+
+

रामबहादुर बमजनमाथिको अनुसन्धान : प्रहरीलाई विवादमा पर्ने डर !

बाराका सुरेश विदेश गएको आशंका

गौरव पोखरेल गौरव पोखरेल
२०७५ फागुन १ गते १७:१३

१ फागुन, काठमाडौं । तपश्वीको भेषमा अनुयायीको हत्या र बेपत्ता बनाएको आरोप लागेपछि पुस महिनाभर रामबहादुर बमजन चर्चाको केन्द्रमा रहे । नेपाल प्रहरीको मकवानपुर, बारा र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालयमा ४ परिवारले आफन्त बेपत्ता भएको जाहेरी दिएपछि घटना थप पेचिलो बन्यो ।

उजुरीपछि सिन्धुपाल्चोकस्थित बमजन आश्रममा प्रहरीले २० पुसमा छापा मार्‍यो । त्यसक्रममा ‘शंकास्पद गतिविधि’ भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विमलराज कँडेल नेतृत्वको टोलीले दाबी गरेको थियो ।

तर, जब बमजमको बोधी श्रवण धर्म संघमा आवद्ध पूर्वराज्यमन्त्री मणि लामासहितका व्यक्तिहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटे, त्यसपछि प्रहरी अनुसन्धान सुस्ताएको छ ।

लामा लगायतले प्रचण्डलाई एउटा ज्ञापन पत्रसमेत बुझाएका थिए, जसमा बमजनको प्रसङ्ग उठाएर सञ्चार माध्यमले साम्प्रदायिक हिंसा भड्काउन खोजेको पनि आरोप लगाइएको थियो । गृहमन्त्री बादललाई पनि सोहीअनुरुप ब्रिफिङ गरिएको गृह स्रोत बताउँछ ।

गृहमन्त्री बादल धार्मिक विषय भएकाले बलियो प्रमाणविना बमजनविरुद्धको कारबाहीलाई अघि बढाउनु नहुने पक्षमा छन् । उनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत सोही अनुरुप निर्देशन दिएको स्रोत बताउँछ ।

३८ क्वीन्टल सुन तस्करी प्रकरणदेखि निर्मला हत्या प्रकरणसम्म आइपुग्दा प्रहरी आलोचनाको शिखरमा छ । त्यसैले आईजीपी खनाल पनि विवादमा आउने काममा हात हाल्न चाहँदैनन् । बमजन प्रकरणमा फेरि विवादमा परिने हो कि भन्ने डरले पनि उनले घटनामा खासै चासो देखाएका छैनन् ।

त्यति मात्र होइन, पछिल्लो समय पीडित स्वयम् पनि प्रहरीको सम्पर्कबाट टाढिने गरेको अनुसन्धान स्रोत बताउँछ । ‘पहिले उजुरी दिनेबेला पीडितहरुको जुन प्रकृतिको आवाज उठेको थियो । अहिले त्यस्तो छैन’, अनुसन्धानमा आवद्ध एक अधिकारीले भने, ‘त्यसैले पनि अनुसन्धान सुस्त भएको हो ।’

प्रारम्भमा बमजनविरुद्ध सिन्धुपाल्चोक आश्रमबाट बलियो प्रमाण फेला परेको दाबी गरेको प्रहरीको स्वर पनि अहिले फेरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदी भन्छन्, ‘पुरानो घटना भएकाले तथ्य नजिक पुग्न सकेका छैनौं ।’

उनले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै धेरै युनिटसँग समन्वय गरेर काम गर्नु पर्दा नतिजामा केही ढिलाइ भएको बताएका छन् ।

सीआईबी र जिल्ला प्रहरी प्रहरीहरुको दुईथरि कुरा !

बमजनममाथि लागेको आरोपबारे प्रहरीको कुन निकायले अनुसन्धान गरिरहेको छ ? गृहमन्त्रालयका अधिकारीहरुसँग कुरा गर्दा उनीहरु यसको जिम्मेवारी प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा काम गर्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिइएको बताउँछन् ।

उनीहरुका अनुसार सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन दत्त भट्टको नेतृत्वमा अनुसन्धान टोली पनि खटाएको छ । तर, ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाही भने आफूहरुले अनुसन्धानको नेतृत्व नगरेको बताउँछन् ।

‘हामीले अनुसन्धानको नेतृत्व गरेको होइन, प्राविधिक सहयोग मात्रै हो’, शाहीले अनलाइनखबरसँग भने, ‘अनुसन्धान जिल्ला प्रहरी कार्यालयहरुबाटै भइरहेका छन् ।’

बमजनको आश्रमबाट आफ्ना बुबा सञ्चलाल बेपत्ता भएको भन्दै हेटौंडाका महेन्द्र वाइवा, छोरा सुरेशबारे हस्तबहादुर आलेमगर, दिदी फूलमायाबारे हेटौंडाका विजय रुम्बा र बहिनी चिनिमायाबारे नुवाकोटकी गंगामाया तामाङले प्रहरीमा उजुरी दिएकी थिए । ती मध्ये सञ्चलालको हत्या भएको आशंका गरिएको थियो ।

अनलाइनखबरसँग सम्पर्कमा आएका बारा, मकवानपुर र नुवाकोटका प्रहरी प्रमुखहरु सीआईबीले अनुसन्धान गरिरहेको बताउँछन् । नुवाकोटका प्रहरी प्रमुख उपरीक्षक (एसपी) कृष्णपल्ली मगरले अनलाइनखबरसँग भने, ‘हामीलाई केन्द्रबाट अनुसन्धानका लागि फोकल पर्सन तोक्न भनिएको थियो । त्यसअनुरुप डीएसपी सा’बलाई तोकेर सोधपुछ गर्ने काम भइरहेको छ ।’ उनले चिनिमायाको घरमा गएर सोधपुछ गर्दा उनी काठमाडौंदेखि बेपत्ता भएको देखिएको बताए ।

‘उहाँ पहिल्यैदेखि बौद्ध धर्ममा आस्था राख्नुहुँदोरहेछ’, उनले भने, ‘पछि काठमाडौं गएर त्यहाँबाट बमजनको आश्रममा जानुभएको भनिएको छ । त्यसपछि उहाँ फर्किएर आउनुभएको छैन ।’

सिन्धुपाल्चोकस्थित बमजन आश्रम ।

कहाँ पुग्यो अनुसन्धान ?

प्रहरीमा उजुरी परेका मध्ये सञ्चलालको हत्या भएको आशंका गरिएपछि प्रारम्भमा उनकै खोजीबाट अनुसन्धान थालियो । ‘निवेदन परेका मध्ये सबैभन्दा संवदेनशील घटना भएकाले सञ्चलालमाथि अनुसन्धान केन्द्रित गरेका थियौं’, एक अनुसन्धान अधिकारी भन्छन्, ‘त्यसपछि क्रमशः अन्य बेपत्ताहरुको घटनाबारे छानबिन गरिएको थियो ।’

सञ्चालालको हत्या गरेर इन्द्रावती–६, बाँडेगाउँको तोड्के जंगलमा रहेको बम्जनको आश्रममा पुरिएको हुन सक्ने आशंका गरिएपछि प्रहरीले शंकास्पद क्षेत्रमा उत्खनन् पनि गरेको थियो । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रममा एक स्थानको माटो कमलो भेटिएको थियो । जहाँ चारफिट उत्खनन् गर्दा नुुनका ९ वटा प्याकेटका खोल भेटिएको थियो ।

यद्यपि, कङ्काल वा शवको कुनै अवशेष भने भेटिएन । त्यसबेला घटनास्थलमा खटिएका अधिकारीहरुले सञ्चलालको हत्या भएको हल्ला चलेपछि बमजन समर्थकले शव अन्यत्र लगेर जलाएको हुनसक्ने आशंका गरेका थिए । आश्रमबाट बेपत्ता भएका भनिएका वाइबाको आफन्तले हत्यापछि शव सडाउन नुनको प्रयोग भएको आरोप लगाएको थियो ।

चार वर्षअघि १५ चैतमा परिवारको सम्पर्कमा आएका सञ्चलालले आफू बमजम आश्रममा रहेको बताउँदै भोलिपल्ट फर्किने बताएका थिए । तर, उनी त्यसयता सम्पर्कविहीन थिए ।

त्यसपछिको प्रगति के छ त ? मकवानपुरका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ भन्छन्, ‘हामीले सञ्चलाललाई खोज्ने प्रयास स्वरुप सिन्धुपाल्चोकस्थित आश्रममा छापा मारेका थियौं । त्यहाँ थुप्रै कामहरु भए । तर, उपलब्धीमूलक हुन सकेन ।’ उनले अहिल्यै केही प्रगति नभएको बताए ।

बाराका सुरेश आले विदेश गएको आशंका

बमजनविरुद्ध १२ पुसमा जिल्ला प्रहरी कार्याल्य, बारामा उजुरी दर्ता भएको थियो । कुनै समय समय बमजन बाराको हलखोरिया जंगलमा बस्ने गर्थें ।

तर, ०७२ सालमा भूकम्प जाँदा उनी सिन्धुपाल्चोकको आश्रममा देखिएका थिए । त्यसयता उनी सिन्धुलीस्थित आश्रममा बन्दै आएको सुरक्षा अधिकारीहरु बताउँछन् ।

सुरेश

तीन वर्षअघि बमजनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरु बताउँछन् । तर, त्यसयता उनको सम्पर्कविहीन रहेको परिवारको भनाइ छ ।

प्रहरीमा उजुरी परेलगत्तै जिल्ला प्रहरी कार्यालय, बाराले अनुसन्धान गरेको थियो । त्यक्रममा उनले विदेश जानलाई पासपोर्ट बनाएको पनि खुलेको थियो ।

यद्यपि, अध्यागमन विभागको रेकर्डमा उनी नेपाल बाहिर गएको देखिँदैन । अनुसन्धान अधिकारीहरु उनले नेपाल छाडेर अन्य देश गएको दाबी गर्छन् तर, त्यसलाई पुष्टि गर्ने बलियो आधार भेटिएको छैन ।

उनीसँग अंग्रेजी भाषाको पनि राम्रो ज्ञान भएकाले विदेशी नागरिकसँग पनि हेलमेल भएको स्थानीयले प्रहरीलाई बयान दिएका थिए । जसले उनी विदेश गएको हुन सक्ने आशंकालाई बल पुर्‍याएको स्रोतको दाबी छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?