Comments Add Comment

‘साङ्लो’ एक्सन चलचित्र मात्र होइनः विराज

१९ माघ, काठमाडौं । नायक विराज भट्ट एक्सन स्टारको रुपमा चिनिन्छन् । उनले प्रायः एक्सन चलचित्रहरुमा नै काम गरेका छन् । उनको एक्सनलाई दर्शकले रुचाएका पनि छन् ।

अहिले विराज आफैँले निर्माण तथा निर्देशन गरेर चलचित्र ‘साङ्लो’ तयार गरेका छन् । यस चलचित्रको मुख्य भूमिकामा विराज आफैँ फिचर भएका छन् । केही वर्ष नेपाली चलचित्रबाट बसाइँ सरेर भोजपुरी चलचित्रमा पुगेका विराज पुनः ‘साङ्लो’बाट नेपाली चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् ।

चलचित्रको गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । जसलाई दर्शकले राम्रो प्रतिकृया दिइरहेका छन् । ट्रेलरमा विराजको एक्सन दृष्यहरुलाई विशेष जोड दिइएको छ । जुन कुरालाई दर्शकले निकै रुचाएका छन् । धेरै दर्शकले बाघ पुनः जंगल फर्किएको प्रतिकृया दिइरहेका छन् ।

अभिनेता, निर्माता तथा निर्देशक विराज यस चलचित्रबाट दर्शकको अपेक्षा पूरा हुने बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भनेका छन्, ‘दर्शकले मबाट जुन कुराको अपेक्षा गरेर कुरिरहनु भएको छ त्यो पूरा हुनेछ । हामीले दर्शककै सन्तुष्टिको लागि धेरै मेहेनत गरेका छौँ ।’

साङ्लो एक्सनप्रधान मात्र नभएको विराज बताउँछन् । उनले भने, ‘एक्सन चलचित्र भनेर एक्सन मात्र छैन् । चलचित्रमा हसाउने, रुवाउने कुराहरु पनि छन् । समग्रमा यो चलचित्रको विषयबस्तु नै राम्रो पाउनु हुनेछ ।’

विराजका अनुसार चलचित्रमा ग्रामिण भेगको समस्याहरुलाई पनि देखाइएको छ । ‘हाम्रो देशका ग्रामिण भेगहरु कति सुन्दर छन् । तर, त्यहाँ स्वास्थ्य, शिक्षा, यातायात जस्ता कुराहरुको समस्या छ । त्यसलाई पनि हामीले चलचित्रमा देखाएका छौँ । चलचित्रको कथा नै गाउँबाट सुरु हुन्छ,’ उनले भने ।

माघ २४ गते रिलिज हुने यस चलचित्रबाट मिस नेपाल निकिता चण्डकले पनि चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन् । निकिता र विराज यस चलचित्रमा जोडी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment