Comments Add Comment

नेपाली मूलका ओमानी क्रिकेटर सुरज भन्छन्- काठमाडौंमा खेल्दा उत्साहित छु

काठमाडौं । उनी नेपाली मज्जाले बोल्छन् । तर काठमाडौं पहिलोपटक आएका हुन् । नेपाली मूलकै हुन् तर अर्कै देशका लागि क्रिकेट खेल्छन् । पहिलोपटक काठमाडौं आएर टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्दा उनले छुट्टै स्वाद पाए । धेरै क्रिकेट समर्थकका अगाडि खेल्न पाए । निकै रमाइलो मानिरहेका छन् यी खेलाडी ।

तर नेपालमा उनको पहिलो खेल सुखद् भने हुन सकेन । उनी डक आउट भए । उनी हुन् नेपाली मूलका क्रिकेटर सुरज कुमार । जो हाल ओमानको राष्ट्रिय क्रिकेट टिमबाट खेल्छन् । भारतमा जन्मिएका सुरजका आमा र बुवा नेपालका हुन् ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजले सुरजको नेपाल आगमन जुराएको हो । त्यही सिरिज खेल्न अहिले ओमान र अमेरिकी टिम नेपालमा छ । सुरज पनि ओमानी टिमसँगै नेपाल आएका हुन् ।

सुरजका लागि नेपाली समर्थकले हुटिङसमेत गरेका थिए । ओमानले नेपाल आएर दुई खेल खेलिसकेको छ । तर पहिलो खेलमा भने सुरजले रन जोड्न सकेनन् । उनलाई नेपालका सुशन भारीले कप्तान ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराएका थिए । सुरजले रन नजोडे पनि ओमानले पहिलो खेलमा नेपाललाई १८ रनले हरायो । नेपालविरुद्ध उनले पारस खड्का र सुशन भारीलाई आउट गर्न क्याच भने लिएका थिए । यस्तै दोस्रो खेलमा अमरिकाविरुद्ध ६ विकेटको जितमा सुरजले नै विजयी रन प्रहार गरे । उनले अविजित ३३ रन बनाए ।

पछिल्लो समय क्रिकेट विकास गरिरहेको ओमानको एक हिस्सा बनिरहेका छन् सुरज ।

नेपालमा आएर पहिलो पटक खेल्दा उत्साहित सुरज पिचको भिन्नताले गर्दा पहिलो खेलमा चाँडै आउट भएको स्वीकार्छन् । ‘ओमानको पिच फ्ल्याट हुन्छ तर नेपालमा बल घुम्ने रहेछ,’ सुरजले अमेरिकाविरुद्धको खेलमा जित हात पारेपछि भने, ‘हिजोको खेलले पनि पाठ सिकायो । हिजोको गल्ती फेरि नगर्ने सोचेको थिएँ । त्यसैले विकेटमा समय लिएर खेलेँ ।’

अमेरिकाविरुद्ध सुजरले ३५ बल खेल्दै ३३ रन बनाए । उनले २ चौका र १ छक्कासमेत प्रहार गरे । उनले पाँचौं विकेटका लागि म्यान अफ दी म्याच बनेका मोहम्मद नदिमसँग अविजित ६३ रनको साझेदारीसमेत गरे । पहिलो खेलको गल्तीबाट पाठ सकिँदै दोस्रो खेलमा उनले आरामले खेले। पहिलो खेलमा घरेलु टोलीविरुद्ध खेल्दा पनि उनले नेपालको साथ पाएका थिए ।

दोस्रो खेलमा घरेलु टिम नभएकाले उनले झन् बढी साथ पाए । खेल सकिएपछि पनि धेरै समर्थकले उनीसँग फोटो खिचाए ।

सुरजका बुवा आमा पनि उनको खेल हेर्न नेपाल आएका छन् । पहिलेपटक काठमाडौं आएकाले सुरज पनि दंग छन् । यसअघि उनी ६–७ वर्षको हुँदा वागलुङमात्र आएका थिए । ‘काठमाडौं आउँदा निकै खुसी छु । सानो छँदा नेपाल आएको थिएँ तर काठमाडौं भने पहिलो पटक हो,’ उनले भने ।

क्रिकेटमा सुरजले हात पारेको सफलताबाट उनको बुबा–आमा घर परिवार सबै खुसी रहेको उनी सुनाउँछन् ।

पछिल्लो समय ओमानले क्रिकेटमा प्रगति गरिरहेको छ । जुन नेपालविरुद्धको खेलमा पनि देख्न सकिन्छ। नेपालले २०१३ यता ओमानलाई हराउन सकेको छैन । यस पटक घरेलु मैदानमा नेपाल पराजित भयो । सुरज खेलाडी र प्रशिक्षकको मेहनतका कारण ओमानी क्रिकेटले फड्को मारेको बताउँछन् । ‘खेलाडी तथा प्रशिक्षक सबै मेहनती छन् । सबैले कडा मिहिनेत गरेका छन्,’ सुरजले भने, ‘सबैले आफ्नो फिट्नेसमा ध्यान दिन्छन् । त्यसैले टिम अघि बढ्दै छ,’ ओमानको क्रिकेट विकास र सफलताको कारणबारे उनले बताए ।

नेपाली मुलका बुबा आमाबाट १९८८ मा भारतको पञ्जावस्थित जालन्धरमा जन्मिएका दायाँहाते विकेटकिपर ब्याट्सम्यान सुरज कुमार चार वर्षअघि ओमान पुगेका थिए । भारतमै केही गर्ने चाहना भए पनि उनले धेरै अवसर पाएनन् । क्रिकेट खेल्ने मुख्य प्राथमिकता रहेकोले उनी ओमान गए ।

सुरजले सन् २०१९ मा अमेरिकाविरुद्ध डिभिजन २ मा खेल्दै ओमानका लागि लिस्ट एमा डेब्यु गरेका थिए । डिभिजन २ को शीर्ष चारमा रहँदै ओमानले ओडीआईको मान्यता पायो । त्यसपछि नामिबियाविरुद्धको फाइनलले पनि ओडीआई मान्यता पायो र सुरजको ओडीआई डेब्यु पनि त्यही खेलबाट भयो । उनले त्यसयता ९ ओडीआई खेल खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment