Comments Add Comment

बार्सिलोना र रियल मड्रिड क्वाटरफाइनलबाटै बाहिरिए

२४ माघ, काठमाडौं । दुई स्पानिस जायन्ट क्लब बार्सिलोना र रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । बिहीवार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक विल्वाओसँग र रियल मड्रिड रियल सोसिडाडसँग पराजित भएको हो ।

यस्तै भ्यालेन्सिया ग्रानाडासँग पराजित हुँदा भियारियाल दोस्रो श्रेणीको मिरान्डासँग पराजित भयो ।

एथ्लेटिक विल्वाओले घरेलु मैदानमा बार्सिलोनालाई १-० ले हरायो । एथ्लेटिकले इन्जुरी समयमा गोल गर्‍यो ।

यस्तै हाल स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको मड्रिड सोसिडाडसँग ४-३ ले पराजित भयो । रियलको घरेलु मैदानमा सोसिडाडले कुनै समय ३-० को अग्रता बनाएको थियो ।

रियलबाटै लोनमा गएका मार्टिन ओडेगार्डले २२ औं मिनेटमा सोसिडाडका लागि पहिलो गोल गरे । अलेक्जान्डर आइज्याकले ५४औं र ५६औं मिनेटमा गोल गरेपछि सोसिडाडले ३-० को अग्रता बनायो । रियलका लागि मार्सेलोले ५९औं मिनेटमा पहिलो गोल गरे ।

तर ६९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै सोसिडाडलाई ४-१ को अग्रता दिलाए । ८१औं मिनेटमा रोड्रिगोले रियलका लागि दोस्रो गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरे । इन्जुरी टाइमको तेस्रो मिनेटमा नाचोले गोल गर्दै खेल ४-३ को अवस्थामा पुर्‍याए । तर रियलले हार टार्न सकेन ।

सोसिडाडका एन्डोनी गोरोसाबेल इन्जुरी टाइममा रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

बार्सिलोना र रियल नै पराजित भएपछि कोपा डेल रे मा २०१० पछि यी दुई ठूला क्लब फाइनलमा नहुने भएका छन् । २०१० मा सेभिया र एथ्लेटिको मड्रिड फाइनल पुगेका थिए । त्यसयता रियल र बार्सिलोनामध्ये कुनै एक क्लबले फाइनल खेल्दै आएका थिए । बार्सिलोना सर्वाधिक ३० पटकको च्याम्पियन समेत हो ।

यस्तै ला लिगाकै क्लब भियारियाल मिरान्डासँग ४-२ ले पराजित भयो । त्यसअघि भ्यालेन्सिया ग्रानाडासँग २-१ ले पारजित भएको थियो । भ्यालेन्सिया साविक विजेता समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment