Comments Add Comment
साहित्यको आँखिझ्याल :

क्षेत्रप्रतापको जिन्दगीमा धेरै कुरा गर्न बाँकी थियो !

२०२४ सालका कण्डक्टर, २०४२ सालका मन्त्री

२०१६ सालमा महाकवि देवकोटाको निधन भएपछि शोभा भगवती मन्दिर छेउ कमिज र कट्टु लाएको एउटा गाउँले केटो बटुवाहरुलाई भाका हालेर गाउँदै गाउँदै एक पाने गीत बेच्दै थियो–

‘जानुभयो देवकोटा कवि, नेपालीलाई टुहुरो पारेर ।’

त्यो केटो अरु कोही नभएर क्षेत्रप्रताप अधिकारी थिए ।

तनहुँ जिल्ला, वयापानी मिर्लुङका किशोर राजधानी शहर नेपालमा भाग्य अजमाउन आएका थिए । उनी ४ दिन लगाएर पैदलै काठमाडौं आएका थिए । र, जुध्दोदय माध्यमिक विद्यालयमा रात्री कक्षामा भर्ना भएका थिए ।

सानैदेखि गला र लेखनकला भएका यिनले महाकवि देवकोटाको निधनलाई शोक कविताका रुपमा लेखेर, छपाएर बेच्दै थिए । तर, उनको जीवनले यस्तो उकालीको यात्रा गर्‍याे, त्यो केटो सहायक मन्त्री पदमा पुग्यो, जुन उनको जीवनको सबैभन्दा उकालो यात्रा थियो ।

काठमाडौंमा क्षेत्रप्रतापले स्थापित हुन प्रशस्त संघर्ष गरे ।

उनले शुरुमा हुलाकमा पियनको काम गरे । पछि ०२४ सालमा साझा यातायातको कण्डक्टरको काम गरे । कुनैबेला दशैं खर्च जुटाउन शोभा भगवतीमा कविता गाएर कविताको पम्प्लेट बेच्नसमेत पछि परेनन् ।

साझामा कण्डक्टरका रुपमा पिंधवाट व्यक्तित्व विकास गर्दै उनी साझा सहकारीका सदस्य सचिव र साझा प्रकाशनका अध्यक्षसम्म बने ।

श्री ५ को सरकारले नेपाल भाषा प्रकाशिनी समितिलाई साझा सहकारीको माध्यमवाट अगाडि बढाउने निर्णय गरेपछि तत्कालीन साझा सहकारीका केन्द्रीय अध्यक्ष विश्ववन्धु थापाले क्षेत्रप्रतापलाई साझा प्रकाशनको सहायकका रुपमा नियुक्त गरिदिए । त्यतिखेर उनका हाकिम भीमनिधि तिवारी थिए । विश्वबन्धु थापाले साझा छाडेपछि त्यो ठाउँमा कमल दीक्षित अध्यक्षका रुपमा आए । क्षेत्रप्रताप पदोन्नति हुँदै प्रवन्धकसम्म भए । पछि अध्यक्ष हुन पुगे र महाप्रवन्धकका रुपमा कृष्णचन्द्रसिंह प्रधानले साझा प्रकाशनमा प्रवेश गरे ।

खासमा क्षेत्रप्रताप अधिकारी अध्यक्षका रुपमा र कृष्णचन्द्रसिंह प्रधान महाप्रवन्धक हुँदा साझा निकै उचाइमा पुगेको थियो । क्षेत्रप्रताप सानो तहबाट माथि पुगेकाले तल्लो तहका मान्छेहरुको मनोविज्ञान र पीडा बुझ्न सक्थे भने माथिल्लो तहकाहरुको संगतले माथिल्लो तहकाहरुसँग पनि उत्तिकै कूटनैतिक हिसावले काम गर्न सक्थे । उनलाई त्यसै भएर धेरैले पिठ्यूँ पछाडि ‘चिप्लोम्याट’ पनि भन्ने गर्थे ।

उनको पहिलो पुस्तक कविता सङ्ग्रह ‘रहर लागेर’ जगदम्बा प्रकाशनबाट प्रकाशित भएको थियो । अर्थात् कमल दीक्षितले त्यो छपाइदिएका थिए, आफ्नो प्रकाशन, जगदम्वा प्रकाशनवाट ।

मैले चिन्दा क्षेत्रप्रताप अधिकारी साझा प्रकाशनका अध्यक्ष थिए । सिर्जनशील साहित्य समाजको गठन पूर्वका अनेक बैठकहरुमा सँगै हुन पाइएको थियो । उनी प्रष्टरुपले राजावादी र पञ्चायतवादी थिए । त्यतिबेला को राजावादी थिएन र ? को पञ्चायतवादी थिएन र ? राजा वीरेन्द्रले ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ को अवधारण ल्याएको पञ्चायतको उत्कर्षको बेला थियो ।

राजारानीलाई खुशी पार्न उनले लेखेको गीत ‘चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो’ रेडियो नेपालले यति धेरै बजायो कि मान्छेको जिब्रो जिब्रोमा त्यो गीत पुग्यो । उनलाई भेट्दा ‘चौतारीमा क्षेत्रप्रताप भेटियो’ भन्ने उखानसम्म बन्यो । राजारानीको जन्मोत्सवका बेला दिनभरिमा कैयौंचोटि बज्थ्यो यो गीत ।

क्षेत्रप्रतापले लेखेको ‘म त लाली गुँरास भएँछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ पनि लोकप्रियताको चुलीमा पुगेर एक कालखण्डमा जनजिब्रोमा भिजेको थियो ।

उनी गामबेंसीका सुसेलीहरुलाई कविताको रुप दिन मन पराउँथे । त्यस्तै लोली र बोलीमा कविता सिर्जना गर्थे । उनको ‘गाम बेसीका गीत’ कविता सङ्ग्रह अत्यधिक लोकप्रिय भयो ।

सिर्जनशील साहित्य समाजको विधानमा उदार भएर राजालाई संरक्षक राखौं भनेर क्षेत्रप्रतापले प्रस्ताव गरेका थिए । उनको प्रस्तावले सबै अकमक्क परे । हुँदैन भन्ने आँट गरिहाल्न कसैले सकेनन्, हुँदैन भन्न चाहनेले पनि । तर, नगेन्द्रराज शर्माले यति सानो संस्थामा पनि के राजालाई संरक्षक बनाइराख्या भन्ने पनि त आउन सक्छ नि भनेपछि राजालाई संरक्षक राख्ने क्षेत्रप्रतापको प्रस्ताव खारेज भयो ।

साझा प्रकाशनले साझा कथा, साझा कविता, साझा एकाङ्की, साझा निबन्ध प्रकाशित गरेको थियो । तर, त्यसपछिका कवि लेखकका रचना समेट्नका लागि त्यसको दोस्रो खण्ड पनि उनकै सुझबुझले प्रकाशन भएको थियो समसामयिक साझा कथा, समसामयिक साझा कथाका रुपमा ।

साझा प्रकाशनले प्रकाशन थालनी गरेको ‘गरिमा’ क्षेत्रप्रताप अधिकारीकै सपनाको प्रतिफल थियो । एउटा गतिलो साहित्यिक पत्रिका होस्, स्तरीय रचना प्रकाशन होउन्, लेखकको घरमै पारिश्रमिक र पत्रिका पुगोस् भन्ने उनको चाहना थियो ।

पत्रिकाको नाम जुराउन बैठकमा सुझाउनका लागि भनिएको थियो । तर, उनैले सुझाएको ‘गरिमा’ नामलाई नै सबैले एक मतले रुचाएर पारित गरेका थिए । गरिमा पत्रिकाको साइज पनि उनकै रोजाइको थियो । यस अर्थमा क्षेत्रप्रताप अधिकारी ‘गरिमा’ का पिता थिए ।
‘गरिमा’ निस्कने भएपछि सम्पादकका लागि विज्ञापन गरियो । साझामै काम गर्ने कवि तथा ‘विदेह’ का सम्पादक शिव अधिकारीले आवेदन दिएका थिए र उनी त्यसका लागि प्रचुर योग्य भएको उनको ठनाइ थियो । तर, क्षेत्रप्रतापले विष्णु विभू घिमिरेलाई रोजिदिए, प्रकृया पुर्‍याएर । त्यसपछि शिव अधिकारीले साझावाट राजीनामा गरेर नयाँ सडक पिपलबोटमा क्षेत्रप्रताप अधिकारीविरुद्ध पर्चाबाजीसमेत गरे ।

गरिमा निस्कियो र पत्रिका र पारिश्रमिक लेखकको घरघरमा पुर्‍याउने व्यवस्था पनि भयो । तर, प्राविधकरुपले यसमा व्यवधान भयो । लेखक कविहरुलाई कहिले घरमा पत्रिका र पारिश्रमिक आउँछ, त्यसको पूर्वजानकारी नभएर भेटिएनन् । पछि यो व्यवस्था व्यवहारिक नभएर स्थगित भयो ।

साझा प्रकाशनमा छँदै क्षेत्रप्रतापले राजनीतिमा पाइला हाले । उनी तनहुँबाट रापंस अर्थात् राष्ट्रिय पञ्चायत सदस्यका लागि चुनाव लडे । जिते पनि ।

उनलाई चुनावमा साझा प्रकाशनको दुरुपयोग गरेको, साझा प्रकाशनका कर्मचारीहरुलाई चुनाव प्रचारमा खटाएर साझाको तलव खुवाएको, भत्ता दिएको भन्ने आरोप पनि लाग्यो ।

तर, पञ्चायतको जगजगीका बेला, कट्टर राजावादी क्षेत्रप्रतापलाई ती आरोपहरुले केही बिगार पुर्‍याएन । उनी शिक्षा सहायक मन्त्री भए ०४२ सालमा । अनि समीक्षा साप्ताहिकको मुखपृष्ठमा समाचार छापियो– २०२४ सालमा कण्डक्टर, २०४२ सालमा मन्त्री ।

क्षेत्रप्रताप अधिकारी पञ्चायतवादी भए पनि, राजावादी भए पनि अरु विचारका साहित्यकारलाई पनि उत्तिकै स्नेह, श्रद्धा र सम्मान गर्थे । पारिजातका कृतिहरु साझा प्रकाशनबाट छपाउन तथा पारिश्रमिक लेखिकाको आर्थिक अवस्था हेरेर अग्रिम भुक्तानी दिएर तथा घरमै पठाएरसमेत गुन लाएको पारिजात आफैंले लेखेकी थिइन् ।

उनी रापंस हुँदा मोहन कोइराला अस्वस्थ भएर टेकुमा निकै नाजुक अवस्थामा परेका बेला उनले संसदको रोष्ट्रममा उभिएर भनेका थिए, ‘यो देशको एउटा सशक्त साहित्यिक हस्ताक्षर टेकुको दुर्गन्धित कोठामा मर्दैछ, के अध्यक्ष तथा प्रधानमन्त्रीलाई थाहा छ ?’

त्यस्तै नारायणगोपाल बिरामी हुँदा संसदमा उनले ‘पुल बनाउन सकिन्छ, बाटो बनाउन सकिन्छ तर नारायणगोपालको स्वर बनाउन सकिँदैन ?’ भनी रोष्ट्रमबाट चिच्याएका थिए ।

पञ्चायतकालमा त्यसरी साहित्यकार कलाकारको पक्षमा आवाज उठाउने क्षेत्रप्रताप अधिकारी पहिलो व्यक्ति थिए ।

२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त गरेपछि क्षेत्रप्रताप अधिकारी निराशिए । त्यतिबेला कैयन् पञ्चहरु विदेश पलायन भए । भनिथ्यो, शक्ति सञ्चयका लागि भन्दै नियोजितरुपमा धेरै पञ्चहरु जापान प्रवेश गरे । क्षेत्रप्रताप अधिकारी पनि जापान पसे र लामै समय जापानमै बिताए ।

त्यसो त क्षेत्रप्रताप अधिकारीको जापानसँगको ‘कनेक्सन’ निकै पुरानो थियो । उनी २०२७ सालतिरै २ वर्ष जापान बसिसकेका थिए, जापानी स्वयंसेवकहरुका लागि नेपाली भाषा संस्कृति सिकाउने सिलसिलामा ।

यद्यपि उनलाई त्यसबेला साझाबाट छुट्टी मिलाउन हम्मेहम्मे परेको थियो । पछि साझाको अध्यक्षको हैसियतले उनले साझा प्रकाशनका प्रत्येक सञ्चालकहरुलाई आफ्नो कार्यकालमा एकपल्ट जापान जान पाउने अवसर पनि उनकै पहलकदमीकोे परिणाम थियो ।

मान्छेहरु क्षेत्रप्रताप अधिकारीले आफ्नो आधा मुटु जापानमै राखेर आएको छ पनि भन्थे ।

उनको पहिलो जापान बसाइले उनलाई जापानका पहिलो नोबेल पुरस्कार बिजेता यासुनारी कावावाताको उपन्यास ‘युकि गुनी’ अर्थात् ‘हिमदेश’ अनुवाद गर्ने प्रेरणा मिलेको थियो । उनले सो उपन्यास अनुवाद गरेर मधुपर्कमा धाराबाहिक रुपमा प्रकाशित गरेका थिए । पछि त्यो पुस्तकाकारमा पनि प्रकाशित भयो ।

२०४६ सालपछिको जापान प्रवासमा उनले थुपै्र जापानी कृतिहरुलाई नेपाली भाषामा अनुवाद गरे । उनको जापान बसाईलाई आर्थिक रुपले सहजता प्रदान गर्नका लागि उनका जापानी मित्रहरुले यो अनुवादको कामको मेलोमेसो मिलाइदिएको भन्थे उनी । जे भए पनि जापानी कृतिहरु नेपाली भाषामा नेपाली पाठकले पढ्ने अवसर पाए ।

जापानी साहित्यका सबैभन्दा धेरै कृतिहरु नेपाली भाषामा अनुवाद गर्ने अनुवादक क्षेत्रप्रताप अधिकारी नै हुन् । उनले कविता सङ्ग्रहहरु जापानी नवरत्न, हिम जून, फूल, केञ्जीका कविता, उपन्यासहरु हिमदेश, बर्खान्त, सानोबाबु, कथा सङ्ग्रहहरु आकाश गंगाको यात्रा, भीरमुखा, अपूर्व ग्रहको कथा नेपाली भाषामा भित्र्याएका थिए । पछि उनले जापान फाउण्डेसनको विद्वत्वृत्तिमा ‘जापानी साहित्यको इतिहास’ पनि लेखे, जुन मेरो पनि सपना थियो ।

क्षेत्रप्रतापले गीति साहित्यमा योगदान पुर्‍याएवापत छिन्नलता गीति पुरस्कार तथा ‘नफुलेका फूलहरु’ कृतिका लागि साझा पुरस्कार पाएका थिए । उनलाई विश्व साहित्य प्रधान साहित्यिक पत्रिका ‘भाषान्तर’ ले सम्मान पनि गरेको थियो ।

दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनसत्ता हातमा लिएपछि क्षेत्रप्रताप अधिकारी अलिकति हौसिएका थिए । बहुदलको पुनस्थापनाका वर्षहरुलाई उनले ‘कालरात्री’ भन्दै वक्तव्य निकालेका थिए । उनी पुनः साझा प्रकाशनको अध्यक्षमा नियुक्त भए लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वकालमा । तर, साझा प्रकाशन त्यस्तो रहेन, जस्तो पहिले थियो । यसपल्टको उनको पुनरागमन खासै सुखद भएन । उनी आफ्नो राजनैतिक ‘भाग’ नखोसिने गरी साझामा आएको भन्थे । उनले राजनैतिक भाग हासिल गरेनन् र साझालाई पहिलाको झैं हाँक्न पनि सकेनन् । मौसम बदलिइसकेको थियो साझा प्रकाशनमा ।

पत्नीको देहान्तपछि क्षेत्रप्रताप एक्लिए । राजनैतिकरुपमा पनि निराश थिए । आफ्ना मनका गुम्फन र असन्तुष्टिलाई गामबेसीका भाखामा कविता लेख्थे ।

उनको जापानी शैलीको घर थियो । सफा बगैंचा थियो । उनी पाइप पिउँथे । भोड्का चुस्की लाउँदै बगैंचा खनीखोस्री गरी बस्थे । कलेज खोलेका थिए, त्यसमा पनि समय दिन्थे ।

उनले आफ्नो शेषपछि शरीर दान गर्न चाहे । तर, त्यसका लागि कानूनी व्यवधानहरु थिए । उनले लडेर, भिडेर शरीर दान दिने निर्णय गराउन सफल भए । नेपालमा शरीर दान दिने सम्भवतः उनी पहिलो व्यक्ति थिए । साहित्यकार त पहिलो नै थिए ।

नारायण गोपाल जिवितै हुँदा क्षेत्रप्रतापले ‘मेरो अन्तिम कविता’ शीर्षकमा लेखेका थिए–

जीन्दगीमा धेरै कुरा गर्न बाँकी छ

सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ…

कविताका रुपमा लेखिए पनि यो गीत नारायण गोपालले गाउने तर्खर गर्दै थिए । उनी बिते । त्यसपछि अरुणा लामाले गाउने तयारी गर्दागर्दै उनको पनि देहान्त भयो । अन्ततः रामकृष्ण ढकालले गाउने भए । शुरुमा त जसले गाउन खोज्दा पनि मृत्युको घटना भएकाले उनी पनि झस्केका थिए, हच्केका थिए । तर, रामकृष्णले गाए । गाएरै छाडे ।


एक दिन त्यो मर्न बाँकी काम पनि सकियो । क्षेत्रप्रतापले ०७० साल साउन ३० गते जीवनबाट विश्राम लिए ।

उनलाई खासमा साउन २९ गते हृदयाघात भएको थियो र गंगालाल हृदयकेन्द्रमा लगिएको थियो । तर, चिकित्सकहरुले उनको जीवन फर्काउन सकेनन् ।

अधिकारीको पार्थिव शरीर उनकै ईच्छाबमोजिम वीपी कोइराला शिक्षण अस्पताल धरानलाई बुझाइयो ।
यो पनि पढ्नुहोस ईश्वरबल्लभको अधुरो सपना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment