Comments Add Comment

राष्ट्रपतिकी छोरी महिला संघको केन्द्रीय सदस्य

राष्ट्रपतिकी छोरी उषाकिरण बायाँबाट पहिलो ।

२१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महिलाहरुलाई समावेशीता होइन समानताको मुद्दा उठाउन आग्रह गरेका छन् । पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघको केन्द्रीय समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले महिलाका सबै माग पार्टीभित्रैबाट पूरा हुने बताए ।

ओलीले भने, ‘३३ प्रतिशत प्रतिनिधित्वको कुरा बाहिर गएर होइन पार्टीभित्रै छलफल गरेर पूरा हुन्छ । हामीले ३३ प्रतिशत समावेशी प्रतिधित्वको कुरा होइन समानताको कुरा गरेका छौं । कम्तीमा ५० प्रतिशत महिला नेतृत्वको कुरा गर्नुस् । तपाईहरुले समावेशी होइन समानताको मुद्दा उठाउनुस् सम्भव छ ।’

प्रधानमन्त्री ओलीले महिलालाई राष्ट्रपति र सभामुख बनाउने नेकपा एउटामात्रै पार्टी भएको भन्दै महिलाको समतामूलक प्रतिनिधित्व पार्टीले गराइरहेको बताए । महासचिव विष्णु पौडेलले ४७५ सदस्यीय महिला संघ केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई सपथग्रहण गराएका थिए ।

गोमा देवकोटा इन्चार्ज र अमृता थापा संयोजक रहेको ४७५ सदस्यीय अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा पूर्वएमाले पक्षबाट ५५ प्रतिशत र पूर्व माओवादी पक्षबाट ४५ प्रतिशत प्रतिनिधित्व रहेको केन्द्रीय सदस्य दीपा शर्माले बताइन् ।

यसैबीच जननेता मदनकुमार भण्डारी र राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी पनि अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा चयन भएकी छन् । पार्टीको भगिनी संगठनको केन्द्रीय समितिमा प्रतिनिधित्वसँगै नेकपामा मदन भण्डारी तथा विद्या भण्डारीको उत्तराधिकारीको औपचारिक प्रवेश भएको छ ।

राजनीतिशास्त्रकी विद्यार्थी उषाकिरण यसअघि तत्कालिन एमाले सम्बद्ध महिला संघको विदेश विभागमा रहेर काम गरे पनि पूर्ण रुपमा राजनीतिमा थिइनन् । विद्या भण्डारी राष्ट्रपति भएपछि उनी मदन भण्डारी फाउण्डेशनको अध्यक्ष छिन् ।

उषाकिरणलाई अखिल नेपाल महिला संघमार्फत पार्टीको केन्द्रीय राजनीतिमा स्थापित गर्न खोजिएको नेकपा स्रोतले जनाएको छ । भण्डारीले पनि मंगलबार सपथग्रहण गरेकी छन् ।

मदन भण्डारीको परिवारबाट राजनीतिमा स्थापित हुन लागेकी उषाकिरण पहिलो सदस्य हुन् । उनकी काकी उर्लाबारी नगरपालिका मोरङको उपमेयर छिन् भने मदन भण्डारीका भाइ प्रेम भण्डारी २ दशकअघि एमाले हुँदै मालेको राजनीतिमा लागे पनि पछिल्लो समय उनी सक्रिय राजनीतिमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment