
१५ माघ, काठमाडौं । चीन बाहिर मात्रै विश्वका १४ देशमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि नेपालमा पनि यसको डर बढेको छ ।
भाइरस नसरोस् भनेर सर्वसाधारणले व्यक्तिगत रुपमा सतर्कता अपनाउन थालेका छन् । भीडभाडमा होस् या बाटोमा, अस्पतालमा होस् या विमानस्थलमा मास्क लगाउने मानिसहरु बढेका छन् ।
मास्क लगाउनेहरु बढेका कारण बजारमा अभाव हुन थालेको बिक्रीकर्ताहरु बताउँछन् । कोरोना भाइरसको संक्रमण ठीक पार्ने कुनै पनि उपचार नभएकाले चिकित्सकले समेत मास्क लगाउन सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्कअनुसार चीनमा ६ हजार ५७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १ सय ३२ जनाको मृत्यु भएको छ । चीनभन्दा बाहिर १४ देशका ८७ जना संक्रमित भएका छन् । चीनबाहिर कोरानाकै कारण मानिसको मृत्यु भएको पुष्टि भएको छैन ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस परीक्षणको निम्ति शंकास्पद दुई व्यक्ति भर्ना भएका छन् । चीनबाट नेपाल फर्किएका ती व्यक्तिलार्ई कोरोना भाइरस परीक्षणको निम्ति बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कमा थर्मल स्क्यानर मेसिन जडान गरी सञ्चालनमा ल्याइएको छ। विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को समन्वयमा ल्याइएको सो मेसिन गत शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
मेसिन सञ्चालन गरेसँगै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने सबै विमानका यात्रुको ज्वरो नापिन्छ । शंकास्पद देखिएका त्यहीँबाट अस्पताल लगिन्छ ।
प्रतिक्रिया 4