Comments Add Comment

बम्जनमाथि आरोपै आरोप : पहिले बेपत्ता र हत्या, अहिले बलात्कार

सिन्धुलीमा भेटिएनन्, ७७ जिल्लामै खोज्न सर्कुलर

२४ माघ, काठमाडौं । लिटिल बुद्धको नामले चिनिने रामबहादुर बम्जनमाथि एक वर्षअघि चारजना अनुयायीलाई बेपत्ता बनाएको आरोप लाग्यो । पीडित परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन पनि दिए । वर्ष दिन बितिसक्दा पनि प्रहरीले बम्जनलाई फेला पार्न सकेको छैन ।

मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल बाइबा र बाराका सुरेशकुमार आले मगर बेपत्ता भएको भनेर उजुरी परेको थियो । उनीहरुको हत्या भएको हुन सक्ने आशंका गरिए पनि प्रहरीले प्रमाण भेट्टाउन सकेको छैन ।

बरु मकवानपुरका बाइबालाई खोज्ने क्रममा प्रहरीले बम्जन प्रकरण पछाडिको रहस्य छेऊ पुगेको दाबी गर्‍यो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६, बाँडेगाउँको तोड्केमा रहेको आश्रममा छापा मारेर प्रहरीले नुनको पोका बरामद गरेपछि यो दाबी गरिएको थियो ।

त्यसवेला मकवानपुरका एसपी मुकुन्द मरासिनीले आश्रममा केही शंकास्पद वस्तु भेटिएको दाबी गरेका थिए ।

पीडित परिवारले वाइबाको हत्यापछि शव सडाउन नुन प्रयोग भएको दाबी गरेको थियो । त्यही चार फिट गहिरो खाल्डो खन्दा नुनको पोका भेटिएपछि यो आशंका गरिएको थियो । यद्यपि, शवको अवशेष भेटिएन ।

प्रहरीले अनुसन्धान जारी नै राख्यो तर, बम्जनको बाधी श्रवण धर्म संघमा आवद्ध पूर्वराज्यमन्त्री मणि लामासहितका व्यक्तिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतलाई भेटेपछि प्रहरी अनुसन्धान सुस्तायो ।

एकातिर बलियो सबुद नहुनु र अर्कातिर विवादमा पनि पर्न सक्ने डर भएपछि प्रहरी पछि हटेको थियो । त्यसअघि ३० भदौ २०७६ मा रौतहटकी एक किशोरीले बम्जनले आफूमाथि बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।

तर, दबावका कारण उनले उजरी दिन सकिनन् र बम्जन जोगिए ।

यो पनि पढ्नुहोस बम्जनको आश्रमबाट बेपत्ता पारिएकाका परिवारले भने – कि भेटाऊ, कि लास देऊ

जब किशोरी जाहेरी दिन राजी भइन्…

पीडित भनिएकी किशोरीले जबरजस्ती करणीको कसुरमा उजुरी दिएपछि अहिले बम्जन प्रकरण फेरि चर्चामा आएको छ । विभिन्न मनोपरामर्शदाताको समन्वयपछि किटानी जोहरी दिन तयार किशोरीले बिहीबारै जाहेरी दिएको स्रोत बताउँछ ।

सर्लाहीका प्रहरी प्रमुख विश्वमणि पोखरेल पनि उजुरी प्राप्त भएर कानूनी प्रक्रिया थालिएको बताउँछन् । कानूनी परामर्शपछि बम्जनविरुद्ध कारबाही हुनसक्ने स्थिति भेटिएपछि जाहेरी दिएर प्रक्रिया अघि बढेको स्रोत बताउँछ ।

मुलुकी फौजदारी संहिता, २०७६ ले जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्षे हदम्याद दिएको छ । तर, पीडित किशोरी घटना भएका बेला १५ वर्षकी थिइन् ।

बालबालिका सम्बन्धी ऐनले नाबालकको हकमा १८ वर्षपछि एक वर्षभित्र उजुरी गर्न सकिने व्यवस्था गरेको खुलेपछि पीडितको उजुरी दर्ता भएको थियो । एक अनुसन्धान अधिकृत भन्छन्, ‘बालबालिका सम्बन्धी ऐनले नाबालिका वा नाबालकलाई उजुरी गर्नुपर्छ भन्ने थाहा हुँदैन भन्ने मान्छ र उजुरी पुगेपछि एक वर्षभित्र उजुरी गर्न सक्ने ठाउँ दिएको छ ।’

त्यही आधारमा जिल्ला प्रहरी कार्यालय, सर्लाहीले उजुरी दर्ता गर्‍यो । र, जिल्ला अदालतमा पक्राउका लागि अनुमति मागेको थियो ।

‘हामीले बम्जनलाई पक्राउ गर्न अनुमति पाइसकेका छौं’, सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) पोखरेल भन्छन्, ‘त्यही आधारमा विभिन्न ठाउँमा खोजी जारी छ ।’

यो पनि पढ्नुहोस तपस्वी बमजनविरुद्ध पक्राउ पूर्जी, सिन्धुलीको आश्रममा पुग्यो प्रहरी

सिन्धुलीमा भेटिएनन् बम्जन

पछिल्लो समय बम्जन सिन्धुलीस्थित आश्रममा बस्दै आएको प्रहरी रिपोर्ट थियो । यद्यपि, उनी आरोप लागेदेखि सार्वजनिक गतिविधिमा देखिएका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीकी प्रमुख रञ्जु सिग्देलका अनुसार शुक्रबार दिनभर आश्रममा ‘सर्च अपरेशन’ चलाउँदा उनी भेटिएनन् । बरु बम्जनका निकट मानिने गुरु ज्ञानबहादुर बम्जन (झ्याम्पा तोप्चेन) भेटिए ।

‘उनलाई हामीले सोधपुछका लागि केहीबेर ल्याएर छाडिसकेका छौं’, प्रहरी उपरीक्षक (एसपी) सिग्देलले अनलाइनखबरसँग भनिन्, ‘अन्यत्र पनि खोजी भइरहेको छ ।’

प्रदेश नं. २ का प्रहरी प्रमुख प्रद्युम्न कार्की भने बम्जनविरुद्ध विभिन्न जिल्लामा उजुरी रहेको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘उनीविरुद्ध विभिन्न जिल्लामा उजुरी छन् । सबैतिर खोजी भइरहेको छ ।’

स्रोतका अनुसार प्रहरीले सिन्धुपाल्चोक, लमजुङ, सर्लाही, मकवानपुर लगायतका क्षेत्रका रेहका आश्रममा पनि निगरानी बढाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि प्रकरणमा अनुसन्धान जारी रहेको बताएको छ भने प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाकै प्रहरी कार्यालयलाई बम्जनको खोजी गर्न सर्कुलर जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment