Comments Add Comment

प्रदेश २ मा वैदेशिक रोजगारमा जान चाहनेले पाँच दिनभित्रै ऋण पाउने

१६ माघ, जनकपुरधाम । तपाईंको घर प्रदेश २ मा छ ? र, वैदेशिक रोजगारमा जान चाहनुभएको छ ? तर रकमको अभावमा जान सकिरहनुभएको छैन भने अब त्यो चिन्ता हटाउँदा हुन्छ । विदेश जाने युवाका लागि प्रदेश सरकारले बिना धितो ऋण दिने व्यवस्था मिलाएको छ ।

प्रदेश सरकारले यस्तो व्यवस्था मिलाएसँगै विदेश जानकै निम्ति चर्को व्याजमा ऋण लिने युवाहरुको बाध्यता हट्ने भएको छ । प्रदेश सरकारको समन्वयमा दुई वटा बैंकले बिना धितो सहुलियत ऋण दिने भएको हो । जस अन्तर्गत बिहीबार नौ जना युवाले वैदेशिक रोजगार ऋण पाएका पनि छन् ।

प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौता अनुसार प्रभु बैंकले बिहीबारबाट युवालाई ऋण दिन सुरु गरेको हो ।

जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरे ।

त्यस अवसरमा बोल्दै मुख्यमन्त्री राउतले यो योजनाले साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने युवाहरुको बाध्यतालाई केही हद्सम्म समाधान गर्ने विश्वास व्यक्त गरे ।

प्रदेशका ५ जिल्लामा प्रभु बैंकले र तीन जिल्लामा एसबिआई बैंकले यो ऋण उपलब्ध गराउनेछ । एसबीआई बैंकले बुधबारदेखि ऋण प्रवाह गर्न सुरु गरेको छ ।

प्रदेश सरकार, सिप परियोजना र प्रभु बैक तथा एसबीआई बैंक बीच साउन महिनामा बैदेशिक रोजागरीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।

प्रभु बैंकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा तथा सिराहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले ऋण प्रवाह गर्नेछ ।

भिसा लागेको पाँच दिनभित्रै पाइनेछ ऋण

वैदेशिक रोजगारमा जान चाहने युवाको भिसाा लागेको पाँच दिनभित्रै ऋण पाउने भएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरुले राहदानी बनाउने बितिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटो सहित निवेदन दिनुपर्ने हुन्छ । यसपछि बैंकले ती व्यक्तिको नाममा बचत खाता खोलिदिनेछन् ।

जब त्यो व्यक्तिको भिसा लाग्छ, त्यसपछि भिसासहित श्रम सम्झौता बैकमा जम्मा गर्नुपर्ने हुन्छ । यो पेश गरेको पाँच दिनभित्रै कर्जा उपलब्ध गराउने दुबै बैंकले प्रदेश सरकारसँग सहमति गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment