६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले वाम एकताका लागि वार्ता समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले गरेका पाँच निर्णयमा वाम एकताका लागि वार्ता समिति गठन गर्ने विषय पनि उल्लेख छ ।
बैठकले नेकपासँग वैचारिक, सांगठनिक र कार्यक्रमिक सपरूपता भएका विभिन्न वाम राजनीतिक दल तथा घटकहरूसँग पार्टी एकताका लागि पहल र वार्ता गर्ने निर्णय गरेको हो ।
जसको संयोजकमा देव गुरुङ, सदस्यमा प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ राखिएको छ ।
बैठकले पार्टी र जनवर्गीय संगठनहरूको समायोजन, पार्टी सदस्यता वितरण तथा नवीकरण एवं पार्टी संगठन सुदृढीकरणका लागि दुई महिने विशेष जनअभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
अभियानको विस्तृत योजना आगामी सचिवालय बैठकले तय गर्ने भनिएको छ ।
महाधिवेशन तथा अधिवेशनको विषयमा पार्टी सचिवालय बैठकले छलफल गरी आवश्यक निर्णय गर्ने अर्को निर्णयमा उल्लेख छ ।
यस्तै, बैठकले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सिङ्गो पार्टी पङ्ति परिचालित गर्दै पार्टीका तर्फबाट प्रभावकारी पहल गर्ने अर्को निर्णय गरेको छ ।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले समसायिक राजनीतिक कार्यभार तथा पार्टीका पछिल्ला गतिविधिबारे धारणा राखेका थिए ।
प्रतिक्रिया 4