Comments Add Comment

लिभरपुललाई २२ अंकको अग्रता, उपाधि जित्न २० अंक आवश्यक

१९ माघ, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटीमाथि २२ अंकको अंग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ। लिगअन्तर्गत शनिवार साउथह्याम्पटनलाई ४-० ले पराजित गर्दै लिभरपुलले २२ अंकको फराकिलो अग्रता बनाएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा एलेक्स च्याम्बरलाइन र कप्तान जोर्डन हेन्डरसनले एक-एक गोल गरे । रोवर्टो फिर्मिनोले असिस्टको ह्याट्रिक गरे ।

पहिलो हाफमा साउथह्याम्पटनले लिभरपुललाई गोलरहित बराबरीमा रोकेको थियो। तर लिभरपुले दोस्रो हाफमा गोल गर्यो । ४७औं मिनेटमा रोवर्टो फिर्मिनोको पासमा च्याम्बरलाइनले गोल गर्दै अग्रता दिलाए । ६०औं मिनेटमा फिर्मिनोकै पासमा हेन्डरसनले अग्रता दोब्बर पारे ।

७२औं मिनेटमा हेन्डरसनको पासमा सलाहले गोल गर्दै अग्रतालाई ३-० बनाए । ९० मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाए । यस पटक पनि फिर्मिनोले नै असिस्ट गरेका थिए ।

जितपछि २५ खेलबाट लिभरपुलले ७३ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ५१ अंकसहित दोस्रो स्थानमा छ। लिभरपुलले अब १३ खेल खेल्न बाँकी छ। यस्तोमा लिभरपुलले २० अंक जोडेपनि उपाधि जित्नेछ ।

प्रिमियर लिगमै शनिवार भएको खेलमा दुई पूर्व विजेता चेल्सी र लेस्टर सिटीले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि लेस्टरको २५ खेलबाट ४९  र चेल्सीको उति नै खेलबाट ४२ अंक छ । लेस्टर तेस्रो र चेल्सी चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment