+
+
Shares

बजारमा मास्क पाइन छाड्यो, कोरोनाका नाममा कालोबजारी !

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७६ माघ २६ गते १९:५९

२६ माघ, काठमाडौं । एकताका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मास्क लगाइरहनु नपर्ने बताएका थिए । यसै साता नेपाल सरकारले कोरोना भाइरस पीडित चीनलाई एक लाख थान मास्क सहयोग स्वरुप हस्तान्तरण गर्‍यो । तर, अहिले काठमाडौंमा मास्कको हाहाकार भएको छ । बजारमा मास्क सकिएको भन्दै व्यापारीले साधारण मूल्यभन्दा ८ देखि १० गुणा बढी मूल्य उपभोक्तासँग ठटाउन थालेका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अहिले त्यसैको बाहानामा नेपाली बजारमा समेत बजारमा मास्कको चरम अभाव भएको हो । किन्ने नै भए ‘ब्ल्याक मार्केट’मा मात्र पाइन्छ । तपाईंले २० रुपैयाँको एउटा मास्कलाई २ सय रुपैयाँसम्म तिर्नुपर्ने हुन सक्छ ।

औषधि व्यवसायीहरुका अनुसार बजारमा पाइने विभिन्न थरीका मास्कमध्ये सबैजसो मास्कको अभाव छ । नेपालमै बन्ने कपडाको साधारण मास्कदेखि पेपर मास्क र विदेशबाट आयात हुने प्रोटेक्टिभ एवं मेडिकल मास्कसम्म सबैखाले माक्सको अभाव देखिएको छ ।

औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार ९५ प्रतिशत मास्क भारत र चीनबाट आउँछ । अध्यक्ष श्रेष्ठ भन्छन्- संकटलाई मौका बनाएर कमाउ धन्दामा कोही पनि लाग्नुहुँदैन, कालोबजारी गरेमा संघको सदस्यता खारेज गर्छौं ।’

फुटपाथमा बेचिने कपडाको मास्क पनि हत्तपत्त भेटिन छाडेको छ । होलसेलबाटै महंगोमा आएको दाबी साना ब्यापारीले गरिरहेका छन् भने होलसेलरहरुले मास्क नै मौज्दातमा नरहेको दाबी गरिरहेका छन् ।

औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार ९५ प्रतिशत मास्क भारत र चीनबाट आउँछ । ५ प्रतिशत हाराहरीको मास्क मात्रै नेपालमा उत्पादन हुन्छ । उनका अनुसार भारत र चीनबाट अहिले मास्कको आयात ठप्प छ । अझ रोचक कुरा त के छ भने चीनबाट आएका मास्क चीन नै फर्किन थालेको छ ।

चीनतिरै फर्किँदै मास्क

नेपालमा बस्ने चिनियाँहरु नै होलसेलर र खुद्रा विक्रेता -मेडिकल) सम्म भएजति मास्क उठाउँदैछन्, त्यो पनि बजारको मूल्यभन्दा दशौं गुणा बढी तिरेरै ।

उनीहरुले यस्तो मास्क चीन फर्किने यात्रुलाई मात्रै हैन, कुरियर गरेर चीनमा पठाइरहेका छन् । चीनमा मास्क किन्न नै नपाउने अवस्था आएपछि चिनियाँहरुले नै मेडिकलबाट मास्क उठाइरहेको जानकारी प्राप्त भएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

कोरोनाको संक्रमणको त्रास फेलिएपछि जनवरी ३० तारेखबाट भारतले पनि मास्क निर्यात रोकेको छ । जसले गर्दा भन्सारमा आइपुगेका मास्क पनि भारतले जाँच पास गरेको छैन ।

चीनबाट मास्क आउन छाडेका अवस्थामा भारतबाट आउने मास्क पनि रोकिएपछि मास्कको मूल्य बजारमा आफूखुसी निर्धारण हुँदैछ । प्रतिगोटा २५० रुपैयाँमा बिक्ने प्रोटेक्टिभ मास्क (एन ९५)को मूल्य अहिले १ हजार रुपैयाँसम्म पुगेको ब्यापारीहरु बताउँछन् । ११० रुपैयाँ होलसेल दरमा विक्री हुने पेपर मास्क (डिस्पोजेबल मास्क) को एक बट्टाको मूल्य ५ सय रुपैयाँ नाघेको छ । यसले गर्दा ५ रुपैयाँ प्रतिगोटामा बिक्ने पेपर मास्क १० रुपैयाँभन्दा बढीमा बिक्री वितरण हुँदैछ ।

बजारमा मौज्दात रहेको मास्कको मूल्य मनलाग्दी तवरले वृद्धि गर्न साना ठूला दुबै व्यापारीको भूमिका देखिएको छ ।

संघका अध्यक्ष श्रेष्ठ धेरैजसो व्यवसायीसँग मास्क नै नभएको बताउँछन् । कतिपयले कालोबजारी गरेको सूचना आएको भन्दै उनले आफ्ना सदस्यहरुलाई त्यसो नगर्न आग्रह गरिएको बताए ।

‘कालोबजारी गरेमा संघको सदस्यता खारेज गर्छौं,’ उनले भने, ‘यस्तो संकटलाई मौका बनाएर कमाउ धन्दामा कोही पनि लाग्नुहुँदैन । यथोचित नाफा राखेर बेच्नुपर्छ भनेर स्पष्ट रुपमा भनेका छौं ।’

उनले अब तेस्रो देशबाट मास्क ल्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरिएको बताए । भारत चीनबाट आयात नभएको अवस्थामा नेपालको मात्रै उत्पादनले नधान्ने भएकाले तेस्रो मुलुकबाट मास्क ल्याउनुपर्ने श्रेष्ठ बताउँछन् ।

मौन छ सरकार

मास्कमा कालोबजारी मौलाइरहँदा सरकार भने हस्तक्षेपकारी भूमिका खेलेको छैन । औषधि व्यवस्था विभाग माक्समा भएको भनिएको कालोजारी आफूले हेर्न नमिल्ने बताउँछ । विभागमा महानिर्देशक नरायणप्रसाद ढकाल एकै व्यक्तिलाई ठूलो संख्यामा मास्क नबेच्न मेडिकलहरुलाई भनिएको बताउँछन । तर, कालोजारी गरेको भए त्यसको नियन्त्रण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्नुपर्ने उनको भनाइ छ ।

‘हामीले उपभोक्ता हित संरक्षण विभागलाई अनुरोध गरेका छौं,’ ढकालले भने,’विभागले गर्ने अनुगमनमा हामी पनि सघाउँछौं ।’

उपभोक्ता हित संरक्षण विभागले भने औषधि व्यवस्था विभागसँग मास्कबारे जानकारी राख्ने व्यक्तिलाई अनुगमन टोलीमा राख्न औषधि व्यवस्था विभागसँग नाम मागिएको बताउँछ ।

विभागका महानिर्देशक नेत्रप्रसाद पौडेल आन्तरिक बजारमा उपलब्ध मास्क कसरी बिक्री वितरण भइरहेको छ भनेर हेर्न लागिएको बताउँछन् । त्यसका लागि छिट्टै अनुगमन टोली बजार अनुगमनमा जाने उनले बताए ।

‘छिमेकी मुलुकका व्यक्तिहरुले मास्क लैजानुभयो भन्ने छ, हामीले मानवीयताको हिसावले पनि उहाँहरुलाई मास्क लैजान बोक्न सक्दैनौं,’ उनले भने, ‘तर बजारमा उपलब्ध मास्क बिक्री वितरण गर्दा मूल्य बढाउनुपर्ने आधार केही पनि छैन । त्यसैले बजारमा खास अवस्था के हो हेर्छौं ।’

उनले नेपालमा मास्क उत्पादन गर्ने उद्योगहरुलाई उत्पादन बढाउन पनि आग्रह गर्ने बताए ।

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?