार गराइरहेकी छिन् वा कसैको घरमा बसेकी छिन् भन्ने पनि थाहा नभएको उनले बताए ।

‘उहाँ राम्रोसित बोल्न सक्ने अवस्थामा नभएकाले मैले धेरै सोधखोज गरिनँ,’ उनले भने ।

आफूले नेपाल फर्किनुअघि दन्तासँग म्यासेन्जरमा कुरा गरेको नीलकण्ठका मेयर ढुंगानाले बताए ।

उनी भन्छन्, ‘न्यूयोर्क गएपछि सम्पर्क हुँदा उहाँले बिरामी परेको भन्नुभएको थियो । घर जाने कुरा गर्दा पहिले ७ गते फर्किन्छु भन्नुभयो, पछि १२ गते भन्नुभयो । तर, किन हो फर्किनुभएको छैन । ढाँट्ने मान्छेलाई के लाग्छ र ? बिरामी नै हुनुहुन्छ कि अरु कारण हो थाहा भएन ।’

ढुंगाना र देवकोटा पनि अमेरिकाबाट अलग–अलग फर्केका थिए । नेपाल फर्केपछि दन्तासँग सम्पर्क नभएको ढुंगानाले बताए ।

दन्ताले आफ्नो स्टाटसमा बिरामी रहेको बताए पनि के समस्या भएको भन्ने चाहिँ खुलाएकी छैनन् ।

स्वास्थ्यका बारेमा उनले लेखेकी छिन्, ‘अहिले म राम्रोसँग बोल्न पनि सक्दिनँ । अलिअलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतका डा. अञ्जीर कुमारले गर्दै हुनुहुन्छ । म पूर्णरुपमा निको हुन अझै समय लाग्छ । ५ महिना भनेको छ,’ दन्ताले लेखेकी छन् ।

भाइ कविराजले भने दिदीको ढाडको नशा च्यापिएको बताएका छन् ।

उनले भने, ‘उहाँले केही दिनअगाडि मलाई ढाडको नशा च्यापिएकाले हिँडडुल गर्न नसकेको बताउनुभएको थियो । उहाँको ढाडको समस्या पुरानै हो ।’

उपचार गर्न ५ महिना लाग्ने भने पनि नेपाल फर्किने विषयमा चाहिँ दन्ताले केही उल्लेख गरेकी छैनन् । यसबाट उनीमाथि आशंका गर्ने ठाउँ बाँकी रहेको छ । उपचारपछि नेपाल फर्किन्छु भनेर लेखेको भए सम्भवतः उनको भनाइ विश्वसनीय मानिने थियो ।

डीभी पर्दा गइनन्

२०७४ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट लडेकी थिइन् दन्ता । उनी कांग्रेसकी उम्मेदवारलाई हराउँदै उपमेयर बनेकी हुन् । दन्ताले एक हजार ८ सय ४३ भोट ल्याएकी थिइन् भने कांग्रेसकी लक्ष्मी शाही एक हजार २६ मत ल्याएर पराजित भइन् । मेयरमा निर्वाचित रतन शाही पनि माओवादी केन्द्रकै उम्मेदवार थिए ।

उपमेयरमा निर्वाचित भएयता उनको कार्यसम्पादन सन्तोषजनक नै रहेको मेयर शाही बताउँछन् । ‘उहाँ शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुहुन्थ्यो, हाम्रो तालमेल मिलेकै थियो,’ उनले भने ।

काठमाडौंको पद्मकन्या क्याम्पसबाट बीबीएस पास गरेकी दन्ता अविवाहित हुन् । १५ वर्षको उमेरदेखि उनी माओवादी राजनीतिमा लागेकी थिइन् । उनी केही समय जनयुद्धमा पनि संलग्न भएको भाई कविराजले बताए ।

स्मरणीय के छ भने दन्तालाई सन् २०१८ मा अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) परेको थियो । डीभी भर्नुको अर्थ उनी अमेरिकामा सेटल हुन इच्छुक थिइन् भन्ने बुझिन्छ । तर, उपमेयरमा जितेपछि उनले अमेरिका मोह त्यागिन् । डीभी परे पनि प्रक्रिया अगाडि नबढाएको कविराज बताउँछन् ।

‘यदि दिदीले अमेरिकामा सेटल हुन चाहेको भए त्यो भन्दा राम्रो मौका अरु कुन हुन सक्थ्यो ?’ उनले प्रश्न गरे, ‘देशमै केही गर्छु भनेर उहाँले डीभीको प्रक्रिया नै अगाडि बढाउनुभएन ।’

दन्ता हाल नेपाल कम्युनिष्ट पार्टीको नगर कमिटी सदस्य छिन् । उनले आईसीएमएको सम्मेलनका लागि अमेरिका जान पहिलोपटक एप्लाई गर्दा अमेरिकी दुतावासले भिसा दिएन । त्यसपछि उनले मन्त्रालयमा सोर्स लगाइन् । तत्कालिन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गरेर परराष्ट्रमा पत्र पठाए । त्यही पत्रबमोजिम परराष्ट्रले अमेरिकी दूतावासमा सिफारिस गर्‍यो र बल्ल उनले भिसा पाइन् ।

नगरपालिका संघका कार्यकारी सचिव देवकोटासँग अमेरिकाको मल्टिपल भिसा भएकाले उनलाई समस्या थिएन । नीलकण्ठका मेयर ढुंगानासित भएको मल्टिपल भिसाको म्याद सकिएको थियो । उनले आवेदन गर्नासाथ भिसा पाएका थिए ।

दन्तासहित तीनैजना आफ्नै खर्चमा अमेरिका गएका हुन् । होटलमा बस्ने र खाने व्यवस्था चाहिँ आयोजकले मिलाएको थियो ।

ढुंगानाले भने, ‘जाने–आउने प्लेन टिकट हामीले आफ्नै खल्तिबाट व्यहोरेका हौं । सायद उहाँको पनि त्यही होला ।’

तिलागुफाका मेयर शाहीले पनि उपमेयरलाई अमेरिका पठाउन नगरपालिकाले कुनै खर्च नगरेको बताए ।

‘उहाँले हामीसँग सल्लाह गरेरै जानुभएको हो । तर, नगरपालिका संघले यस्तो भ्रमणमा नगरपालिकाहरुलाई भार नपार्ने भनेपछि उहाँहरु आफैंले खर्चको बन्दोबस्त गर्नुभयो, हाम्रो पैसा परेको छैन,’ उनले भने ।

आफ्नो स्टाटसमा दन्ताले लेखेकी छन्, ‘अमेरिका आउँदाको प्लेन टिकट पनि नगरले पैसा हालेको होइन । मैले पनि बारम्बार माग्नेजस्तो कति चोटि कल गर्नु ? मेयरलाई मेरो के मतलब र याद हुने कुरो पनि भएन र बारम्बार भिख मागिनँ । मैले सोचेँ, म बरु मर्छु, तर सरकारी पैसामा उपचार गर्दिनँ, माग्दिनँ पनि । मलाई मेरो प्लेन टिकटको पैसा त मेरो दाजुहरु पार्वतजी नेपाली/कालीप्रसाद पाण्डे दाजु, सुनिता पाण्डेले हाल्नुभएको हो । सरकारको सुका पैसा पनि मलाई चाहिएन भनेकै हो ।’

भाइ कविराजका अनुसार काठमाडौं बस्ने ठूलोबुबाका छोराहरु र केही साथीभाइले उनलाई सहयोग गरेका थिए । परिवारबाट पनि एक–डेढ लाख जुटाएको उनले बताए ।

कात्तिकदेखि अमेरिकामा रहे पनि हालै राष्ट्रिय सभा चुनावमा भोट हाल्नुपर्ने भएकाले बल्ल उनको खोजीनिति भएको थियो ।

तिलागुफाका मेयर शाही भन्छन्, ‘पार्टीबाट सोधखोज भएपछि मैले उहाँ डेढ महिनादेखि सम्पर्कमा नरहेको जानकारी गराएको हुँ । साथै पार्टीको नगर कमिटीले पनि उहाँलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको जानकारी पार्टी केन्द्रलाई दिएको छ ।’

नगरपालिका संघ भन्छ : खोजिनीति गर्छौं

देशभरका नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले उपमेयर दन्ताको विषयमा औपचारिक केही बोलेको छैन । यस विषयमा हामीले संघका अध्यक्ष अशोक ब्याञ्जुसित जिज्ञासा राख्दा उनले यसबारे खोजीनिति गर्ने बताए ।

‘उहाँको विषयमा समाचारहरु आएपछि ४/५ दिन अगाडि मैले उहाँलाई म्यासेन्जरमा सन्देश पठाएको थिएँ । मैले उहाँलाई चाँडै देश फर्किन आग्रह गरेको छु । तर, उहाँबाट अहिलेसम्म कुनै जवाफ आएको छैन । केही न केही समस्या हुनुपर्छ,’ ब्याञ्जुले भने ।

उपमेयरजस्तो व्यक्ति अर्को देशमा गएर सम्पर्कविहीन रहनु संवेदनशील भएको ब्यान्जुले बताए ।

‘मैले आज उहाँको स्टाटस पनि हेरेँ । यदि स्वास्थ्य समस्या नै हो भने पनि उहाँले स्पष्ट जानकारी दिनुपर्छ । त्यस्तोमा सरकारले पनि सहयोग गर्नुपर्ने हुन सक्छ । तर, होइन, उतै बस्ने सोच हो भने त्यसलाई ठीक मान्न सकिँदैन । त्यस्तोमा चाहिँ हामी एक्सन लिन्छौं,’ ब्याञ्जुले अनलाइनखबरसँग भने ।

तिलागुफाका मेयर शाही पनि उपमेयर दन्ता कुनैखाले समस्यामा रहेको हुन सक्ने बताउँछन् । दन्तासित पछिल्लोपटक डिसेम्बर १६ मा आफ्नो म्यासेन्जरमा सम्पर्क भएको शाहीले बताए । त्यसयता सम्पर्क गर्न खोज्दा पनि सफल नभएको उनको दाबी छ । तर, दन्ताले भने आफूले बारम्बार फोन गर्दा पनि मेयरले रेस्पोन्स नगरेको आफ्नो स्टाटसमा उल्लेख गरेकी छन् ।

यस विषयमा शाहीले भने, ‘हाम्रो म्यासेन्जरमा कुरा हुन्थ्यो । तर, केही समयदेखि उहाँसँग सम्पर्क हुन सकेको थिएन ।’

उनले यो विषय केन्द्र वा प्रदेश सरकारले नै सम्वोधन गर्नुपर्ने बताए । ‘हामी आफैं अन्योलमै छौं । प्रदेश सरकारलाई र पार्टी नेतृत्वलाई जानकारी गराएका छौं । गम्भीर बिरामी हो भने उपचारका बारेमा सरकारले पनि सोच्नुपर्ने हुन्छ, यो मानवीय विषय हो,’ मेयरले भने ।

अनलाइनखबरले उपमेयर नेपालीसँग म्यासेन्जरमा सम्पर्क गर्ने प्रयास गर्दा सफलता हात लागेन । हामीले पठाएको सन्देशको उनले कुनै जवाफ दिएकी छैनन् ।

जनप्रतिनिधि विदेश भासिने सिलसिला

जनतालाई विभिन्न वाचा गरेर चुनाव जितेका जनप्रतिनिधि आफैं विदेश भासिनु सामान्य कुरा होइन । देश बनाउँछु भन्नेहरु नै विदेश भासिन्छन् भने अरुले के रुँगेर बस्ने भन्ने प्रश्न उठ्छ नै । यद्यपि, नेपालमा वडाध्यक्षदेखि सांसदसम्मले देश छोडेर पलायन भएका केही घटनाहरु छन् ।

०४८ सालका सिन्धुलीबाट निर्वाचित कांग्रेस सांसद प्रकाश कोइराला अमेरिका भासिए । उनको त्यहीँ मृत्यु भइसकेको छ । यसैगरी, सल्यानबाट ०५६ सालमा निर्वाचित राप्रपा सांसद नेत्रलाल श्रेष्ठ पनि अमेरिका पलायन भए । उनी त्यसबेला संसद विघटन भएपछि अमेरिका गएका थिए । तर, ०६३ सालमा संसद पुनस्र्थापित भएपछि पनि फर्किएनन् । अमेरिकाबाटै उनले राजीनामापत्र पठाएका थिए ।

०५१ सालमा सल्यानबाट जितेका एमाले सांसद नीलबहादुर तिलिजा अमेरिका पलायन भए । यद्यपि, उनी सांसदको कार्यकाल सकिएपछि अमेरिका गएका हुन् ।

केही समयअघि मात्रै खाँदबारी नगरपालिका–५ का वडाध्यक्ष बमबहादुर घले घरविदा लिएर वैदेशिक रोजगारीमा कोरिया गएका छन् । उनले देश छाडेको एक वर्षपछि मात्रै यो खबर सार्वजनिक भएको थियो । नगरपालिकामा उनले घरायशी कामका कारण बाहिर जानुपर्ने भएकाले कार्यालयमा उपस्थित हुन नसक्ने भनेर चिठी बुझाएका थिए ।

हालै मात्र मकवानपुरको भीमफेदी गाउँपालिका–८ का वडाध्यक्ष डीभी परेर अमेरिका भासिए । वडा सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर वडाध्यक्ष जगतमान घिसिङले गत चैत २७ गते सपरिवार देश छोडेका हुन् ।

अमेरिका उडेको पाँच महिनापछि मात्रै घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा पठाएका थिए । उनले समयमै हस्तलिखित राजीनामा नदिँदा उपनिर्वाचनसमेत हुन नसकेर सो वडा नेतृत्वविहीन बनेको छ । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपाका घिसिङ ५४१ मत ल्याएर विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment