Comments Add Comment

अजिरकोटमा छोरी मात्र जन्माए १२ कक्षासम्म निशुल्क

१५ माघ, गोरखा । अजिरकोट गाउँपालिकामा एक वा दुई छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पत्तिका दुवै छोरीहरुले ११ र १२ कक्षा निशुल्क पढ्न पाउने भएका छन् । चालु आर्थिक वर्षबाट गाउँपालिकाले उनीहरुलाई ११ र १२ को शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

‘छोरी भए पुगेसरी निशुल्क शिक्षा’ कार्यक्रम अन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिकाका सूचना अधिकारी सुरेश दवाडीले बताए । ‘यो वर्ष कार्यक्रम ल्याएका हौं,’ उनले भने, ‘अहिलेलाई एक लाख रुपैयाँ रकम छुट्याइएको छ ।’

रकम अपुग भए हिउँदे अधिवेशनबाट पास गराएर रकम थप गर्न सकिने उनले बताए । उनका अनुसार नेपालभर जुनसुकै शैक्षिक संस्थामा अध्ययन गरे पनि छात्रवृत्ति उपलब्ध गराइने छ । ‘जुन फ्याकल्टी पढे पनि हुन्छ, जहाँको कलेज पढे पनि हुन्छ, हामी पढ्दा लाग्ने शुल्क तिरिदिन्छौ,’ उनले भने ।

छात्रवृत्तिका लागि निवेदन संकलनको काम भइरहेको उनले बताए । हालसम्म सात वटा निवदेन परेको उनले जानकारी दिए । ‘दुइ वा एक छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पतिका छोरीहरु कक्षा ११ र १२ मा पढ्दै छन् भने गाउँपालिका कार्यालयको शिक्षा शाखामा आएर उहाँहरुले निवदेन दिन सक्नुहुनेछ, सामाजिक विकास समितिले आएको निवदेनमाथि छानविन गरी छात्रवृत्तिका लागि स्वीकृत गर्छ अनि छात्रवृत्ति उपलब्ध हुन्छ,’ दवाडीले भने ।

जनसंख्या वृद्धिदर न्यूनिकरणका लागि उक्त कार्यक्रम ल्याएको उनले बताए । ‘छोराको आशमा धेरै सन्तान जन्माउने, अनि छोरा नै चाहिन्छ भन्ने मानसिकता कम गर्न पनि यो कार्यक्रम ल्याएका हौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment