Comments Add Comment
नेकपा केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल शुरु :

नेकपाको आगामी महाधिवेशन चौथो कि दशौं ?

पोलिटव्यूरो गठन र एमसीसी मुद्दा चर्किने,१५ समूहका टोली नेता छानिदै

१६ माघ,काठमाडौं । सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन बिहीबार अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका सांगठानिक प्रतिवेदन तथा बिधान संशोधन प्रस्तावमाथि छलफल हुँदैछ ।

केन्द्रीय सदस्यहरुको समूहगत छलफलका लागि १५ वटा समूह बनाइएको छ । बर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । छलफल राष्ट्रिय सभागृह र पार्टी केन्द्रीय कार्यालय धुम्बाराही तथा पेरिसडाँडामा हुँदैछ ।

समूहगत छलफलमा सचिवालयका ९ जना नेता सहभागी हुने छैनन् । प्रत्येक समूहबाट एकजना टोली नेताले शुक्रबारको बैठकमा रिपोर्टिङ गर्ने नेकपाले जनाएको छ । समूहगत छलफलमा भाग लिनुअघि नेकपाभित्रका बिभिन्न गुटहरुको आन्तरिक बैठकसमेत बसेर कसरी प्रस्तुत हुने भन्नेबारे निर्देशन दिइएको स्रोतले जनाएका छ ।

एमालेले नवौं महाधिवेशनबाट केपी ओलीलाई अध्यक्ष निर्वाचित गरेको थियो । माओवादीले हेटौंडामा सातौं महाधिवेशन गरेको थियो । अब एकताको महाधिवेशन दशौं हुन्छ कि पहिलो ?

केन्द्रीय कमिटी बैठकमा पार्टी संगठन परिचालन तथा बिस्तारका लागि प्रस्तुत ५ महिने कार्ययोजना र सबै तहका कमिटीहरुको अधिवेशनको मितिनै तोकिनु राम्रो प्रस्ताव भएको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए । तर अब हुने महाधिवेशन कतिऔं हुने भन्ने अन्यौल भने कायमै छ ।

नेकपा एमालेले नवौं महाधिवेशनबाट केपी ओलीलाई अध्यक्ष निर्वाचित गरेको थियो । माओवादीमा भने बिगत ३३ वर्षदेखि प्रचण्डनै महासचिव र त्यसपछि अध्यक्षका रुपमा निरन्तर छन् । माओवादीले हेटौंडामा सातौं महाधिवेशन गरेको थियो । अब एकताको महाधिवेशन दशौं हुन्छ कि पहिलो ? यो प्रश्न समूहगत छलफलमा उठेको छ ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनापछि तेस्रो महाधिवेशनसम्म एउटै समूह थियो । २०१९ मा तेस्रो महाधिवेशनबाट संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ अलग भएपछि नेकपामा टुटफुट शुरु भएको थियो । त्यसयता हरेक घटकले आ-आफ्ना महाधिवेशनलाई चौथोबाट शुरु गरेका थिए ।

अब नेकपा २०१९ मा फर्केर चौथो महाधिवेशन गर्छ कि २०७७ मा दशौं महाधिवेशन गर्छ ? छलफलमा यो प्रश्न उठाउने तयारी केन्द्रीय सदस्यहरुको छ । महाधिवेशन कतिऔं भन्ने विषय छलफलबाट टुंगो लाग्ने विश्वास केन्द्रीय सदस्य युवराज चौलागाईले व्यक्त गरे । अर्का केन्द्रीय सदस्य माधव ढुंगेलले केन्द्रीय कमिटी बैठकको छलफलमा यो विषय उठेको बताए ।

नेपाल पक्षको मुख्य मुद्दा पोलिटव्यूरो गठन 

नेकपाले २०७७ साल चैत २५ देखि ३० सम्म एकताको महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा ल्याएको छ । त्यसअघि आगामी भदौदेखि मंसिर महिनासम्म स्थानीय तह, जिल्ला र प्रदेश कमिटीका अधिवेशनहरु सम्पन्न गरिसक्ने महासचिव पौडेलले बताएका छन् ।

नेकपाको बैठकमा समूहगत छलफलमा माधव नेपाल पक्षले पोलिटव्यूरो गठनलाई मुख्य मुद्दा बनाउने भएको छ । महासचिव पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदनमा पोलिटव्यूरो गठनलाई पार्टी एकतापछि गर्न बाँकी कामका रुपमा राखिएको छ । पोलिटव्यूरो केन्द्रीय कमिटी बैठकमा अलग एजेण्डाका रुपमा ल्याउन माग समेत भएको छ ।

हाल नेकपामा केन्द्रीय कमिटी,स्थायी कमिटी र सचिवालय छन् । स्थायी कमिटी र केन्द्रीय कमिटीको बीचमा पोलिटव्यूरो गठनको काम बाँकी छ । यहि केन्द्रीय कमिटी बैठकबाट पोलिटव्यूरो कमिटी चयन हुनुपर्ने माग आफूहरुको रहेको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।

छलफलमा एमसीसीको मुद्दा चर्को रुपमा उठाउने तयारी भीम रावल लगायतका नेताहरुको छ । एमसीसी र सिमा विवादको साथै राजनीतिक नियुक्तिहरुको मापदण्डको विषयलाई अलग एजेण्डा बनाएर छलफल गर्नुपर्ने आफहरुको माग रहेको केन्द्रीय सदस्य झपट रावलले बताए ।

यो पनि पढ्नुहोस नेकपाका तीन दस्ताबेज (पूर्ण पाठसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment