Comments Add Comment

कुशलको कीर्तिमानसँगै नेपालको पहिलो जित

२५ माघ, काठमाडौं । युवा अलराउण्डर कुशल मल्लले ओडीआई  (एकदिवसीय) डेब्युमा कीर्तिमानी अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसीसी क्रिकेट विश्वकप लिग लिग-२ मा अमेरिकालाई ३५ रनले पराजित गरेको छ । यस जितपछि नेपालले ७ टिम सम्मिलित लिगमा अंकको खाता समेत खोलेको छ । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालको यो पहिलो जित समेत हो । नेपालले जितपछि २ अंक जोडेको छ ।

ओडीआई डेब्युमा कुशलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । विकेटकिपर विनोद भण्डारीले पनि अर्धशतक बनाएपछि नेपालले ५० ओभरमा १९० रन बनाएको थियो । कुशल डेब्युमै अर्धशतक प्रहार गर्दै ओडीआईमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी समेत बने । ४९-५ मा रहेको नेपाली इनिङ्स कुशल र विनोदले नै सम्हालेका थिए ।

नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा अमेरिकाले ४४.१ ओभरमा सबै विकेट गुमाएर १५५ रन बनाएको हो ।

१९१ को लक्ष्य पछ्याएको अमेरिकाले खराब शुरुवात गरेको थियो । करण केसी र सन्दीप लामिछानेको जोडीले शुरुवाती ४ ओभरमै ४ विकेट लिएर अमेरिकालाई दबाबमा राखेका थिए ।

पहिलो ओभरमा करण केसीले २ रन मात्र दिएका थिए । खेलको दोस्रो ओभरमै बलिङ गरेका स्पीनर सन्दीपले आरोन जोन्सलाई चौथो बलमा एलबीडब्लु आउट गर्दै पहिलो सफलता दिलाए । तेस्रो ओभरमा करण केसीले २ विकेट लिए । करणले स्टेभेन टेलरलाई दिपेन्द्रको हातबाट क्याचआउट गराए । भने अन्तिम बलमा जेभियर मार्सललाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए ।

चौथो ओभरमा सन्दीपले ४ रन बनाएका मोनांक पटेललाई एलबीडब्लु आउट गर्दै नेपाललाई चौथो विकेट दिलाए । १३ रनमै ४ विकेट गुमाएको अमेरिकाले २७ रन हुँदा पाँचौ विकेट गुमायो ।  इयान होल्याण्ड र अक्ष मराजले अमेरिकाको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर सुशन भारीले ११औं ओभरको पहिलो बलमै सुशन भारीले अक्ष होमराजलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए ।

त्यसपछि छैटौं विकेटका लागि होल्याण्ड र करिमा गोरले २३ रनको साझेदारी गरे । भारीले १७औं ओभरको चौथो बलमा करिमा गोरलाई पारस खड्काबाट क्याचआउट गराए।

उत्कृष्ट बलिङ गरेको नेपालको लागि अर्धशतक बनाएका कुशल मल्ले पनि विकेट लिए । उनले २२औं ओभरको पहिलो बलमा एलमोर हचिनसनलाई बोल्ड गर्द नेपालको लागि सातौं सफलता दिलाए । एक छेउबाट होल्याण्डले इनिङ्स सम्हालेपनि अर्को छेउबाट निरन्तर विकेट झर्दा अमेरिकी इनिङ्स धरासयी बनेको थियो । अमेरिकाले ६५ रन हुँदा सातौँ विकेट गुमाएको थियो ।

तर आठौं विकेटा लागि होल्याण्ड र क्यामरुन स्टेभेनसनले उत्कृष्ट साझेदारी गर्दै स्कोर उकासे । यी दुईले आठौं विकेटका लागि ४९ रनको साझेदारी गरे । यस पटक पनि सुशन भारीले नै ब्रेक गरे । ३३औं ओभरको पाँचौ बलमा भारीले क्यामरुन स्टेभेन्सनलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए ।

होल्याण्डले भने उत्कृष्ट ब्याटिङ गर्दै २९औं ओभमा अर्धशतक पूरा गरे ।  होल्याण्डले नवौं विकेटका लागि रस्टी थेरोनसँग ३० रनको साझेदारी गरे ।

४१औं ओभरको चौथो बलमा नेपालका करण केसीले ७५ रन बनाएका होल्याण्डलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराउ नौं सफलता दिलाए । होल्याण्डले ११० बल खेल्दै ७ चौका प्रहार गरे ।

४५औ ओभरको पहिलो बलमा करणले रस्टी थेरोनलाई सन्दीप लामिछानेबाट क्याचआउट गर्दै नेपाललाई जित दिलाए । नेपालको जितमा उत्कृष्ट बलिङ गरेका करणले ७.१ ओभर बलिङ गर्दै १ मेडन राख्दै १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उनले पहिलो खेलमा ओमान विरुद्ध पनि ४ विकेट लिएका थिए ।

यस्तै सुशन भारीले ३ विकेट लिए । अघिल्लो खेलमा ओमानविरुद्ध ओडिआईमा डेब्यु गर्दै ३ विकेट लिएका सुशनले अमेरिका विरुद्ध १० ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेर ३ विकेट लिए ।  सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए ।

त्यसअघि कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा  सबै विकेट गुमाएर १९० रन बनाएको थियो ।

कुशल नेपालका लागि ओडीआईमा अर्धशतक प्रहार गर्ने सातौ र विनोद आठौं खेलाडी समेत बने । विनोदले ५९ र कुशलले ५० रन बनाए ।

शरद भेषावकरले चोटका कारण सिरिज गुमाएपछि उनको स्थानमा टिममा आएका सुवास खकुरेलले कप्तान ज्ञानेन्द्र मल्लसँग इनिङ्सको शुरुवात गरेका थिए । तर सुवास व्यक्तिगत ३ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए । ओमान विरुद्ध ओपनिङ गरेका पारस खड्का अमेरिका विरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । ज्ञानेन्द्र र पारसले दोस्रो विकेटका लागि ४० रनको साझेदारी  गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा पुगेका उपकप्तान दिपेन्द्र सिंह ऐरी खाता नखोली आउट भए । पारस खड्का २१ रन बनाएर आउट भए । लगत्तै आरिफ शेख २ रन बनाएर आउट भए ।

४९ रन हुँदा ५ विकेट गुमाउँदै धरासयी भएको नेपालको इनिङ्स कुशल मल्ल र विनोद भण्डारीले सम्हाले ।

कुशल मल्लले ओडिआई डेब्युमै कीर्तिमानी अर्धशतक प्रहार गर्दै विनोद भण्डारीसंग ८४ रनको साझेदारी गरेपछि नेपालको रन उकासिएको थियो । कुशलले ओडिआई डेब्युमै अर्धशतक बनाउँदा सबैभन्दा कान्छो उमेर अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तमान तोडे ।

३६औं ओभरको दोस्रो बलमा करिम गोरेको बलमा एलमोर हचिनसनबाट क्याचआउट हुनुअघि कुशलले ५१ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५० रन बनाए । त्यसपछि क्रिजमा पुगेका करण केसीले १२ रन बनाए । अघिल्लो खेलमा ओमान विरुद्ध २८ रन बनाएका सन्दीप लामिछानेले खाता नखोली आउट भए ।


अन्तिम ओभरको दोस्रो बलमा सुशन भारी इयान होल्याण्डको बलमा आउट भएपछि नेपाल अलआउट भएको हो ।

विनोद र सुशन भारीले नवौं विकेटका लागि २६ रनको साझेदारी गरे । ४८औं ओभरको तेस्रो बलमा आउट हुनुअघि भण्डारीले ७९ बल खेल्दै ५९ रन बनाए । उनले ६ चौका र  १ छक्का प्रहार गरे ।

अमेरिकाका लागि क्यामररुन स्टेभेनसनले १० ओभरमा २ मेडन राख्द ३० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सौरभ नेत्रभाल्करले १० ओभरमा २ मेडन राख्दै  २८ रन खर्चेर २ विकेट लिए । रस्टी थेरोनले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment