Comments Add Comment

ओलाङ्चुङगोला पुग्दा जे देखियो…

घुमफिर मेरो सौख र आवश्यक्ता दुबै हो । सामान्य दिनमा रोजीरोटीका लागि घुमफिरमा निस्कन्छु । जाडो याममा भने आफ्नो मर्जी अनुसार घुमफिर गर्छु । मलाई आफ्नै रुचीले डोहोर्‍याउँदै प्रकृतिको काखमा पुर्‍याउँछ ।

विदेशी आगन्तुकको पथ प्रदर्शक बनेर पश्चिम नेपालको भूगोल टेक्नु मेरो कर्म हो । त्यस भेगका अनगिन्ती ठाउँमा पथ प्रदर्शक बनेरै पुगेको छु । तर, जसै जाडो याम सुरु हुन्छ, म आफ्नो मर्जीको यात्रा गर्छु ।

अनौठो के छ भने, जाडो याममा म त्यही भेग टेक्न पुग्छु, जहाँ विदेशी आगन्तुक पुगेका हुँदैनन् । वा उनीहरुले उपेक्षा गरेको ठाउँमा म पुग्ने गर्छु ।

यसपालीको यात्रा पनि त्यस्तै रह्यो । काठमाडौंलाई चिसो हुस्सुले छोप्दै गर्दा म घुम्नका लागि निस्किएँ । माघको महिना । ओलाङचुङगोलालाई गन्तव्य बनाएर ।

यात्रामा साथ दिन आइपुगेका थिएँ, बिक्रम आङ्देम्बे । काठमाडौंबाट निस्किएको २० दिनमा हामी ओलाङ्चुङगोला पुग्यौं । लाखौंलाई दृष्टि दिएका डा. सन्दुक रुइतको गाउँमा आफ्नो दृष्टि विच्छ्याउँदा मन नै फुरुंग भयो ।

ओलाङ्चुङगोलाबारे सानैदेखि सुनियो । तर, जाने साइत जुरेको थिएन । कस्तो होला भन्ने कौतुहलता जागेको थियो ।

पूवको गुफा पोखरी हुँदै हामीले त्यहाँसम्मको यात्रा तय गरेका थियौं । तर ओलाङ्चुङगोला जानका लागि ताप्लेजुङको फुङलिंग बजार हुँदै जानु सहज हुन्छ । काठमाडौंबाट हवाइमार्गबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा ओर्लिएपछि यात्रा सुरु गर्न सकिन्छ । त्यहाँसम्म पुग्न गाडीमा पनि यात्रा गर्न सकिन्छ ।

फुङलिंगदेखि पैदल हिँड्दै ओलाङचुङगोला पुग्न सकिन्छ । यद्यपि जिपमा गए पनि हुन्छ । हामीले दोस्रो विकल्प रोज्यौं ।

ताप्लेजुङ बजारदेखि तापेथोकसम्म पुग्न जिपमा ५ घण्टा लाग्दछ । त्यसपछि पैदल हिँड्नुपर्छ । तापेथोकदेखि दुई घण्टामा पुग्न सकिन्छ लेलेप । लेलेपमा सामान्य खानपान गर्न सकिन्छ ।

लेलपदेखि ईला डाँडासम्म पुग्नलाई ४ घण्टा लाग्छ । त्यहाँ बास बस्न पनि सकिन्छ ।  इला डाँडादेखि ओलाङचुङगोला पुग्न सकिन्छ । यो दूरी तय गर्न सात घण्टा लाग्छ ।

यात्रा क्रममा देखिने झरना, गुम्बा, हिम ऋंखलाले आँखालाई मोहित बनाइरहन्छ । यस क्रममा नेपाल र भारतका गरी दर्जन हिमालहरु देखिएपनि बिशेष गरी कुम्भकर्ण र विश्वको तेस्रो अग्लो हिमाल कन्चनजघा स्पष्ट देखिन्छ ।

यात्रामा भेटिने लेलेप ऐतिहासिक महत्वको स्थान हो । यस ठाउँको त जति प्रचार गरेपनि कम हुने । विगतमा मगर राजाले राज्य गरेको तर मगर राजालाई भोटे राजाले हराएर विजय हासिल गरेर आफ्नो राज चलाएको रहेछ । तर, भोटे राजाले मगर राजाको सम्मानका लागि प्रत्येक वर्ष दुई पटक पूजा समेत गर्ने चलन रहेको स्थानीयले बताए ।

ओलाङ्चुङगोलाबारे जति सुनेको थिएँ, पुग्दा अरु आकर्षक लाग्यो । लेकाली बस्ती, गुजुमुज्ज घरहरु । भिमकाय पहाड र चाँदी झै टल्किएको हिमाललाई पृष्टभूमिमा पारेर लमतन्न फैलिएको बस्ती आफैमा आकर्षक लाग्छ ।


रण बहादुर खड्का

प्रबन्ध निर्देशक, एडभान्चर हिमालय ट्राभल्स एण्ड टुर

ओलाङचुङगोला ताप्लेजुङकै आकर्षण हो । तर, समग्र ताप्लेजुङ पनि आगन्तुकका लागि लोभलाग्दो गन्तव्य हो ।

विश्वको तेस्रो अग्लो हिमाल, धार्मिक आस्थाको केन्द्र पाथीभरा,  ऐतिहासिक गुम्बाहरु ताप्लेजुङका आकर्षण हुन् । तर, यस क्षेत्रमा अपेक्षाकृत पर्यटन विकास हुन सकेको छैन ।

त्यसैले पनि हामीले अहिले काठमाडौंदेखि ताप्लेजुङसम्मको टुर प्याकेज बनाएका छौं । काठमाडौंबाट ताप्लेजुङ जान चाहनेका लागि सुकेटारसम्म जहाज एवं हेलिकप्टरमा यात्रा गर्न सकिने व्यवस्था गरिएको छ ।

यो प्याकेजमा काठमाडौंदेखि सुकेटारसम्म हवाईजहाज, सुकेटारदेखि पाथीभरा दर्शन गराएर पुन सुकेटारसम्म हेलीकोप्टरमा ल्याउने । सुकेटारदेखि काठमाण्डौसम्म हवाईजहाजमा ल्याउने गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment