Comments Add Comment

सुनजस्तै लसुन : दुई हप्तामा दोब्बरले मूल्य बढ्दा नयाँ रेकर्ड

१९ माघ, काठमाडौं । १५ दिनअघिसम्म कालिमाटी बजारमा सुकेको लसुनको मूल्य किलोको औसत २४५ रुपैयाँ थियो । अहिले लसुनको मूल्य औसत ५५० रुपैयाँ प्रतिकेजीमा पुगेको छ । दिन-दिनै लसुन महंगिँदैछ । एक हप्ताअघि ४९५ रुपैयाँ प्रतिकिलोमा आईपुगको लसुनको मूल्य आइतबार अधिकतम् मूल्य ५६० रुपैयाँ नाघेको छ । अझ बजारमा खुद्रा मूल्य ६०० माथि पुग्न थालेको छ ।

बजारमा प्याजको मूल्यले उपभोक्तालाई सताइरहेका बेला लसुनको मुल्यले पनि नयाँ रेकर्ड राखेको छ । दुई हप्ता १२५ प्रतिशतले लसुनको मूल्य बढेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताए ।

‘लसुन त सुनजस्तो भयो,’ उनले भने,’इतिहासमा लसुनको मूल्य यति माथि गएको थिएन ।’ कालिमाटीमा बढीमा प्रतिकिलो २८५ देखि ३०० रुपैयाँभन्दा माथि नगएको लसुन अहिले खुद्रामा अधिकतम् ५६० रुपैयाँमा पुगेको छ ।

लसुनको मूल्य बढ्नुको कारण हो, आयातमा निर्भर बजार व्यवस्था । चीनबाट हुने आयात प्रभावित भएपछि लसुन महंगिएको हो । अझै एक महिना लसुन महंगिने क्रम जारी रहने समभावना रहेको घिमिरेले बताए ।

‘रसुवागढीबाट आयात रोकिएपछि लसुनको बजारमा अभाव छ,’ उनले भने,’अभावले गर्दा लसुन यसरी महंगिएको छ कि बजारमा मूल्यले उछाल हानिरहेको छ ।’  भारी हिमपहिरोले चीनतर्फको सडक बिग्रिएपछि दुई हप्ताअघि चीनबाट हुने आयात रोकिएको थियो ।

अब चीनबाट आउने सुकेको लसुनले भान्छा धान्न गाह्रो हुने अवस्था आएको छ । हरियो लसुसन उपभोक्ताको विकल्पमा छ ।

हरियो लसुन अहिले औसत १४५ रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ । तर, सुकेको लसुन महंगिएपछि हरियोको माग बढ्दा यसको मूल्य पनि बढ्ने क्रममा छ । १५ दिनमा हरियो लसुनको मूल्य पनि १६ प्रतिशतले बढेको कालीमाटी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment