Comments Add Comment

माता सरस्वतीको पुजा-आरधना गर्ने विधी

श्री पञ्चमीको दिन माता सरस्वतीको जन्मोत्सवको दिन हो । यो दिन सरस्वतीको पूजा गर्ने प्रथा प्राचिन कालदेखि नै चलि आएको छ । सृष्टिको निर्माणको समयमा देवी सरस्वती वसन्त पञ्चमीको दिन प्रकट भएकी थिइन् भन्ने मान्यता रहेको छ ।

त्यसैले यो दिन माता सरस्वतीको जन्मदिनको रुपमा मनाइन्छ, साथै यो दिन माता सरस्वतीको पुजा-आरधना, वन्दना पनि गरिन्छ । यो बर्ष वसन्त पञ्चमी माघ १६ गते बिहिबार मनाइँदैछ ।

माता सरस्वतीको पुजा गर्ने विधि

वसन्त पञ्चमीमा सरस्वतीको पूजा गर्नका लागि सर्वप्रथम माता सरस्वतीको प्रतिमा अथवा तस्वीर अगाडि राख्नु पर्छ । त्यसपछि कलश स्थापित गरेर भगवान गणेश र नवग्रहको विधिवत पूजा गर्नु पर्छ ।

माता सरस्वतीको पूजा गर्दा सर्वप्रथम आचमन एवं स्नान गराउनु पर्छ । त्यसपछि मातालाई केसर, फूल र माला चढाउनु पर्छ । सरस्वती मातालाई सिन्दुर एवं अन्य श्रृंगारको वस्तुहरु पनि अर्पित गर्नु पर्छ ।

वसन्त पन्चमीका दिन सरस्वती माताको चरणमा रंग पनि अर्पित गरिन्छ । देवी सरस्वती श्वेत वस्त्र धारण गर्छिन् । त्यसैले उनलाई श्वेत वस्त्र लगाइदिनु पर्छ ।

सरस्वती पूजाको अवसरमा माता सरस्वतीलाई पहेलो रंगको फलफुल चढाउनु पर्छ । प्रसादको रुपमा मौसमी फलफुलहरु बाहेक बुनियाँ पनि अर्पित गर्नु पर्छ । यो दिन सरस्वती मातालाई मालपुवा र खीरको पनि भोग लगाउन सकिन्छ ।

सरस्वती माताको नामबाट हवन गर्नु पर्छ । हवनका लागि हवन कुन्ड अथवा भूमिमा सवा हात चारै तिर नापेर एउटा निशाना बनाउनु पर्छ । त्यसलाई कुशले सफा गरेर, गंगा जल छर्केर पवित्र बनाएपछि आँपको बोटको स-साना दाउरालाई राम्रोसंग बिछ्याएर त्यसमाथि अग्नि प्रज्वलित गर्नु पर्छ । हवन गर्दा भगवान गणेश र नवग्रहको नामले पनि हवन गर्नु पर्छ ।

सरस्वती माताको नामले ॐ श्री सरस्वतयै नमस् स्वाहा मन्त्रले १०८ पटक हवन गर्नु पर्छ ।

हवनपछि सरस्वती माताको आरती गर्नु पर्छ र हवनको तिलकलाई निधारमा लगाउनु पर्छ । यसरी माता सरस्वतीको पूजा-आरधना गर्नाले भक्तहरुलाई उनको आशीर्वाद प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment