Comments Add Comment

वुहानका नेपालीको उद्धारका ‘मुख्य मापदण्ड’ पूरा गर्नै बाँकी !

मापदण्ड कति पूरा भए, कति बाँकी छन् ?

चीनबाट ल्याइने नेपालीलाई राख्नका लागि छनोट भएको भक्तपुर खरिपाटीको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र ।

२६ माघ, काठमाडौं । यतिबेला चीनमा रहेका नेपालीहरु एउटै प्रश्न गरिरहेका छन्, ‘सरकार, हामी कोरोना भाइरसको संक्रमणबाट मरेपछि लिन आउने हो ?’

नेपालमा रहेका तिनका अभिभावकहरु दिनहुँजसो मन्त्रालय धाउँदै सोधिरहेका छन्, ‘सरकार हाम्रा छोराछोरी यो देशका नागरिक होइनन् ?’

सरकार भने ‘तयारी’मै सीमित छ ।

सरकारलाई झक्झक्याउन अभिभावकहरु बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुगेका थिए । शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल र पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटे । प्रधानमन्त्रीलाई भेट्ने असफल प्रयास गरे ।

अभिभावकहरुको छटपटाहट कम भएको छैन । त्यसैले उनीहरू वुहानमा रहेका छोराछोरीको जीवनरक्षाको माग गर्दै आइतबार राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा पुगे ।

आयोगले चीनमा रहेका विद्यार्थीलाई उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

यो पनि पढ्नुहोस चीनका नेपालीलाई तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार अहिले कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएको चीनको वुहानबाट नागरिकहरूको उद्धारका लागि नेपालमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड पूरा गर्ने काम भइरहेको छ ।

यो काम पूरा हुनासाथ नेपाल सरकारले विमानस्थलसम्म विद्यार्थीहरुलाई ल्याइदिन आग्रह गर्दै चीनलाई चिठी लेख्नुपर्छ । त्यसपछि मात्र वुहानमा रहेका नेपालीहरूको उद्धार सम्भव हुन्छ ।

मापदण्ड कति पूरा भए, कति बाँकी छन् ?

डब्लुएचओका अनुसार कोरोना प्रभावित क्षेत्रबाट उद्धार गर्नुपूर्व उनीहरूलाई आफ्नो देशमा १५ दिनसम्म राख्ने क्वारेन्टाइन स्थल तयार गर्नुपर्छ ।

क्वारेन्टाइन स्थलमा राख्दाराख्दै कोही कोरोना भाइरसबाट संक्रमित भएमा उनीहरुलाई राख्ने र उपचार गर्ने अलग्गै ‘आइसोलेसन वार्ड’ तयारी अवस्थामा हुनुपर्छ ।

यस्तै चीनबाट आफ्नो देशमा झिकाएर क्वारेन्टाइनमा राखिनेहरूका लागि डाक्टर तथा नर्सका साथै उनीहरुको सेफ्टी किट अनिवार्य चाहिन्छ ।

यी सबै पूर्वाधार एवं जनशक्ति तयार पारेपछि मात्र चीनमा रहेका विद्यार्थी फर्काउन डब्लुएचओको मापदण्ड पूरा हुन्छ ।

त्यसपछि नेपाल सरकारले चीन सरकारलाई पत्र लेखेर विमानस्थलसम्म आफ्ना नागरिक ल्याइदिन आग्रह गर्नुपर्छ ।

विद्यार्थीहरु लिन यहीँबाट स्वास्थ्यकर्मीसहितको विमान पठाउनुपर्छ । नेपाल ल्याउने विद्यार्थी र स्वास्थ्यकर्मीको लागि छुट्टै सुरक्षित कपडा व्यवस्था गर्नुपर्छ ।

विमानस्थलबाट क्वारेण्टाइस्थलसम्म ल्याउन सुरक्षित तरिकाले छुट्टै बाटो प्रयोग गर्नुपर्छ ।

चीनबाट आफ्ना छोराछोरी उद्धारको माग गर्दै स्वास्थ्य मन्त्रालय घेराउ गर्दै अभिभावक ।

चीनबाट आफ्ना नागरिक उद्धार गर्ने हरेक देशले यी सबै मापदण्ड पूरा गरेका छन् ।

भारत लगायत विभिन्न देशले आफ्ना नागरिकहरु चीनबाट स्वदेश फिर्ता लगिसकेका छन् । छिमेकी नेपालले भने अहिलेसम्म उनीहरुलाई स्वदेश ल्याउन सकिरहेको छैन । भारतले मालदिभ्सका नागरिकको पनि उद्धार गरेर लगेको छ । तर, वुहानमा भारतीयसँगै रहेका नेपाली विद्यार्थीहरु उद्धारमा छुटेका छन् ।

यो पनि पढ्नुहोस ‘बाँसुरी बजाउन समय छ, हामीलाई भेट्न फुर्सद हुन्न’

डब्लुएचओका अनुसार उद्धारमा जाने स्वास्थ्यकर्मीका लागि विशेष किसिमको तालिमको आवश्यकता पर्छ । तर, नेपाल सरकारले स्वास्थ्यकर्मीलाई अहिलेसम्म कोरोनाविरुद्ध कुनै पनि काउन्सिलिङ तथा तालिम दिएको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालका अनुसार क्वारेण्टाइनमा राख्ने ठाउँ र आइसोलेसन वार्डको तयारी पूरा भएको छ । तर, आवश्यक किट र स्वास्थ्यकर्मी जुटाउन बाँकी नै छ ।

सहप्रवक्ता दाहालले अनलाइनखबरसँग भने, ‘उनीहरुलाई ल्याउनासाथ विमानस्थलमा के गर्ने, कसरी स्क्रिनिङ गर्ने र क्वारेण्टाइनमा राख्दा कसरी निगरानी गर्ने भन्ने तालिम दिन बाँकी छ ।’

स्वास्थ्यकर्मी उद्धारमा जान नमानेका हुन् ?

स्वास्थ्य मन्त्रालयले पटक–पटक क्वारेण्टाइन र आइसोलेसन वार्ड तयार भएको बताउँदा पनि उद्धार कार्य सुरु नहुनुले नेपाली स्वास्थ्यकर्मीहरु उद्धारमा जान नमानेका हुन् कि भन्ने प्रश्न पनि उठेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहाल भने यसबारे आफू अनविज्ञ रहेको बताउँछन् । नेपालीहरुलाई लिन चीन जाने चिकित्सकहरुको नाम फाइनल हुन बाँकी रहेकाले यसबारे भन्न नसक्ने उनले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका प्रवक्ता डाक्टर अनुप बास्तोलाले भने नेपालीहरुलाई लिन चीन जान सरकारले केन्द्रका चिकित्सकहरूलाई अहिलेसम्म नभनेको सुनाए ।

सरकारले निर्देशन दिए आफूहरु जान तयार रहेको बताउँदै उनले भने, ‘सरकारले अहिलेसम्म विद्यार्थी लिन को–को जाने भनेर हामीलाई भनेको छैन । सरकारले भनेमा सम्पूर्ण सुरक्षित प्रकिया र तालिम लिएर हामी जान तयार छौं ।’

बास्तोलाका अनुसार चीनबाट नेपाल ल्याउनुपूर्व उनीहरुलाई जाँच गर्नुपर्छ । जाँचमा कोरोनाको कुनै पनि लक्षण नदेखिएकालाई मात्रै नेपाल ल्याइन्छ ।

नेपालको विमानस्थलमा ल्याउनासाथ उनीहरुलाई फेरि स्क्रिनिङ गर्नुपर्छ । त्यो स्क्रिनिङ गर्दा ज्वरो तथा रुघा लागेको भेटिए सिधै ‘आइसोलेसन’ मा राख्न अस्पताल लगिन्छ ।

विमानस्थलमा जाँच गर्दा कुनै पनि लक्षण नदेखिएकाहरूलाई भने क्वारेन्टाइनमा लगिन्छ । प्रवक्ता बास्तोला भन्छन्, ‘क्वारेन्टाइनमा राख्दा पनि कुनै लक्षण तथा चिन्ह देखिएमा ‘आइसोलेसन’ मा लगिन्छ ।’

यो पनि पढ्नुहोस कोरोना भाइरसविरुद्ध खोप बनाउने अभियानमा वैज्ञानिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment