Comments Add Comment

बालिका बलात्कार आरोपमा बारामा भारतीय ‘बाबा’ पक्राउ

२० माघ, वीरगञ्ज । १४ बर्षकी बालिका बलात्कारको आरोपमा प्रहरीले आफूलाई ‘झण्डा बाबा’ बताउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । आशाराम बाबाको चेला बताउने भारत राजस्थान बुन्दी जिल्ला थाना पाटन चिन्ताग्राम पञ्चायत घर भएका ५३ बर्षका रामेश्वर भनिने हरि नारायण शर्मा पक्राउ परेका हुन् ।

उनले बाराको कोल्हवी नगरपालिका–११ रमपूर्वामा घरका सदस्य कोही नभएको मौकामा बालिकाको बलात्कार गरेको प्रहरीको भनाइ छ । शर्मालाई आइतबार साँझ नियन्त्रणमा लिइएको बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

’गाउँमै रहेको जानकी मन्दिरमा बस्दै आएका बाबाले गाउँतिर घुमेर खाँदा रहेछन् । आइतबार साँझ पुरी खान मन लागेको छ भन्दै बालिकाको घर पुगेका थिए’ उनले भने ‘बालिकाको बुवा पुरी पकाउन घ्यू खोज्न निस्केका थिए । घरका अन्य सदस्य बाहिरै थिए । बालिका घरमा एक्लै भएको मौका छोपेर बाबाले घरकै कोठामा बलात्कार गरेछन् । स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लियौं । ’

बालिकाको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । बालिको अवस्था सामान्य छ । आफूलाई ‘झण्डा बाबा’ भन्ने शर्माले आफू आशारामको चेला हो भनी कोल्हवी क्षेत्रमा झारफुकसमेत गर्दै आएका थिए । झारफुक, तन्त्रमन्त्र जानेको, त्यसबाट विभिन्न रोग ठीक पार्ने दावी गर्दै आएका बाबाको स्थानीयमाझ सम्बन्ध राम्रो बनिसकेको थियो ।

पक्राउ परेका शर्माविरुद्ध मुलुकी अपराध सहिंता २०७४ को करणीसम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । मुलुकी अपराधसहिंता २०७४ मा १४ वर्षमुनिका बालिका करणी गरेको प्रमाणित भए १२ देखि १४ वर्षसम्म कैद हुने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment