Comments Add Comment

ए डिभिजन लिगमा आज तीन खेल, पहिलो खेलमा एपीएफ र फ्रेण्ड्स भिड्दै

२७ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजबाट १२औं चरणका खेलहरु शुरु हुँदैछन् । आजदेखि दैनिक ३ खेल हुनेछ । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले दर्जनभन्दा बढी पटक खेल तालिका परिवर्तन गर्दा आज बिहानैदेखि खेल हुनेछ ।

एन्फाले सबै खेल सातदोबाटोस्थित एन्फा कम्पलेक्समै गर्ने जनाएको छ । त्यसैले बिहान मध्याह्न र दिउँसो गरी ३ खेल खेलाउन लागिएको हो ।

बिहानै पौने ९ बजे विभागीय टोली एपीएफले फ्रेण्ड्स क्लबसँग खेल्नेछ । रेलिगेसन जोनमा रहेको एपीएफका लागि फ्रेण्ड्सविरुद्धको खेल गर या मरको अवस्थामा छ । ११ खेलबाट ५ अंक मात्र रहेको एपीएफ सरस्वती क्लबभन्दा मात्र अघि छ ।

११ खेलबाट नवौं स्थानमा रहेको फ्रेण्ड्सको लागि शीर्ष ६ मा पर्न पनि यो खेल महत्वपूर्ण छ । एपीएफलाई रहाउन सके फ्रेण्ड्सले छैटौं स्थानको पुलिससँग अंक बराबरी गर्नेछ ।

यस्तै दिउँसो सवा १२ बजे हुने खेलमा च्यासल युथ क्लबले रेलिगेसनको अर्को दाबेदार सरस्वती युथ क्लबसँग खेल्नेछ। ११ खेलबाट १२ अंक रहेको च्यासल दशौँ स्थानमा छ भने समान खेलबाट ४ अंक मात्र रहेको सरस्वती अंक तालिकामा पुछारमा छ र रेलिगेसनको दबाबमा छ । एपीएफ जस्तै सरस्वतीको अवस्था पनि दयनिय छ । उता च्यासलको लागि शीर्ष ६ मा पर्न यो खेल जित्नैपर्ने बाध्यता छ ।

यस्तै तेस्रो खेल संकटा क्लब र मच्छिन्द्र क्लबबीच दिउँसो साढे ३ बजे शुरु हुनेछ । उपाधिको दाबेदारमध्ये एक मछिन्द्र ११ खेलबाट २५ अंकसहित दोस्रो स्थानमा छ । साविक उपविजेता संकटा भने १५अंकसहित आठौं स्थानमा छ ।

आजको खेल जित्द मच्छिन्द्रलाई अंक तालिकामा आर्मीलाई उछिन्दै शीर्ष स्थानमा उक्लने अवसर छ । शीर्ष ६ मा पर्न संकटालाई पनि जित आवश्यक छ । आज मच्छिन्द्र विजयी भए उपाधि होड रोमाञ्चक हुनेछ,  हारले शीर्ष स्थानको आर्मीलाई फाइदा पुग्नेछ ।

समान खेलबाट २६ अंकसहित आर्मी शीर्ष स्थानमा छ । आर्मीले १२औं चरणको खेल मंगलबार ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ । आर्मी र मच्छिन्द्र लिगको अन्तिम खेलमा खेल्नेछन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment