Comments Add Comment

विश्वकप लिग २ : हारबाट नेपालको सुरुवात

२२ माघ, काठमाडौं । घरेलु मैदानमा पहिलो एकदिवसीय क्रिकेट श्रृङ्खला, अनि खेल हेर्न हजारौँ दर्शकको उपस्थिति । सन् २०२३ को रोडम्यापको रुपमा रहेको क्रिकेट विश्वकप लिग २ को पहिलो खेल खेल्नुअघि खेलाडीदेखि दर्शकसम्म उत्साही थिए ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र ओमानका कप्तान जिसान मक्सुद टसका लागि मैदानको बीच भागमा पुगेर टस भएपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानले ओडीआई मैदानको मान्यता पायो ।

सन् २०१८ मा चार वर्षका लागि ओडीआई मान्यता पाएको नेपालले झण्डै दुई वर्षपछि घरेलु मैदानमा पहिलो ओडीआई सिरिज खेल्यो । यता विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज घरेलु टोली नेपालले भने हारबाट शुरु गरेको छ । बुधबार टीयू मैदानमा भएको खेलमा नेपाल १८ रनले पराजित भयो ।

घरेलु मैदान अनि घरेलु दर्शकको राम्रो साथ पाए पनि नेपालका खेलाडीले मैदानमा ओमानलाई पराजित गर्न सकेनन् । यसको अर्थ नेपाल लगातार तेस्रो सिरिजमा पहिलो खेलमा पराजित भएको छ ।

नेदरल्याण्ड्सविरुद्धको पहिलो सिरिजमा पनि नेपाल पहिलो खेलमा पराजित भएको थियो । दोस्रो खेल १ रनले जित्दै नेपालले पहिलो सिरिज बराबरी गरेको थियो । एक वर्षअघि युएईमा भएको नेपालको दोस्रो ओडीआई सिरिजमा पनि नेपाल पहिलो खेलमा हारेको थियो । तर पुनरागमन गर्दै बाँकी दुई खेल जितेर नेपालले तीन खेलको सिरिज जितेको थियो । त्यो नेपालको पहिलो ओडीआई सिरिज जीत थियो ।

यस पटकको सिरिज भने सिरिजमात्र नभएर विश्वकप छनोटका लागि पनि महत्वपूर्ण छ । विश्वकप छनोटका लागि आईसीसीले नयाँ संरचना लागु गरेपछि नेपालले विश्वकप लिग २ मा पनि ओमानविरुद्ध खेल्दै डेब्यु गरेको छ । नेपाल र ओमानसंगै अमेरिका सम्मिलित सिरिज माघ २९ गतेसम्म चल्नेछ । नेपालले अझै ओमानसंग एक र अमेरिकासंग दुई खेल खेल्न बाँकी छ । त्यसैले पनि पहिलो सिरिजमा राम्रो गर्न सक्ने सम्भावना बाँकी नै छ ।

७ राष्ट्र सहभागी यस सिरिजमा नेपाले पहिलो खेल हारे पनि अंक तालिकामा पपुवा न्यूगिनी भन्दा अघि छ । पपुवा न्यूगिनीले अहिलेसम्म खेलेको सबै ८ खेल हारेको छ । यही सिरिज खेल्न आएको अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने आजको जीतपछि १० अंक जोड्दै ओमान दोस्रो स्थानमा उक्लेको छ ।

अब कुरा खेलकै

नेपाल र ओमानबीच खेल हुँदा कुनै समय यस्तो थियो जीतखेर खेल कुनै पनि टिमको पक्षमा जान सक्ने अवस्था थियो । ओमानका प्रशिक्षक दुलिपन मेन्डिसले पनि त्यही भने । कुनै बेलाको अवस्था हेर्दा खेल जता पनि जान सक्थ्यो । तर ओमानको खेलाडीले राम्रो प्रदर्शन गर्दै दुलिपलाई पनि जीतको स्वाद चखाए ।

कुनै पनि टिमको घरेलु दर्शकअघि खेल्नु पक्कै सजिलो हुदैन । तर टीयू मैदानमा उपस्थित करिब ८ हजार दर्शकसामु ओमानी खेलाडीले पनि खेलेर खेले । उनीहरुलाई पनि दर्शकले समर्थन गरे । त्यसमा उनीहरुले पनि दर्शकलाई सम्मान जनाए । खेलपछि ओमानका कप्तान जिसम मक्सुद र म्यान अफ दि म्याच बनेका मुहम्मद नदिमले पनि माने नेपाली समर्थकले राम्रो समर्थन गरे ।

दुई अर्धशतक ती खेलाडीको ओडीआई डेब्यु अनि एक खेलाडीको ४ विकेट । यस्तै दुई अर्धशतकीय साझेदारी । यी विशेषता भएको खेलमा ओमानले ब्याटिङ र बलिङ दुवैमा नेपाललाई पछि पार्‍यो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय लिए । ओमानले पहिले ब्याटिङ गर्दै पुरै ५० ओभर खेल्यो जसमा ९ विकेट गुमाएर १९७ रन बनायो । टीयू मैदानमा नेपालको लागि यो ठीकैको लक्ष्य थियो । एक दिनअघि राष्ट्रिय टिमका पूर्व स्पीनर सन्जम रेग्मीले ओमानविरुद्ध १५० पनि चेस गर्न गाह्रो हुने बताएका थिए । तर १९८ रनको लक्ष्य पछ्याउँदा नेपालले १७९ रन त बनायो तर १९ बल अगावै अलआउट भयो । सीधा हेर्ने हो भने ओमानले धेरै रन बनाउनुका साथै धेरै विकेट पनि लियो ।

ओमानका लागि मुहम्मद नदिमले अविजित रहँदै सर्वाधिक ६९ रन बनाए । नेपालका लागि अर्धशतक बनाएका शरद भेषावकरले ५५ रन जोडे । यसमा पनि ओमानकै खेलाडी रहे ।

व्यक्तिगत धेरै विकेट भने नेपालका करण केसीले लिए । उनले ४ विकेट लिए । यसै खेलमार्फत ओडीआईमा डेब्यु गरेका नेपाली स्पीनर सुशन भारीको लागि भने डेब्यु खेल व्यक्तिगत रुपमा यादगार बन्यो । उनले डेब्यु विकेटका लागि ओमानका कप्तान जिसन मक्सुदलाई आउट गरे । यस्तै आफ्नो १० ओभर कोटामा सुशनले १ मेडन राख्दै १४ रन मात्र खर्चेर ३ विकेट लिए ।

ओमानको लागि भने कप्तान मक्सुदले नै सर्वाधिक ३ विकेट लिए । त्यसका लागि उनले १० ओभर बलिङ गर्द २ मेडन राखेर ३० रन खर्चिए । यस्तै बिलाल खान र कलिमुल्लाहले २-२ विकेट लिए ।

खुशी र सन्दीपको ब्याटिङ

यी खेलाडीबाहेक खेलका ओमानका नसिम खुशी र नेपालका सन्दीप लामिछानेले पनि लोअर अर्डरमा उत्कृष्ट ब्याटिङ गर्दै खेललाई रोचक बनाए । दुवै खेलाडीले नवौं नम्बरमा ब्याटिङ गरे अनि समान २८ रन बनाए । खुशीको रन काम लाग्यो । सन्दीपले नेपाललाई जीतसम्म पुर्‍याउन सकेनन् । खासमा सन्दीप नेपालका मुख्य बलर हुन् ।

तर घरेलु मैदानमा पहिलो ओडीआई खेल्दा उनले १० ओभरमा ४५ खर्चे पनि विकेट लिन सकेनन् । त्यसको क्षतिपूर्तिस्वरुप नै सन्दीपले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे । उनले ओमानका कप्तान जिसम मक्सुदको बलमा खावर अलीको हातबाट क्याचआउट हुनुअघि २७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि ओमानका नसिम खुशीले १८ बल मात्र खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेका थिए ।

लोअर अर्डर चम्कँदा दुवै टिमको टप अर्डल फेल भयो । दुवै देशका ओपनरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओमानका जितनदर सिंह ४ र खाबर अली ५ रनमा आउट भए । दुवैको विकेट नेपालका करण केसीले लिए । करणले खेलको अन्तिमतिर पनि २ विकेट लिँदै आफ्नो ९ ओभर स्पेलमा ४७ रन खर्चेर ४ विकेट लिएका हुन् ।

यता नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्काले ओपनिङ गरेका थिए । शुरुको दुई ओभरमा नेपालले रन जोड्न सकेन । ज्ञानेन्द्र १ र पारस ३ रन बनाएर आउट हुँदा नेपाल शुरुमै धर्मराएको थियो । तर शरद भेषावकर र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६० रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए । नेपालको पुरानै रोगको रुपमा रहेको ओपनिङ यस पटक पनि चल्न सकेन ।

कप्तान ज्ञानेन्द्र मल्लले पनि शुरुवात राम्रो हुन नसकेको स्वीकारे । ‘हाम्रो शुरुवात राम्रो हुन सकेन । बीचमा ३ विकेट जसरी गुमायौं त्यसले असर गर्‍यो । शरदको विकेट महत्वपूर्ण थियो’ मल्लले भने । कप्तान मल्लले डेब्यु गरेका सुशन भारीले उत्कृष्ट बलिङ गरेको र सन्दीप लामिछानेले राम्रो ब्याटिङ गरेको बताए ।

यस्तै ओमानका कप्तान जिसन मक्सुदले सबै खेलाडीले राम्रो खेलेकोले जीत सम्भव भएको प्रतिक्रिया दिए ।

लिग २ मा बिहीबार ओमानले अमेरिकासंग खेल्नेछ । नेपालले भने अब दुई दिन रेस्ट पाउनेछ । नेपालले दोस्रो खेल शनिबार अमेरिकासंग खेल्नेछ भने आइतबार ओमानसंग दोस्रो खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment