Comments Add Comment

बालबच्चाले घरको खाना खाँदैनन् ?

धेरै बालबालिकालाई घरको खाना ख्वाउन निकै सास्ती हुन्छ, आमाबुवालाई । फकाइफुल्याई खाना ख्वाउनुपर्ने अवस्था हुन्छ । बालबच्चाले घरको खाना रुचाउँदैनन् । सागसब्जी खानै मान्दैनन् । सलाद खादैनन् । उनीहरुलाई चाउचाउ, चिप्स, कुरकुरे वा बजारको खानेकुरामा बानी परिसकेको छ ।

जब घरमा पाकेको खानेकुरा खान रुची गर्दैनन्, उनीहरु जंक फूडले पेट भर्न थाल्छन् । जब भोक लाग्छ उनीहरुलाई जंकफूडको तलतल लाग्न थाल्छ । यसरी खराब खानपानको कारण उनीहरुमा पोषक तत्वको कमी हुँदैछ । अतः आफ्ना बालबच्चाले राम्ररी खाना नखाएकोमा, सागसब्जीमा बानी नपरेकोमा आमाबुवा चिन्तित हुन्छन् ।

जबकी सानो बच्चालाई शारीरिक तथा मानसिक विकासको लागि सन्तुलित खानपानको आवश्यक्ता हुन्छ । तर, बच्चाले खान मान्दैनन् । अझ सागपातमा उनीहरुलाई अभ्यस्त गराउन गाह्रो हुन्छ । उनीहरुको शरीरलाई आवश्यक सबै पोषक तत्व प्राप्त हुने खानेकुरा खाँदैनन् । बरु, अस्वस्थ्यकर खानेकुरामा उनीहरु लोभिन्छन् । चकलेट, मीठाई, जंकफूडमै बढी जोड दिन्छन् । तर, ताजा फलफूल, सब्जी, दही, दुध रुचाउँदैनन् ।

जिब्रोमा स्वाद भिज्नुअघि

बच्चालाई त्यही उमेरदेखि स्वस्थ्यबर्द्धक खानेकुरामा अभ्यस्त गराउनुपर्छ, जतिबेला उनीहरुको जिब्रोमा अन्य खानेकुराको स्वाद भिजेको हुँदैन ।

जाउलोमा सागपात

बच्चाले खाने जाउलोमा सागपात मिसाउने, फलफूलको जुस बनाएर ख्वाउने गर्नुपर्छ ।

सानैदेखि पोषिलो खानामा बानी

बच्चाको खानामा सब्जी, फल, दाल, सलाद समावेश गर्नुपर्छ । सानैदेखि उनीहरुलाई चिल्लो, तारेको, मसलेदार खाना बानी पार्नु हुँदैन ।

सजाएर दिने

खानेकुरा राम्ररी सजाएर सर्भ गर्नुपर्छ, यसले पनि उनीहरुलाई लोभ्याउँछ ।

जबरजस्ती नगर्ने

बच्चालाई खाना ख्वाउनका लागि प्रोत्साहित गर्नुपर्छ, जबरजस्ती गर्ने होइन ।

भान्साको काम लगाउने

यदि बुझ्ने अवस्थाका बच्चा छन् भने उनीहरुलाई भान्सामा लगेर खानेकुरा पकाउने काममा सहभागी गराउनुहोस् । यसले उनीहरु खुसी हुन्छन् । साथै आफैले बनाएको खानेकुरा खाने रहर पनि जाग्छ ।

बच्चाको राय माग्ने

खाना पकाउनुअघि कस्तो खाने भनेर बच्चाको राय पनि लिनुपर्छ । यसैगरी साप्ताहिक तालिका बनाएर हरेक दिन नयाँ किसिमको खानेकुरा तयार गरियो भने राम्रो हुन्छ ।

खानेकुरा किनमेल गर्दा बच्चालाई सामेल

खानेकुरा किनमेल गर्नका लागि पनि बच्चालाई सहभागी गराउनुपर्छ । उनीहरुलाई सब्जी छनौट गर्न लगाउने र खरिद गरिदिने गर्नुपर्छ । आफुले खरिद गरेको खानेकुरा खान उनीहरु रमाउँछन् ।

घरको खानेकुरा आवश्यक

घरको खानेकुरा स्वस्थ्यवर्द्धक, सफा, ताजा हुन्छ । यद्यपी खाना बनाउने क्रममा त्यो बच्चाका लागि कति उपयोगी छ भन्ने कुरामा ख्याल गर्नुपर्छ । खानेकुरा तयार गर्दा बच्चाको स्वाद र स्वस्थ्यलाई ध्यान दिनुपर्छ । बच्चाको खानामा पर्याप्त पोषक तत्व हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment