
शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘साङ्लो’लाई लिएर नायिका निकिता चण्डकमा उत्साह र डर दुबै छ । यही चलचित्रबाट यो क्षेत्रमा प्रवेश गर्दै गर्दा निकिताका लागि अवसर र चुनौती थुप्रै छन् ।
निकितालाई चलचित्रको अफर त, ‘मिस नेपाल’ भैसकेपछि नै आउन थालेको हो । उनी भन्छिन्–‘मलाई चलचित्रको अफर श्रृङ्खलाजी मिस नेपाल हुनुभुन्दा २–३ महिना अगाडिबाट नै आउन थालेको थियो । त्यो बेलामा एक जना नाम चलेको कलाकारसँग पनि मलाई अफर आएको थियो । म, उनको छायामा पर्छु कि भनेर डराएकी पनि थिएँ ।’
तर, विराजको स्टारडमको छायामा पर्छु भन्ने डर आफूलाई कहिले पनि नभएको निकिताले बताइन् । अनलाइनखबरसँग कुरा गर्दै निकिताले भनिन्–‘विराजको चलचित्रबाट अफर आउँदा मलाई छायामा पर्छु भन्ने डर थिएन । मलाई उहाँको चलचित्र र उहाँबाट धेरै कुरा सिक्छु भन्ने लागेको थियो । उहाँको अनुभवबाट मैले अभिनयमा धेरै कुरा सिकेकी छु । र कतै न कतै मैले पनि राम्रो गर्ने कोशिश गरेको छु ।’
निकितामा चलचित्रप्रतिको मोह ‘मिस नेपाल’ हुनुभन्दा अगाडिदेखि नै सुरु भएको हो । उनका अनुसार, ‘मिस नेपाल’को अवसर त अचानक आएको थियो । तर, मिस नेपाल भैसकेपछि यो क्षेत्रमा प्रवेश गर्न सजिलो भएको निकिता स्विकार गर्छिन् ।
उसो त, निकिताले अभिनय गरेको पहिलो चलचित्र ‘साङ्लो’ भने होइन । उनले चलचित्र ‘रानी महल’बाट डेब्यू गर्ने तयारी गरेकी थिइन् । यो चलचित्रको करिब ४० प्रतिशत छायांकन पनि सकिएको थियो । तर, आन्तरिक विवादमा कारण यो चलचित्र बन्न सकेन ।
निकिता भन्छिन्–‘मलाई मेरो डेब्यू चलचित्र ‘साङ्लो’ हो भन्दा खुशी लाग्छ । तर, मैले रानी महलबाट पनि धेरै कुरा सिकेकी छु । जुन कुरालाई मैले ‘साङ्लो’मा प्रयोग गर्ने कोशिश गरेकी छु ।’
तस्वीरः चन्द्र आले
प्रतिक्रिया 4