Comments Add Comment

कांग्रेस सांसद चौधरीबाट ठगिएको भन्दै संसद सचिवालयमा उजुरी

२१ माघ, काठमाडौं । प्रतिनिधिसभाकी एकजना सांसदले ठगी गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ । कांग्रेस सांसद पार्वता डिसी चौधरीविरुद्ध सचिवालयमा उजुरी परेको हो ।

दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले सांसद चौधरीमाथि ८ लाख ठगी गरेको आरोप लगाउँदै उजुरी दिएका हुन् । संसद सचिवालयले उजुरी दर्ता भएको, तर यसबारे के गर्ने भन्ने जानकारी नभएको बताएको छ ।

सांसद चौधरीले २०७४ सालमा शुरुमा तीन लाख र पछि ५ लाख समेत गरी आठ लाख रुपैयाँ लिएकोमा पटक-पटक आग्रह गर्दा पनि फिर्ता नदिएपछि उजुरी गर्नु परेको पाण्डेले बताए । पार्टीमा पटक-पटक उजुरी गर्दा पनि सुनुवाई नभएपछि संसद सचिवालय गुहार्नुपरेको उनको भनाइ छ ।

सांसद चौधरीले योजना पारिदिने भन्दै त्यसवाफत अग्रिम कमिसन माग्ने गरेको दाङका जनप्रतिनिधिहरु बताउँछन्

चौधरीलाई उनको एभरेष्ट बैंकको खातामा दुईपटक रकम पठाएको भौचरसमेत सचिवालयमा पेश गरिएको उनीहरुले बताएका छन् । विश्वासको सम्बन्धका कारण पार्टीको नेतालाई दिएको पैसा फिर्ता नगरेपछि कानुनी कारबाहीको लागि जानुपरेको पाण्डेले बताए ।

संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर सोमबार दर्ता गरिएको उजुरीमा सांसद चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेकाले उनलाई झिकाएर रकम दिलाइदिन आग्रह गरिएको छ ।

यसबारे सोध्न अनलाइनखबरले सम्पर्क गर्न खोज्दा सांसद चौधरीको एउटा मोबाइल स्वीच्ड अफ गरिएको छ भने अर्को नम्बरमा फोन उठेन । संसद सचिवालयका एक अधिकारीले यस्तो खाले उजुरी पहिलोपटक आएकाले सभामुखसँग छलफल गरिने बताए ।

सांसद चौधरीले योजना पारिदिने भन्दै त्यसवाफत अग्रिम कमिसन माग्ने गरेको दाङका जनप्रतिनिधिहरु बताउँछन् । दाङका एक कांग्रेस नेताले भने, ‘२०७४ सालमा उहाँले कमिसन भन्दै १९ लाख रुपैयाँ माग्नु भएको थियो । साथीहरुले केही रकम दिए पनि, तर उहाँले योजना दिन सक्नु भएन । त्यसपछि रकम दिएकाहरुले फिर्ता माग्न थालेपछि यो घटना सार्वजनिक भयो ।’

कांग्रेस सांसद चौधरी दोस्रो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । हाल प्रतिनिधिसभामा उनी समानुपातिकबाट सांसद छिन् । दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमही घर भएकी उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment