Comments Add Comment

कोरोनाले निम्त्यायो चीनसँग ‘नाकाबन्दी’को जोखिम !

२२ माघ, काठमाडौं । चीनबाट विभिन्न मालसामान काठमाडौंमा आपूर्ति गर्ने व्यवसायीहरु २ हप्तादेखि आफ्नो व्यापारलाई लिएर चिन्तित छन् । कारण हो, केरोनाका कारण आयातमा भएको मन्दी ।

चीनबाट कच्चा पदार्थ ल्याएर नेपालमा विभिन्न उद्योगधन्दा चलाइरहेकाहरु अहिले व्यापारिक संकट लम्बिने त्रासमा छन् । कोरोनाका कारण चीनबाट आउने सामानहरुमा अघोषित नाकाबन्दी जस्तै अवस्था सिर्जना भएको छ ।

माघको पहिलो हप्ता भारी हिमपातले केरुङतर्फको सडकमा पहिरो खस्दा रोकिएको आयात चीनमा फैलिएको ‘कोरोना’का कारण फेरि बन्द भएको छ । चीनले नाकाहरुमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै आयातलाई रोकेको छ ।

व्यवसायीका अनुसार चीनको बन्दरगाहमा नेपालका लागि आइसकेका करिब ३ देखि ४ सय कन्टेनर समान अडि्कएको छ । स्वास्थ्य संवेदनशीलताको कारण देखाउँदै चीनतर्फ आवातजावत रोकिएको छ । नेपालबाट सामान उठाउन कन्टेनरहरु समान लिन जान नै नपाएपछि लगभग नाका ठप्प भएको नेपाल राष्ट्रय व्यवसायी महासंघले जनाएको छ ।

आएको सामान लिन पनि रसुवागढीबाट पारी जान नसक्ने अवस्था आएपछि स्याउ लगायत कतिपय खाद्य तथा कृषिजन्य वस्तु त्यहीँ सड्ने अवस्थामा पुगेका छन् ।

एकातर्फ केरुङ आइपुगेका समान नछुट्दा समस्या भएको भने अर्कातिर चीनतर्फको परिस्थिति यति जटिल छ कि व्यवसायीले बजारमा अभाव हुन थालेका वस्तुहरु चीनबाट अर्डर पनि गर्न सकेका छैनन् ।

के-के आउँछन् चीनबाट ?

दैनिक उपभोग्य वस्तुमा नेपाल भारतपछि चीनमा बढी निर्भर छ । पेट्रोलियम पदार्थबाहेक अरु धेरै चिनियाँ उत्पादनहरु नेपाली बजारमा छ्याप्छ्याप्ती छन् ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालले चीनबाट वर्षमा २ खर्ब ५ अर्बको आयात गर्छ । मुस्किलले २ अर्बको निर्यात गर्छ । चीनसँग नेपालको गत आर्थिक वर्ष २०७५/७६मा मात्रै २ खर्ब ३ अर्बको ब्यापार घाटा थियो ।

यसअनुसार नेपालसँग चीनको ब्यापरिक कारोबार मुख्यरुपमा आयातमै निर्भर छ । फेसन आइटम, इलेक्टि्रोनिक्स एन्ड इलेक्टि्रकल सामान, सजावटका समान, खेलकुद तथा स्टेसनरीसम्बद्ध समानहरु, दूरसञ्चार उपकारण, खाद्यान्न र विभिन्न मेसिनरीहरु लगायत दर्जनौं आइटम चीनबाटै नेपाल आउँछन् ।

नेपाल ब्याग, कस्मेटिक, जुत्ता चप्पल, घडी, क्यामेरा, ब्याट्री, सोलार प्यानल, टेलिभिजन र पार्टस्, वेल्डिङ रड्स, आल्मुनियम स्क्रयाप, केमिकल, खेलौना, ग्लासवेयर, मेडिकल औजार तथा टुल्स, औषधि मेटल तथा काठका फर्निचर, कार्यालय सामाग्री तथा स्टेशनरी, अन्य मेसिनरी तथा पार्टस्, पाइप एन्ड पाइप फिटिङहरुमा पनि चीनमै निर्भर छ ।

यस्तै कच्चा उन, पोलिष्टर धागो, मसला पाउडर, जुत्ता/चप्पल, स्मार्ट कार्ड, मोबाइल तथा टेलिफोन, यातायात साधन तथा पार्टस्, टायर, ट्युब, सेरामिक, भाँडाकुडा, लसुन, स्याउदेखि पछिलो सयममा गुन्द्रुकसम्म चीनबाट आउन थालेको छ ।

चिनियाँ मालसामान अन्य देशका उत्पादभन्दा सस्तो हुन्छन् । ठूलो परिमाणमा औद्योगिक उत्पादन हुने भएकाले चीनका मालसामानको प्रयोग निम्न आयस्तरका सर्वसाधारणदेखि ठूला घरानाहरुसम्मले प्रगोग गर्छन् । मूल्य अनुसारको गुणस्तर दिन सक्ने र अविश्वसनीय मूल्यमा उत्पादन दिनसक्ने चीनको विशेषता नै हो ।

चीनका उत्पादनसँग प्रतिस्पर्धा गर्न अरु देशका उत्पादनलाई सहज हुँदैन । त्यसैले उपभोक्ताले अपेक्षित मूल्यमा आफ्नो बजेट खर्चिएर सामान किन्न सक्ने अवस्था हुन्छ ।

अहिले चीनमा उद्योगहरु पनि बन्द भएकाले उत्पादन, माग र आपूर्तिको चक्रमा परेको प्रभावले पनि नेपाली बजार प्रभावित हुन सक्ने अर्थविद अच्युत वाग्ले बताउँछन् ।

न अर्डर, न डेलिभरी

चीनको संकटका बाछिटा नेपालका बजारसम्म आइपुग्न थालेका छन् । संकटको अवस्था लम्बिए यसले भविश्यमा नेपाली उपभोक्तासहित अर्थतन्त्रलाई नै समस्या पर्न सक्ने अनुमान लगाइँदैछ ।

हिमालय सीमापार ब्यापार संघका अध्यक्ष डा. रुप ज्योती ठूलो परिमाणमा उपभोग्य वस्तुको आयात हुने गरेकाले चीनको संकटको असर नेपालमा देखिन धेरै समय नलाग्ने बताउँछन् ।

अहिले चीनमा समान बुकिङ, अर्डर र डेलिभरी गर्ने काम सबै बन्द रहेको उनले बताए । रोगको भयका कारण चीनमा आन्तरिक चहलपहल सुस्त हुँदा त्यसको असर नेपाली बजार पनि देखिन थालिसकेको ज्योतीले बताए ।

‘यस्तो संकट रहिरहे हामी चीनमा निर्भर वस्तुहरुको बजारमा अभाव सिर्जना हुन थाल्ने देखिन्छ,’ उनले भने,’लसुनको भाउ २५०बाट ५ सय रुपैयाँमा पुगिसक्यो, १ सय रुपैयाँको मास्क १ हजार भयो । अब अरु मालवस्तुमा पनि यस्तो असर देखिन सक्छ ।’

कोरोनाको संक्रमण थप फैलिए र वा यस्तो संकट लामो समयसम्म रहे बजार तथा उपभोक्ताले धेरै खालका समस्या भोग्नुपर्ने ज्योती बताउँछन् ।
अहिले चीनमा यातायात ठप्प छ । एउटा प्रान्तबाट अर्को प्राप्त जान दिइएको छैन । बजारहरु बन्द छन् । ब्यापारिक कार्यालयहरु पनि बन्द छन् ।
‘यस्तो अवस्था छ कि चीनमा सामान बुक तथा अर्डर गर्नर त्यसलाई नेपालसम्म ल्याउन सकिने अवस्था अहिले छैन,’ ज्योती भन्छन् ।

केरुङको समान छुटाउन माग

मुख्यरुपमा चीनबाट आएका मालसमान बेच्ने व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघ पनि चीनबाट आयात रोकिरहने अवस्था आएमा बजारमा तत्कालै विभिन्न समस्या देखिने बताउँछ ।

महासंघका अध्यक्ष नरेश कटुवाल चीनको केरुङ बन्दरगाहमा आईपुगेका समान नेपाल ल्याउन दिनुपर्ने बताउँछन् । त्यो समान ल्याउन सकिए एकदेखि ३ महिना बजारको चक्रमा खासै प्रभाव नपर्ने उनको दावी छ ।

‘केरुङमा रोकिएका सामानको भन्सार जाँचपपास गर्नुपर्छ, संक्रमण फैलाउने जोखिम भएका वस्तु रोक्नु उचित भए पनि फेसन तथा इलेक्टि्रक लगायतका जोखिम नरहेका वस्तु रोक्दा अप्ठेरो अवस्था आउँछ,’ उनले भने, ‘सरकारले यसका लागि तुरुन्तै पहल गर्नुपर्छ र रोकिएमा सामान छुट्ने अवस्था बनाउनुपर्छ ।’

सरकारले भने स्वास्थ्य सतर्कतालाई प्रातथमिता दिएको छ । तर, बजारमा साँच्चिकै अभावको अवस्था आएर त्यसको विकल्प खोजिने उदोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सहज अवस्था बन्नासाथ चीनसँगको कारोबार अघि बढिहाल्ने भएकाले अहिले नै आत्तिहाल्नुनपर्ने सरकारको तर्क छ ।

उद्योगसम्म असर

अहिलेसम्म कोरोनाको त्रासका कारण चीनका उद्योगहरु मात्रै समस्या । तर, निकट भविष्यमा नै नेपाली उद्योगले पनि समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ । नेपाली उद्योगमा विभिन्न औद्योगिक कच्चापदार्थको स्रोत मुलुक चीन नै हो । नेपालमा बन्ने जुत्ता चप्पलदेखि कुखुराको दानामा प्रयोग हुने कच्चापदार्थ चीनबाटै ल्याउनुपर्छ । त्यसैले ब्यापारमा मात्रै नभएर उद्योग क्षत्रेमा पनि कोरोनाका प्रभाव देखिने अवस्था सिर्जना भएको छ ।

नेपालमा बन्ने चाउचाउ, बिस्कुट, औषधी, रंग, सिमेन्ट लगायतका उत्पादनमा पनि चनियाँ कच्चापदार्थहरु प्रयोग हुन्छन् । लामो समयसम्म कोरोनाको संकट रहिरहे उद्योगहरु आन्तरिक उत्पादन कटौती गर्न बाध्य हुने उद्योगीहरु बताउँछन् ।

पूर्वअर्थ राज्यमन्त्रीसमेत रहेका ज्योति चीनको यस्तो संकटले नेपालको आन्तरिक अर्थतन्त्रमा अर्को धक्का दिन सक्ने बताउँछन् । आयात र आन्तरिक उत्पादन प्रभावित हुँदा राजस्वको असुली पनि घट्ने र आन्तरिक बजारमा उपभोग्य वस्तुको अभाव सिर्जना भएर मूल्य बढ्ने लगायतका असहज अवस्था आउन सक्ने उनको आँकलन छ ।

नेपालले के गर्ने ?

अर्थविदहरु यस्तो समयलाई चुनौतीका रुपमा मात्रै नभएर मौकासमेत ठानेर अघि बढ्न सरकारलाई सुझाव दिन्छन् । भारतीय नाकाबन्दीले दिएको अवसर सुदपयोग नगरेको सरकारले यसलाई पनि एउटा पाठका रुपमा लिएर अघि बढ्नुपर्ने उनीहरुको सुझाव छ ।

अर्थविद अच्युत वाग्ले चीनको संकटले उपभोक्ता बजारसँगै विकास निर्माण, पर्यटन र ब्यापारलाई मुख्य रुपमा प्रभावित गर्ने देखिएको बताउँछन् । चीनका ठेकेदारले काम गरिरहेका र उनीहरुले जिम्मा लिएका विभिन्न आयोजनामा दक्ष कामदार ल्याउन बाधा पर्ने देखिएको छ ।

‘पर्यटकको दोस्रो ठूलो स्रोत मुलुकको संकटले यहाँ असर पार्न थालिसकेको देखिन्छ, छिटै संकट समाधान भएन भने नेपाली उपभोक्ताले आफ्नो बजेट अनुसार जसरी चिनियाँ समान छनोटको विकल्प पाएका छन्, त्यो अवस्था अन्त्य भएर महंगीको मारमा पर्न सक्ने जोखिम पनि छ,’ वाग्ले भन्छन् ।

नेपालले धामधम आयोजनाहरुमा जडानमा लागि चीनबाट ल्याउनु पर्ने मेसिन तथा उकपरणको आयात प्रक्रिया पनि प्रभावित भएको छ । यसले विकास आयोजनामा पनि प्रभाव पर्ने तर्क गर्छन् नेपाल नागरिक उड्डयन प्राधिरकणका निर्देशक प्रदीप अधिकारी ।

यस्ता कारणले विकास खर्च पर्याप्त नहुने र बजारमा आर्थिक तरलतामा संकट उत्पन्न हुने जोखिम छ । यसबाट समग्र अर्थतन्त्र नै दुष्प्रभावमा पर्ने आँकलन विज्ञहरुको छ ।

अर्थविद तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री कोरोनाको संक्रमणका कारण बजारको आपूर्ति व्यवस्था प्रभावित भइरहे त्यसको विकल्प खोज्दा नेपाल र नेपालीको व्ययभार बढ्ने बताउँछन् ।

अर्थतन्त्रमा एक किसिमको ‘आँधीबेहेरी’ आउन सक्ने भन्दै उनले सरकारले यो परिस्थितिलाई आन्तरिक उत्पादन बढाउने मौकाका रुपमा प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

‘संकट गहिरियो भने नेपालमा अर्को तुफान आउँछ, चीनबाट आउने वस्तुको अभावलले सिर्जति भ्याकुममा विभिन्न देशबाट उत्पादनहरु ल्याउन थालेपछि त्यसका विभिन्न असरहरु देखा पर्न थाल्छन्,’ क्षेत्रीले भने, ‘चीनका उत्पनादनहरु नेपालका बजारका लागि जति सहज र सुलभ रुपमा उपलब्ध छ त्यो परिस्थिति नहुन सक्छ । अहिले नै नराम्रो असरबाट बच्ने उपाय खोज्नुपर्छ ।’

पूर्व अर्थ राज्यमन्त्री ज्योति चीनले विस्तारै कोरोना नियन्त्रण गर्दै लगेकाले आशावादी हुनुपर्ने बताउँछन् ।

‘संक्रमण र यसको त्रास फैलिने क्रम रोकिएर चीनको बजार जनजीवजन छिट्टै पुरानो अवस्थामा फर्किने आशा गरौं,’ उनी भन्छन्,’नेपालले पनि यसले पर्न सक्ने नकारात्मक असरको मूल्यांकन गरेर पूर्वतयारी थाल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment