Comments Add Comment

जेलमा कस्तो छ महराको दैनिकी ? १० हजारले भेटे, शीर्ष नेता गएनन्

१७ माघ, काठमाडौं । बुधबारदेखि सुरु नेकपा बैठकमा उठेका विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । त्यस्तै, कोरोना भाइरस संक्रमण, छाउगोठ भत्काउने सरकारको निर्णयको प्रभावकारितामाथि पनि अखबारहरूले नजर लगाएका छन् । त्यसो त क्रिकेटर क्रिस गेल नेपाल आउन लागेको खबरले पनि आज महत्त्व पाएको छ ।

‘यस्तो छ कारागारमा महराको दैनिकी’ शीर्षक दिएर नागरिकले पूर्वसभामुख कृष्णबहादुर महराको कारागार दैनिकी उतारेको छ । नागरिकका अनुसार गत कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ । अहिलेसम्म उनलाई भेट्न १० हजार बढी आफन्त र कार्यकर्ता पुगेको कारागारको भनाइ छ । तर उनलाई सामान्य कार्यकर्ता र आफन्तबाहेक भीआईपी भने जाँदैनन् ।

‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेता नेताहरू आइरहेका,’ कारागारका एक कर्मचारीले नागरिकसँग भनेका छन्, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ ।’

त्यसो त महरा आफैं पनि सञ्चारकर्मी र कर्मचारीसँग भेट्न अनिच्छुक छन् । कारागार चलान भएलगत्तैदेखि उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेको नागरिक समाचारमा उल्लेख छ ।

सन्चोबिसन्चो सोध्ने कर्मचारीलाई उनले ठीक छ भनेर टाउको हल्लाउने गरेका छन् । समाचार अनुसार महराको दायाँ बाया २५/३० जना कैदी छन् । तर उनी ती कैदीहरूसँग पनि खासै बोल्दैनन् ।

नयाँ पत्रिका आज नेकपा बैठकमाथि केन्द्रित छ । समाचार अनुसार, बैठकमा केन्द्रीय सदस्यहहरूले भ्रष्टाचारबारे चर्को आलोचना गरेका छन् । त्यस्तै, एमसीसीबारे पनि अधिकांशले प्रश्न उठाएका छन् ।

चीनमा कोरोना भाइरसको महामारी फैलिरहँदा जापान र अमेरिकाले जहाज लगेर आफ्ना नागरिक फर्काएका छन् । भारतले पनि जहाज लैजाने तयारी गरेको छट । तर नेपाल भने ढुक्कसँग बसेको भन्दै नयाँ पत्रिकाले सरकारी रवैयामाथि प्रश्न उठाएको छ ।

अन्नपूर्ण र गोरखापत्रले छाउगोठ भत्काउने निर्णयपछिको अवस्थाबारे स्थलगत रिपोर्ट गरेका छन् । तर, दुवैको समाचार आपसमा बाझिएको छ । गोरखापत्रले छाउगोठ भत्काउने अभियानमा सफलता हात लागेको दाबी गरे पनि त्यो प्रभावकारी नभएको अन्नपूर्ण समाचारको सार छ । प्रशासनले भत्काए पनि स्थानीयले पुनः बनाउने गरेको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

अख्तियारबाटै भ्रष्टाचारसम्बन्धी अनुसन्धान फाइल गायब भएको खबर राजधानीमा छापिएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचारसम्बन्धी फाइल अख्तियारबाटै गायब भएको हो ।

सर्वोच्चले पटक पटक निर्णयको फाइल झिकाउन दिएको आदेश अख्तियारले अटेरी गरेपछि पुनः अर्को आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment