Comments Add Comment

चीनलाई नरुचाउनेहरुले कोरोनाबारे गलत प्रचार गरे : प्रचण्ड

'बाँसुरीबारे अर्को अर्थ नखोज्नुहोला'

२२ माघ, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबारे अनावश्यक प्रचार भएको टिप्पणी गरेका छन् । प्रचण्डले यथार्थभन्दा बढी अनैतिक हिसाबले गलत प्रचार भइरहेको बताएका हुन् ।

‘मैले हिजो यस्तो तर्कमात्र गरेको थिएँ । चीन सरकारले वक्तब्य नै निकालेछ । पश्चिमा शक्तिले अनावश्यक प्रचार गरेर अनैतिक काम भएको, गलत ढंगले बढी प्रचार गरियो भनेर चीनले भनेको छ ।’

भ्रमण वर्षको सुरुआतमै दाँतमा ढुंगा लागेजस्तो भएको बताउँदै प्रचण्डले नेपाल भने त्रसित हुनुपर्ने अवस्था नरहेको, तर सतर्क हुनुपर्ने बताए । ‘कोरोना भाइरस अत्यन्त छिटो फैलिएको र मान्छेहरुको मृत्यु भएको समाचार आएपछिको असर विश्वव्यापी रुपमै परेको छ,’ पोखरामा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘हाम्रा निम्ति खुसीको कुरा के भने नेपालमा एउटा पनि कोरना भाइरसबाट संक्रमित भएको मान्छे छैन ।’

एमसीसी कार्यदलको प्रतिवेदन हुबहु पास हुँदैन

प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन हुबहु कार्यान्वयन नहुने बताएका छन् ।
राजनीतिक र जनताको दुबै तहमा छलफल भइरहेको एमसिसीका विषयमा जनतालाई बुझाउन अध्ययन कार्यदल गठन भएको बताए ।

ठाडै अस्वीकृत र समर्थनभन्दा पनि जनतालाई बुझाउनुपर्‍यो भन्ने केन्द्रीय समितिको बैठकमा पनि उठेकाले राष्ट्रको हितमा हुने गरी एससिसी पारित हुने उनको भनाइ थियो ।

‘छोटो समय दिएर सबैले बुझ्ने गरी १० दिनभित्र प्रतिवेदन तयार पार्न झलनाथ खनालको नेतृत्वमा काम अगाडि बढिसकेको छ । १० दिनभित्र प्रतिवेदन आइसकेपछि जे ल्यायो त्यही पास हुन्छ भन्ने होइन,’ उनले भने, ‘अध्ययन कार्यदलले सचिवालयमा पेश गरेपछि पार्टीले निर्णय गर्ने हुन्छ । जे ल्याए पनि त्यसैलाई मान्यता दिने काम हुँदैन । त्यसैलाई आधार बनाएर अगाडि बढ्छ ।’

पहिले एमसीसीको विपक्षमा रहेका प्रचण्डले सभामुख पद आफूले रोजेको व्यक्ति पाएपछि बोल्न छाडेकोबारे पत्रकारले उठाएको प्रश्नमा उनले कुनै पदसँग यो विषय नसाटिएको बताए ।

राष्ट्रको हितमा कसरी बनाउन सकिन्छ भनेर छलफल गर्ने भनिएको बताउँदै प्रचण्डले कुनै पदसँग साटिएको भनेर बुझ्नु गलत हुने उनको भनाइ थियो ।

केन्द्रीय समिति बैठकले भावनात्मक अन्तरघुलन

प्रचण्डले केन्द्रीय समितिको बैठकले भावनात्मक अन्तरघुलन गराएको बताए । ४ सय ५० जना केन्द्रीय सदस्यमा सबैले सबैलाई चिन्ने अवस्था नरहेका बेला छलफलले राम्रो अन्तरघुलन र भावनात्मक एकताको आधार तयार भएको उनको भनाइ थियो ।

‘५ दिनसम्म बैठक बसेर सर्वसम्मत रुपमा निश्कर्ष निकालियो,’ प्रचण्डले भने, ‘सबै विषयमा सर्वसम्मतको निर्णय आउनु धेरै नै सकारात्मक परिघटना हो ।’

राष्ट्रिय सभाको निर्वाचन भएपछि पार्टी एक्लै दुईतिहाई बहुमतको अवस्थामा पुगेको प्रचण्डले बताए । ‘पहिले भन्थ्यौं, दुईतिहाईको नजिकै । अर्को कुनै पार्टी समेल भएपछि दुईतिहाई भयो,’ प्रचण्डले भने, ‘अब कोही सामेल नभए पनि दुई तिहाईको अवस्थामा पुग्यौं ।’

जनतासँग जोडिएर पार्टीलाई जीवन्त बनाउने ३ महिने अभियान गर्न लागेको उनले बताए । ‘३ महिना अभियान पारित भएको छ । त्यही अभियान लिएर सरकार र जनताबीचको सम्बन्ध जोड्ने गरी जाँदैछौं,’ प्रचण्डले भने, ‘पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा पनि र सरकारलाई प्रभावकारी बनाउन र सरकारका मान्छेहरुले कमीकमजोरी गरे भने उनीहरुलाई नियन्त्रित र नियमन गर्न पनि पार्टीले पहल बदमी लिन्छ ।’

सरकार र पार्टीबीच कतै असमझदारी छ कि भन्ने भ्रम पनि केन्द्रीय समितिको बैठकले अन्त्य गरिदिएको उनको भनाइ थियो ।

बाँसुरीबारे अर्को अर्थ नखोज्नुहोला

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले मंगलबार बालुवाटारमा आयोजित कार्यक्रममा बाँसुरी बजाउनु संयोगमात्र भएको बताए ।

‘हिजो बिहान म बालुवाटारमा थिएँ । प्रधानमन्त्रीले तपाईं बस्नैपर्‍यो भन्नुभयो । मैले त पोखरा जाने कार्यक्रम बनाइसकें, बस्न नसक्ने भएँ भने । उहाँले तपाईं आउनैपथ्र्यों मैले विशेष ढंगले सोच्याँथें भन्नुभएको थियो,’ प्रचण्डले भने, ‘त्यसैले यो संयोगबाहेक केही होइन, अर्को कुनै अर्थ नखोज्नुहोला दुख हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment