८ माघ, काठमाडौं ।
कथा १
कैलालीकी पवित्रा खत्री (नाम परिवर्तन) माइती नेपालमा बसेर सेनिटरी प्याड बनाउने सीप सिकिरहेकी छन् । तर, उनलाई अतितको एउटा घटनाले निरन्तर लखेटिरहेको छ ।
बिर्सुन पनि कसरी त्यो घटना, जसले उनलाई जीवनको बाटो नै बदलिदियो । छाउ बार्दा अपरिचितबाट बलात्कृत भएकी उनी मुम्बईको कोठीमा बेचिन पुगिन् । अहिले माइती नेपालले उद्धार गरेर उनलाई आश्रय दिइरहेको छ ।
यदि सुदूरपश्चिममा छाउ बार्ने चलन नहुँदो हो त यतिबेला आफ्नै घरमा छोरी खेलाएर बसिरहेकी हुन्थिन् पवित्रा । सानैमा उनका बाुबआमा बिते । परिवारमा कोही नभएपछि उनलाई मावली परिवारले हुर्काएका थिए ।
पहिलोपटक महिनावारी हुँदा उनले २२ दिनसम्म छाउगोठमै बस्नुपर्यो । त्यही क्रममा एक दिन छाउगोठभित्रै अपरिचित व्यक्ति घुसेर उनीमाथि जोरजुलुम गर्यो ।
गोठभित्र पवित्राको चिच्याहट कसैले सुनेन । भोलिपल्ट आफ्नो मामा-माइजुलाई घटना वृतान्त सुनाइन् । उनलाई आशा थियो, न्यायका लागि लड्न मामा-माइजुले सघाउलान् भन्ने । तर, उनले सोचेजस्तो भएन । मामा-माइजुले उल्टै उनलाई दोष लगाए । साथै, यस्तो कुरा बाहिर ल्याउँदा आफ्नै बेइज्जत हुने भन्दै केही नबोल्न चेतावनी दिए ।
पवित्रा चुपचाप सहेर बसिन् । मामा-माइजुले जबरजस्ती पवित्राको बिहे पनि गराइदिए । तर, श्रीमान गतिला थिएनन् । जाँड-रक्सी खाएर दिनहुँ उनलाई कुट्ने गर्थे । मामा माइजुले जति दु:ख पाए पनि फर्केर नआउनु भनेकाले उनले सहेरै बसिन् ।
श्रीमानको ज्यादति बढ्दै गयो । सुत्केरी भएको १५ दिन नहुँदै कुटेर घरबाटै निकालिदिए । त्यसपछि आफन्तको साहारामा उनी माइती नेपालमा आइन् ।
कथा २
माइती नेपालमै भेटिइन् अर्की युवती सपना बस्नेत (नाम परिवर्तन) । उनी यहाँ आउँदा निकै विक्षिप्त अवस्थामा थिइन् । नेपाली भाषा पनि राम्ररी आउँथेन । तर, सबैको सहयोग र हौसलाले खुलेर बोल्न सक्ने भएकी छन् ।
सपनालाई आफ्नै काकाकाकीले भारतको कोठीमा बेचिदिएका थिए । कलंकीको एउटा होटलमा भाँडा माझेर बसेकी उनलाई १४ वर्षको उमेरमा भारतको चप्पल कारखानामा काम लगाउने भन्दै काकीले लगेकी थिइन् । भारतमा पुर्याएर एउटा कोठीमा उनलाई बेचिदिइन् ।
सपनालाई परिपक्व बनाउन कोठीका सञ्चालकले अनेकथरि सुई लगाइदिएर यौन व्यवसायमा धकेलिदिए । उनले कोठीभित्र खाएको कुटाइ गनेर साध्य छैन ।
‘कैयौं रात रोएर बित्यो, मैले नेपाल फर्किन्छु भनेर आशै मारेकी थिएँ,’ सपना भन्छिन् ।
त्यहाँ कोठीमा नेपाली गार्डहरु पनि थिए । उनीहरुले भाग्न सुझाव दिए, तर सपनालाई हिम्मत आएन । अन्ततः माइती नेपालले उनको उद्धार गर्यो । उनी अहिले पनि माइती नेपालमै बसिरहेकी छन् । गाउँ फर्कन अनुकुल अवस्था छैन ।
‘गाउँमा जाँदा यत्रो वर्ष कहाँ हराएकी थिइस भनेर सोध्लान्, के जवाफ दिनु ?’ सपना भन्छिन् ।
आफ्नै काका-काकीविरुद्ध उनले प्रहरीमा जाहेरी दिइन् । काका-काकी दुवैजना हाल पूर्पक्षका लागि थुनामा छन् ।
कथा ३
कल्पना ढकाल (नाम परिवर्तन) को पनि आफ्नै कथा छ ।
उनी सिन्धुलीबाट पहिलोपटक काठमाडौं आएकी थिइन् । उमेरले भखरै १४ टेकेकी, त्यसमाथि पहिलोपटक काठमाडौं आएकी उनी अन्जान सहरमा बलत्कृत भइन् । त्यसदिन उनी गाउँ फर्किन कोटेश्वर आएकी थिइन् । तर उनको गाउँ जाने गाडी ६ बजे नै गइसकेको रहेछ । एकजना अपरिचितले गाडी चढाइदिने भन्दै लिएर गए । तर एउटा होटलमा लगेर बलत्कार गरे ।
बलत्कारको मुद्धा नटुंगेका अहिले पनि उनले अदालत धाउनु परिरहेको छ । यसबीचमा उनले सिलाइबुनाई सिकिरहेकी छन् ।
०००
यी प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता पीडितहरुलाई माइती नेपालले मनोपरामर्श दिने गरेको छ । उनीहरु कम्तिमा अदालतमा उभिएर बोल्नसक्ने भएका छन् । उनीहरुको हिम्मत बढाउनको लागि आफूहरुले हरेक सहयोग गरेको माइती नेपालका अध्यक्ष विश्वराज खड्का बताउँछन् ।
उनी भन्छन्, ‘आफै न्यायका लागि लड्न सिकाउनुपर्छ र आत्मनिर्भर बनाउनुपर्छ । यहाँ आएका अधिकांश चेलीहरु आफनो मुद्धामा आफैं बोल्न सक्ने भएका छन् ।’
सामाजिक सञ्जालको दुरुपयोग गरी दलालहरुले आफ्नो चेलीहरुलाई सजिलै जालमा पार्ने गरेको खड्का बताउँछन् । सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्ममा मात्रै माइती नेपालले नेपाल-भारत सीमाबाट दुई हजार ४८५ जनालाई उद्धार गरेको छ । बेचबिखनमा परी श्रम तथा यौन शोषणमा रहेका ३२२ जनालाई भारतबाट उद्धार गरिएको तथ्याङ्कले देखाएको छ । यसैगरी ३ सय ३३ वटा घरेलु हिंसाको उजुरी परेको थियो ।
माइती नेपालको तथ्याङ्क हेर्न हो भने दिनप्रतिदिन विभिन्न खालका हिंसादेखि मानव बेचबिखनका घटनाहरु पनि बढ्दै गइरहेका छन् । माइती नेपालका अध्यक्ष खड्का भन्छन्, ‘पहिले-पहिले जानकारीको अभावले महिलाहरु बेचिने क्रम बढ्थ्यो भने अहिले शिक्षित महिलाहरु नै बेचिन थालेका छन् ।’
दलालहरुले सामाजिक सञ्जालको माध्यमबाट शिक्षित महिलालाई पनि फँसाउने गरेका छन् । दलालहरुलाई समाउन माइती नेपाललाई चुनौती थपिएको छ ।
प्रतिक्रिया 4