१६ माघ, काठमाडौं । सधैँ टेलिभिजनमा हेरिरहेको देखिरहेको खेलाडी अचानक अगाडि नै देखियो भने के होला कल्पना गर्नुस् । अनि क्रिकेटको छोटो फर्म्याट, अझ भनौँ चटपटे फरम्याट मानिने टी २० को लिजेण्ड क्रिस गेललाई भेट्नुभयो भने के होला ?
यदि तपाई क्रिकेट फ्यान हुनुहुन्छ भने पक्कै गेललाई भेट्न उत्सुक बन्नुहुनेछ । अब नेपालमा तपाईको प्रतीक्षा पूरा हुनेछ । उनै टी२० क्रिकेटका हस्ती वेष्ट इन्डिजका क्रिस गेल नेपाल आउने भएका छन् । गेल नेपालमा क्रिकेट खेल्नकै लागि आउने भएका छन् । वेष्ट इन्डिजबाट होइन नेपालमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० खेल्न आउन लागेका हुन् । अब उनलाई नेपाली दर्शकले आफ्नै अगाडि खेलेको हेर्न पाउनेछन् । चौका छक्का हानेको देख्न पाउनेछ ।
ईपीएल खेल्ने टोली पोखरा राइनोजले गेललाई नेपाल ल्याउन लागेको हो । पोखरा राइनोजले बिहीबार पत्रकार सम्मेलन गर्दै गेललाई यस सिजनका लागि अनुबन्ध गरेको जानकारी दिएको हो । गेलसंगै यस पटक विश्व क्रिकेटकै ठूला खेलाडीले कीर्तिपुरस्थित टीयू मैदानमा क्रिकेट खेल्दैछन् ।
यसअघि नै वेष्ट इन्डिजकै अर्का खेलाडी ड्वाने स्मिथ अफगानिस्तानका मोहमद शाहजाद र श्रीलंकाका उपुल थरंगाले नेपालमा इपीएल खेल्ने पक्का भइसकेको छ ।
पहिलो पटक नेपाल आउन लागेका गेलले एक भिडियो सन्देशबाट नेपालमा क्रिकेट खेल्न आफू आउन लागेको र त्यसका लागि तयार हुन भनेका छन् ।
Nepal, the forecast for March is Stormy! @henrygayle has confirmed to play in the @eplt20official for @pokhararhinos! Are you ready for the Gayle Storm?#galligallimaGayle #GoGayle #GoRhinos #eplt20 pic.twitter.com/FuurBZ50ci
— EPL – Everest Premier League (@eplt20official) January 30, 2020
‘के छ नेपाल । म क्रिस गेल युनिभर्सल बोस । सन् २०२० मा म एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल भ्रमण गर्दैछु । आउनु होस् मेरो टिम पोखरालाई समर्थन गर्नुहोस् । नेपाल, गेट रेडी फर द गेल स्ट्रोम । यो निकै ड्यासिङ हुनेछ । चाँडै भेटौला नेपाल ।’
पोखराले गेललाई आइकोनिक प्लेअरको रुपमा अनुबन्ध गरेको हो । अनुबन्ध रकमबारे भने फ्रेन्चाइजले खुलाएको छैन । गेल मार्च १२ मा नेपाल आइपुग्ने पोखरा राइनोजकी प्रमुख दीपा अग्रवालले जानकारी दिइन् । मार्च २९ देखि भारतमा आईपीएल शुरु हुने भएकोले त्यसको सेडुल हेरेर नेपालमा कति समयसम्म बस्ने थाहा हुने अग्रवालले जानकारी दिइन् ।
विश्व टी २० क्रिकेटको पर्यावाची खेलाडी नेपाल आएर खेल्दैछन् भन्दा आफैँलाई अचम्म लागेको उनले सुनाइन् । ‘ईपीएलले गर्दा नै यो सम्भव भएको हो । टी २० क्रिकेटका पर्यावाची गेल आफ्नो टिमबाट खेल्दैछ भन्दा मलाई अझै पत्यार लागेको छैन’ अग्रवालले भनिन् ।
आयोजक ईपीएलका म्यानेजिङ डिरेक्टर आमिर अख्तरले गेलले नेपालमा खेलेको हेर्न क्रिकेटप्रेमी उत्साहित रहेको बताए ।
जमाइकाका गेलले वेष्ट इन्डिजका लागि राष्ट्रिय टोलीबाट १०३ टेस्ट, ३०१ ओडीआई र ५८ टी२० आई खेल खेलेका छन् । यस्तै उनले विश्वभरका फ्रेन्चाइज क्रिकेटहरु समेत खेलेका छन् । सन् २००७ देखि २०१० सम्म वेष्ट इन्डिजको टेष्ट टवलीको कप्तानी गरेका गेलले क्रिकेटको तीनवटै फर्म्याटमा शतक प्रहार गरेका छन् । उनी टेष्टमा तेहरो शतक, ओडीआईमा दोहोरो शतक र टी २०आईमा शतक प्रहार गर्ने एक्लो खेलाडीसमेत हुन् ।
गेलले आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै पुने विरुद्ध ३० बलमै शतक प्रहार गरेका थिए । जुन खेलमा उनले अविजित १७५ रन बनाएका थिए । यो टी २० मा व्यक्तिगत उच्च स्कोरसमेत हो । गेलले सन् २०१७ मा टी २० क्रिकेटमा १० हजार रन पूरा गरेका थिए ।
प्रतिक्रिया 4