Comments Add Comment

कोरोना फोबिया : नेपालमा ‘भाइरस प्रतिरोधी’ मास्कको अभाव

१५ मंसिर, काठमाडौं । सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा बिरामीको चाप अरु दिन भन्दा बढी थियो । चीनबाट सुरु भएको नोभल कोरोना भाइरसको संक्रमणको आशंका गर्दै अधिकांश मानिसहरु अस्पताल पुगेका थिए ।

कोरोनाको आशंका गरेर अस्पताल पुग्नेहरु चीनबाट फर्किएकाहरु मात्र नभएर नेपालमै रहेका र चीनबाट आएका मानिससँग संगत नगर्नेहरु पनि थिए ।

चीनबाट फर्किएका एक युवकलाई ‘कोरोना संक्रमण’ भएको पुष्टि खबर शुक्रबार साँझतिर आएको थियो । त्यसैगरी तीन जना कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालमा भर्ना भएका थिए । यही कारण कोरोना भाइरस संक्रमितहरुको संगत र सम्पर्कमा नआएका मानिसहरु पनि अस्पताल पुगेका चिकित्सकहरु बताउँछन् ।

अहिले अस्पतालमा लागेको भीडले गत भदौमा डेंगु संक्रमणको झल्को दिएको टेकु अस्पतालका डा. शेरबहादुर पुन सुनाउँछन् । स्वाइन फ्लू फोबिया, सिरिन्ज फोबिया, डेंगु फोबिया सक्किनासाथ अहिले फेरि कोरोना फोबिया सुरु भएको छ’ उनी भन्छन्, ‘फोबिया हुनु एक किसिमले राम्रो हो, तर अहिले हामीकहाँ अलि बढी नै फोबिया देखिएको छ, त्यो भयानक हुन्छ ।’

अस्पतालको लाइनले मात्रै होइन, बजारमा ‘एन नाइण्टी फाइभ’ मास्क एक सातामै अभाव हुनुले पनि अहिले नेपालमा ‘कोरोना फोबिया’ भएको संकेत गरेको छ ।

‘एन नाइण्टी फाइभ’ मास्कलाई विशेषगरी भाइरस प्रतिरोधी मास्क भनिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रमाणित गरेको यस्तो मास्कलाई नेपाली बजारमा साढे तीनदेखि चार सय रुपैयाँसम्म पर्छ । मास्कमा फिल्टर जडान गरिएको हुन्छ, जुन फेर्न पनि मिल्छ । त्यसैगरी सामान्य ‘एन नाइण्टी फाइभ’ मास्क पनि पाइन्छ, जुन प्रयोग गरेपछि फ्याँक्नुपर्छ । यसको मूल्य नेपाली बजारमा ९० रुपैयाँ छ ।

डब्लूएचओले सामान्य सर्जिकल मास्क भन्दा ‘एन नाइण्टी फाइभ’ मास्क सुरक्षित र भाइरसप्रतिरोधी हुन्छ भनेको छ । वेभमेडले लेखेको छ, ‘भाइरस लागेका बिरामी उपचार गर्ने चिकित्सकहरुको लागि ‘एन नाइण्टी फाइभ मास्क’ उपयुक्त हो ।

यो पनि पढ्नुहोस कोरोना भाइरसको डर, मास्कले छोपिए अनुहार (फोटो फिचर)

केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएशनका सदस्य दलबहादुर भण्डारीका अनुसार गत बिहीबारसम्म विश्व स्वासथ्य संगठनले प्रमाणित गरेको ‘एन नाइण्टी फाइभ मास्क’ नेपाली बजारमा करिव २ हजारप्रति थियो । तर अहिले बजारमा अभाव छ ।

त्यसैगरी डब्लूएचओले प्रमाणित नगरेको २५ हजारप्रति ‘एन नाइण्टी फाइभ मास्क’ पनि सक्किइसकेको छ । एक सातामा अप्रत्यासित रुपमा मास्कको माग बढेको सुनाउँदै भण्डारी भन्छन्, ‘सामान्य सर्जिकल मास्क नै १ सातामा २ लाख भन्दा बढी बिक्री भयो ।’

उनकाअनुसार डब्लुएचओले प्रमाणित गरेको मास्क जर्मनी र अमेरिकाबाट मगाइन्छ । त्यसैगरी सामान्य सर्जिकल मास्क चीनबाट ल्याइन्छ । अहिले चाइनामै मास्कको अभाव भएकाले नेपालमा रहेका चाइनिजहरुले एकै पटकमा धेरै मास्क लगेको उनले सुनाए । भन्छन, ‘पहिले अस्पताल तथा फार्मेसीबाट १५/२० वटा ‘एन नाइण्टी फाइभ मास्क’ को अर्डर आउथ्यो तर, ’अहिले १००/१५० भन्दा बढीको अर्डर आएको छ, तर सप्लायर्सहरुसँगै मास्क छैन ।’

हस्पिटल फर्मासिस्ट एशोसिएशनका महासचिव प्रदीप लम्साल पनि पहिला २/३ वटा बेच्ने गरेको ‘एन नाइण्टी फाइभ मास्क’ अहिले २०/२५ वटासम्म बेच्ने गरेको सुनाउँछन् । उनकाअनुसार अहिले सामान्य सर्जिकल मास्क दिनमै २ सयभन्दा बढी बिक्री भइरहेको छ । जुन पहिले सयवटा पनि विक्री हुन्नथ्यो ।

हस्पिटल फर्मासिस्ट एशोसिएसनमा १०९ वटा अस्पतालका फार्मेसीहरु आवद्ध छन् । सबै फार्मेसीहरुले पहिला भन्दा अहिले दैनिक १५ देखि २५ वटा सम्म ‘एन नाइण्टी फाइभ मास्क बेचेको लम्साल सुनाउँछन् । ‘पहिला १/२ वटा मास्क लैजानेहरुले अहिले ८/१० वटा लिएर जान्छन् । अब त होलसेलमा पनि सकिएछ ।’

के मास्क सुरक्षित हो त ?

‘एन नाइण्टी फाइभ मास्क’ले एक हदसम्म भाइरसबाट बचाउने विभिन्न अनुसन्धानले देखाएको छ । तर यो मास्क लगाउँदैमा यो पूर्ण रुपमा सुरक्षित भने भइँदैन ।

मास्कहरुले वायुजनित भाइरसहरुविरुद्ध पूर्ण सुरक्षा प्रदान गर्दैनन् भनेर न्यू साइन्टिस्ट डटकमले लेखेको छ । मास्कले पूर्ण रूपमा नाक र मुख बन्द नगर्ने भएकाले वायुबाट भाइरसका कणहरु कणहरू अझै भित्र पस्न सक्छन् ।

धेरै साना कणहरू मास्कबाट पार गर्न सक्छ । मास्क लगाए पनि आँखाको माध्यमबाट भाइरसहरु संक्रमित हुने डर हुन्छ । न्यूज साइण्टिस्टले लेखेको छ, तर यस्ता माक्सहरु लगाउँदा ९० प्रतिशत सुरक्षित हुने सम्भावना भने रहन्छ ।’

सिंगापुरका संक्रामक रोग विशेषज्ञहरुले सर्वसाधाणलाई ‘एन नाइण्टी फाइभ मास्क’ भन्दा सामान्य सर्जिकल मास्क उपयुक्त हुने सल्लाह दिएको छ । सर्जिकल मास्कहरूले भाइरसको फैलावट कम गर्न मद्दत गर्छ र आमा मानिसको पहुँचमा हुन्छ । यसले ठूला कणका थोपाहरु र ‘स्प्लिटर’लाई लगाउने व्यक्तिको मुख र नाकमा पुग्न रोक्न मद्दत गर्छ ।

सिगांपुरको स्टेट टाइम्सले संक्रामक रोग विशेषज्ञहरुलाई उधृत गर्दैै ‘एन नाइण्टी फाइभ’ मास्क विशेषगरी चिकित्सकका लागि डिजाइन गरिएको बताएको छ ।

सर्वसाधारणलाई यस्तो माक्स लगाउँदा सास फेर्न गाह्रो हुने र फिटिङ गर्न समस्या हुने लेखेको छ । स्टेट टाइम्सले लेखेको छ, ‘एन नाइण्टी फाइभ मास्क होस् या सामान्य मास्क यो लगाएर तपाईं सुरक्षित महसुस गरिरहनुभएको छ भने भ्रममा हुनुहुन्छ । मास्क मात्रै भाइरसको ओखती होइन ।’

यो पनि पढ्नुहोस कोरोना भाइरस : नेपाल सतर्क भए पुग्छ !

सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन पनि मास्क नलगाउनभन्दा लगाउनु धेरै हदसम्म सुरक्षित हुने बताउँछन् । मास्क नलगाउनेभन्दा लगाउनेहरुलाई कमै मात्रामा भाइरसको संक्रमण हुने बताउँदै उनी भन्छन्, ‘सचेत भएर मास्क लगाउनु राम्रो हो, तर एकदम डराएर बजारमै मास्क अभाव हुने गरी खरिद गर्दा साँच्चिकै महामारी आयो भने मास्क नपाउने डर हुन्छ ।’

के छ कोरोनाको पछिल्लो अवस्था ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस परीक्षणको निम्ति शंकास्पद दुई व्यक्ति भर्ना भएका छन् । चीनबाट नेपाल फर्किएका उनीहरुलाई कोरोना भाइरस परीक्षणको निम्ति बुधबार अस्पतालको आइसोलेसन बेडमा भर्ना गरिएको हो ।

आवश्यक परीक्षणपछि मात्र उनीहरुको स्वास्थ्य स्थितिबारे भन्न सकिने अस्पतालले जनाएको छ ।

यसअघि नेपालमा एक जना युवकलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो भने तीन जना संक्रमणको आशंका गरिएकाको रिपोर्ट नेगेटिभ आएको थियो ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो जानकारीका अनुसार चीनमा ६ हजार ५७ जना मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १ सय ३२ जनाको मृत्यु भएको छ । चीनभन्दा बाहिर १४ देशमा कोरोना संक्रमण भएको पुष्टि हुँदा ८७ जना मानिस संक्रमित भएका छन् । तर कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा के छ त तयारी ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर कोरोना भाइरससँग लड्न अहिलेसम्म भएका १० वटा कामको सूची सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नेपालमा कोरोना भाइरसको जोखिम नभए पनि सरकारले पूर्वतयारी गरिरहेको बताए ।

उनले सरकारले गरेका १० वटा कामको सूची प्रस्तुत गरे ।

१. सबै हब अस्पताललाई आइसोलेसन सुविधासहित छुट्टै विभाग तयारी राख्न भनिएको छ ।

२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोगको अध्ययन र अनुसन्धान गरेको छ ।

३. त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा थर्मल स्क्यानर राखिएको छ ।

४. सोमबारबाट राष्ट्रिय प्रयोगशालाबाट नोभेल कोरोना भाइरस २०१९ को ल्याब परीक्षण शुरु गरिएको छ ।

५. विमानस्थलमा भेटिएका शंकास्पद विरामीको लागि चौविसै घण्टा एम्बुलेन्सको तयारी अवस्थामा राखिएको छ ।

६. पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट सम्बन्धित ठाउँमा पुर्‍याइएको छ ।

७. प्रधानमन्त्री तथा गृहमन्त्रीलाई नियमित जानकारी गराइएको छ ।

८. काठमाडौंका प्रमुख अस्पतालहरुलाई शंकास्पद विरामीको ल्याव परीक्षणको लागि सुरक्षित तवरले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने वातावरण मिलाइएको छ ।

९. भिडियो कन्फ्रेन्सको माध्यमबाट प्रादेशिक अस्पतालहरुलाई सजक र तयार रहन जानकारी गराइएको र सोही अनुसार तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

१०. चेतनामूलक सामाग्री बनाई सबैलाई जानकारी प्रदान गरी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment