Comments Add Comment

प्रदेश २ का सबै सांसदले अब ल्यापटप पाउने

खर्च र समय बचत गराउने उद्देश्य रहेको सभामुखको भनाइ

२२ माघ, जनकपुरधाम । प्रदेश २ का प्रदेश सांसदले अब ल्यापटप पाउने भएका छन् । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यले प्रदेशसभा सचिवालयले सबै सांसदलाई ल्यापटप प्रदान गर्ने भएको हो ।

ल्यापटप आइसकेको र केही दिनभित्रै सबैलाई वितरण गरिने सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन लागिएको उनले बताए ।

‘एउटा विधेयक कितावजस्तो हुन्छ । कम्तीमा १५० प्रति फोटोकाँपी गर्नुपर्छ,’ सभामुख यादवले अनलाइनखबरसँग भने, ‘कागज, मसी र पि्रन्टर गरी वर्षको ५ करोड त्यसमै खर्च भइरहेको अवस्था छ । त्यो खर्चलाई रोक्न पनि ल्यापटप दिन लागेका छौं ।’

सभामुख यादवका अनुसार अब सरकारको खर्चको बचत हुने र सबै सांसदले विधेयकमाथि लागेको कुरादेखि संशोधनसम्म ल्यापटपमै लेखेर सिधै इमेल गर्नेछन् ।

कुनै पनि विधेयक कागजी रुपमा अध्ययन गर्दै आएका प्रदेश २ का सांसदले अब ल्यापटपमै अध्ययन गर्ने भएका छन् ।

कागज, मसीको खर्चका साथै समयको बचत पनि गर्ने उद्देश्यले ल्यापटप वितरण गर्न लागिएको उनले बताए ।

स्वकीय सचिवले चलाउन सिकाउने

प्रदेश २ मा १०७ जना सांसद छन् । तीमध्ये धेरैलाई ल्यापटप चलाउन आउँदैन् । यद्यपि सभामुख यादवले चलाउन नआउनेलाई उनीहरुको स्वकीय सचिवले सिकाउने बताएका छन् ।

‘सबै जना माननीयलाई अधिकृतस्तरको स्वकीय सचिव दिइएको छ । उनीहरुको काम के ?’ सभामुख यादवले भने, ‘उनीहरुले सहयोग गरिदिनुपर्‍यो ।’

सभामुख यादवले एक वर्षअघि नै यस्तो गर्न खोजिए पनि विविध कारणले नसकेको बताउँदै प्रदेशसभा दोस्रो वर्ष पूरा गरेको अवसरमा सबै सांसदलाई ल्यापटप दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment