२१ माघ, वीरगञ्ज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलियो प्रतिपक्ष बन्ने नाममा संसदको कुर्सी नभाँच्ने बताए । राष्ट्रिय मुद्धामा कांग्रेसले निरन्तर संसदमा आवाज उठाउँदै आएकोले कमजोर प्रतिपक्ष भन्ने आरोपमा सत्यता नभएको उनले बताए ।
प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसदीय व्यवस्थामा विश्वास गर्ने कांग्रेसले सरकारले चालेका गलत कदमको आवाज उठाउँदै आएको दावी गरे ।
विगत संविधानसभामा तत्कालिन नेकपा माओवादीले अर्थमन्त्री बजेट प्रस्तुत गर्न जाँदा अवरोध गरेको र कुर्सी भाँचेको स्मरण गर्दै भने ‘कांग्रेसले त्यो गरेन त्यसरी तुलना गरेर कांग्रेसलाई कमजोर भनेको हो कि ?’
नेता सिंहले अगाडि भने ‘होइन भने जति सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगका बारेमा जुन विधेयक आएको छ, संविधानको मर्म र भावना विपरीत छ भनेर सम्बन्धित समिति र संसदमा भनेका छौं ।’
उनले सरकारले जन चाहनाअनुसार काम गर्न नसकेको बताए । ‘उहाँहरु भाषण ठूला ठूला गर्नुहुन्छ । सुशासन, भ्रष्टाचारमा जिरो टोलरेन्सको कुरा गर्नुहुन्छ,’ नेता सिंहले भने ‘खै त त्यत्रो सुनकाण्ड, वाइडबडी काण्ड, अहिले आएर एती होल्डिङ्स काण्ड आएको छ । खै त जनतालाई चित्त बुझ्दो जवाफ दिएको ?’
सरकारले नागरिकलाई संघीयताको आभास दिन नसकेको, प्रदेश र स्थानीय सरकारलाई विश्वसमा लिन नसकेको दावी उनले गरे ।
पूर्वमहामन्त्री सिंहले जनतामा कांग्रेसको छवि राम्रो बन्न नसकेको भन्दै चौधौं महाधिवेशनपछि यसको अन्त्य हुने दावी गरे । ‘केन्द्रदेखि बुथ लेभलसम्म अनुशासित ढंगले अगाडि बढाउनुपर्छ भन्ने हाम्रो धारणा हो । १४ औं महाधिवेशनपछि पार्टीमा विद्यमान मतभेदको अत्य हुन्छ’ उनले भने ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाली कांग्रेसकै पालामा हस्ताक्षर भएको र विशुद्ध विकासका लागि आएको योजना भएकोले त्यसलाई संसदबाट चाँडो पारित गर्नुपर्ने सिंहले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4