Comments Add Comment

‘यती’ भनेर राखिएका मूर्ति : हनुमान कि पहलमान ?

१३ माघ, काठमाडौं । काठमाडौंका पर्यटकीय स्थलहरुमा आजभोलि एउटा बडेमानको मूर्ति देखिन्छ । कतिले यो मूर्तिलाई हनुमानको भन्ठानेका छन् भने कतिले पहलमानको ।

सरकारका निकायहरुले यो मूर्ति हिममानव यतीको हो भनेका छन् । विज्ञहरु भने यसमा यतीको परिकल्पित स्वरुप कत्ति पनि नझल्किने बताउँछन् । यसलाई हेर्ने बटुवाहरुले चाहिँ आ–आफ्नो हिसाबले लख काटेका छन् । तीमध्ये कतिपयले यसलाई लाफिङ बुद्ध ठानेका छन् भने कतिले ऋषिमुनि । यसमा जापानी पहलमान ‘सुमो’को स्वरुप झल्केको देख्नेहरु पनि उत्तिकै छन् ।

नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले यतीको वासस्थान हिमालय क्षेत्रको प्रवर्द्धन गर्ने भन्दै यस्ता मूर्ति बनाएर विभिन्न ठाउँमा राख्दैछ । यतीबारे जानकारी राख्नेहरु भने यस्तो बेढंगे मुर्तिले भ्रमण वर्ष कै खिल्ली उडाएको बताउँछन् ।

प्रचलित किंवदन्तीसमेत नपढी, नसुनी अहिले मूर्तिमा प्रस्तुत गरिएको यती देखेर अध्येताहरु असन्तुष्ट छन् । यसले जनमानसमा प्रचलित यती मिथकमै नकारात्मक असर पर्ने चिन्ता उनीहरुमा छ ।

सामान्य अध्ययन पनि नगरी तयार गरिएको मूर्तिलाई ‘यती’ भनेर प्रचार गरिएकोमा यती सम्बन्धी अध्ययेताहरुले आपत्ति जनाएका छन् भने मूर्तिमा कोरिएका चित्रहरुले संस्कृति र सम्पदाप्रेमीहरुलाई दिक्क पारेको छ ।

हिमालय क्षेत्रमा हिममानव यती छ भन्ने मिथकहरु रहिआएको छ । अहिलेसम्म पुष्टी नभएको यतीबारे तीन वटा पुस्तक लेखेका रामकुमार पाँडे अहिले काठमाडौंमा पसारो पारिएका मूर्तिहरुको मुखाकृति, आकार, स्वरुप केही पनि यतीको मिथकसँग मिलेको देख्दैनन् । उनका अनुसार, मिथकहरुमा वर्णन गरिएका यतीको आकृति नेपालमा मात्र होइन विश्वभर चर्चित छ ।

हिमालयमा बस्छन् भन्ने विश्वास गरिएको यतीको अस्तित्वसम्बन्धी कुनै प्रमाण भेटिएको छैन । बेलाबखत हिउँमा देखिएका भनिएका बडेमाको पाइलाजस्तो डोबका आधारमा रहस्यमय यतीसम्बन्धी किंवदन्तीहरु बनेका हुन् ।

निगम परिसरमा राखिएको यतीको मूर्ति

यस्ता किंवदन्तीमा आधारित भएर मुखाकृति र शरीरको बनोट मिल्ने गरी सुन्धारास्थित नेपाल वायु सेवा निगमको कार्यालयमा यतीको मूर्ति बनेको छ ।

प्रचलित किंवदन्तीसमेत नपढी, नसुनी अहिले मूर्तिमा प्रस्तुत गरिएको यती देखेर अध्येताहरु असन्तुष्ट छन् । यसले जनमानसमा प्रचलित यती मिथकमै नकारात्मक असर पर्ने चिन्ता उनीहरुमा छ ।

‘यतीको हात घुँडाभन्दा तलसम्म पुग्ने गरी लामो हुन्छ भन्ने नेपाली कथन छ, टाउको पनि कथाहरुमा भनिने जस्तो राखिएको छैन,’ पाँडे भन्छन्, ‘शेर्पाहरुले यती देखेका भनेर गरेका वर्णनसँग यो मूर्तिको केही पनि मिल्दैन ।’

भुटानले आफ्नो मिथकका आधारमा यतीको हुलाक टिकट नै प्रकाशित गरेको भन्दै पाँडेले नेपालमा अध्ययन नै नगरी ‘यती’ भन्दै स्वरुप नै नमिल्ने मूर्ति जताततै राख्दा देशकै खिल्ली उड्ने अवस्था आएको बताए । पाँडे भन्छन्, ‘न टाउको मिलेको छ, न भुँडी ।’

उनका अनुसार, यती उभिएको कल्पना गरिन्छ, तर काठमाडौं बसेको यती देखाइएको छ । विश्व चर्चित यतीलाई यस्तो बेढंगे तालले प्रदर्शन गरिनु दुःखद् भएको पाँडे बताउँछन् । उनी भन्छन्, ‘यस्तो हर्कतले त विश्वले विश्वास गरेको यतीका बिम्बमाथि नै प्रश्न उठाउने र अविश्वास पैदा गराउने काम मात्र गर्छ ।’

कसरी बन्यो ?

यो मूर्तिको ‘स्केच’ कलाकार आङछिरिङ शेर्पाले बनाएका हुन् । भ्रमण वर्षको सचिवालयले गरेको आग्रहमा शेर्पाले यस्तो डिजाइन बनाएर दिएका थिए । जसलाई कलाकार विजय महर्जनले मूर्तिको स्वरुपमा ढालेका हुन् । महर्जनले बनाएको फर्मामा धमाधम यस्ता मूर्ति तयार गरिँदैछ ।

फर्मामा एकनासका मुर्तिहरु तयार पारेर तिनमा अनेक किसिमका चित्र कोरेर ‘आकर्षक’ बनाउने काम अहिले पनि जारी छ । भ्रमण वर्षको सचिवालयले १ सयभन्दा बढी मूर्ति बनाउने ठेक्का लगाएको छ । तयार भएका मूर्तिहरु पर्यटकीय स्थल, प्रमुख चोक र विमानस्थलदेखि हिमालका आधार शिविरसम्ममा राख्ने क्रम चलिरहेको छ ।

विदेशमा पनि यस्तो मूर्तिहरु लगेर राख्ने योजना बनेको छ । एउटा मूर्ति तयार गर्न ८ लाख बढी खर्च हुने सचिवालय स्रोतले बतायो । यो पटक मात्रै १० करोड बढी खर्चिएर यस्ता मूर्ति राख्न लागिएको सचिवालय बताउँछ ।

यत्रो ठूलो रकम खर्च भएको मूर्तिहरु विवादमा मात्रै फस्न पुगेका छैनन्, कतिय स्थानबाट हटाउनपर्ने अवस्था सिर्जना भएको छ ।

बसन्तपुरमा चर्को विरोध

बसन्तपुरमा राखिएका मुर्तिबारे शनिबारबाट स्थानीयस्तरमा विरोध सुरु भयो । कारण थियो, मुर्तिमा कोरिएका चित्रहरु । बसन्तपुरमा राखिएको रातो रंगको बुट्टादार मूर्तिको पछिल्लो भागमा जीवित देवी कुमारीको चित्र कोरिएको थियो । तीन आँखासहितको कुमारीको मुख यतीको आकृतिको ‘मलद्वार’ सँगै परेको देखेपछि स्थानीय आक्रोशित भएका थिए ।

मस्कटको पछिल्तिर राखिएको यस्तो चित्र देख्नासाथै स्थानीयहरु इन्द्रजात्रा व्यवस्थापन समितिलाई ध्यानाकर्षण गराउन पुगे । ‘यो काम निकै अशोभनीय हो,’ इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य भन्छन्, ‘हामीले त्यस्तो आपत्तिजनक चित्र मेटेर आईन्दा यस्तो नगर्न सरकारलाई भनेका छौं ।’

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ यतीको भनिएको मूर्तिमा आपत्तिजनक चित्रहरु कोरिएको बताउँछन् । बसन्तपुरजस्तो जीवन्त संग्राहलयभित्र यस्तो मूर्ति ल्याएर राखेकाले विरोध गर्नुपरेको उनले सुनाए ।

यतीका अध्येता रामकुमार पाँडे यति भन्दै राखिएका मुर्तिमा चित्रहरु बनाएर गलत सन्देश दिन खोजेको बताउँछन् ।

‘ज्युँदो मिथक मर्न सक्छ’

यस्ता मूर्तिमा विवाद भएपछि पर्यटन मन्त्रालय यसबारे औपचारिक रुपमा बोल्न मानेको छैन । मूर्ति केका आधारका कसरी बनाइयो भन्नेमा सरकार मन्त्रालयका अधिकारीहरु नै अलमलमा छन् ।

भ्रमण वर्षको सचिवालयका अधिकारीहरु भने शेर्पा कलाकारलाई नै ‘स्केच’ तयार गर्न लगाइएकाले विवाद हुनुनपर्ने भनिरहेका छन् । डरलाग्दो जनावरलाई हसिँलो रुपमा प्रस्तुत गर्दा फरक अनुभव भएको हुन सक्ने तर्क उनीहरुको छ ।

शालीन ढंगको यती कस्तो हुन्छ भन्ने परिकल्पना आफ्नो प्रकाशित पुस्तकमा पनि गरेको भन्दै पाँडे यो आकृति ‘यती’ भन्नलायक नभएको दोहोर्‍याउँछन् ।

‘यतीको विृकत रुपलाई नै जनमानसमा स्थापित गरियो भने रहस्यात्मक यो ज्युँदो मिथक मर्न सक्छ,’ पाँडेको चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment