News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लेन म्याक्सवेलले १३ वर्षमा १४९ खेल खेलेपनि उनको क्षमता आँकडामा व्याख्या हुँदैन ।
- विश्वकप २०२३ मा २०१ रनको अविजित पारी उनको महान पारी हो।
- उनको जीवन र करियर उतारचढावले भरिएको भए पनि, उनले मैदान बाहिर र भित्र दुवै ठाउँमा प्रेरणा दिए।
२० जेठ, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर ग्लेन म्याक्सवेल एकदिवसीय क्रिकेटबाट बिदा भएका छन्। उनको करियर कुनै आँकडाले मात्र व्याख्या गर्न सक्दैन।
उनी प्रायः ‘म्याडनिङ र म्याग्निफिसेन्ट’ — पागलपन र प्रतिभाको अद्भुत मिश्रण मानिन्छन् । उनका बारेमा जुनसुकै विशेषण प्रयोग गरिए पनि, ती उनको सम्पूर्णता व्यक्त गर्न पुग्दैनन्।
१३ वर्षमा जम्मा १४९ खेल खेले जुन संख्या नै आश्चर्यजनक रूपमा कम लाग्न सक्छ। ३९९० रन, औसत ३३.८१, स्ट्राइक रेट १२५ भन्दा माथि । अस्ट्रेलियाका लागि रन स्कोररहरूको सूचीमा उनी जेफ मार्श र मार्क टेलरको बीचमा १९औं स्थानमा छन्। तर उनका योगदान कुनैपनि परम्परागत सूची वा आँकडाले देखाउन सक्दैन।
उनको योगदान ती क्षणहरूमा छ जसले आम क्रिकेट समर्थकलाई चकित पार्ने गरेको छ भने उनीप्रति विश्वव्यापी रूपमा सम्मान प्रकट हुने गर्छ । उनका ती इनिङले क्रिकेटप्रेमीलाई सम्झना रहिरहने अनुभूति दिन्छन्।
विश्वकप २०२३ को त्यो खेल – म्याक्सवेलको महाकाव्य
विश्वकपमा अफगानिस्तानविरुद्ध मुम्बईमा खेलेको २०१ अविजित रन (१२८ बलमा) म्याक्सवेलको करियरको सबभन्दा ठुलो उपलब्धि मात्र होइन, एकदिवसीय क्रिकेटकै इतिहासमा एक असम्भव क्षण थियो।
शरीर भुइँमा, तन्किएको मांसपेशी, प्यासले चिच्याइरहेको शरीर, तर पनि म्याक्सवेल ब्याटिङ गर्दै थिए — केवल ब्याटिङ होइन, अफगानिस्तानले लज्जाबोध गराउने खालको हारतर्फ धकेलिरहँदा उनी जित चोर्दै थिए।
अस्ट्रेलिया ९१-७ को दयनीय अवस्थामा थियो । क्रिजमा थिए म्याक्सवेल र भर्खरै आएका कप्तान प्याट कमिन्स । त्यसपछि के भयो सबै जानकार नै छन् । तीन जीवनदान पाएपछि आक्रामक ब्याटिङ निरन्तर जारी राखेका उनले शतक बनाएपछि समस्या सुरु भयो ।
उनको मांशपेशीमा समस्या रहेको स्पष्ट देखिन्थ्यो । तैपनि उनी झुकेनन्, लडिरहे । उनको यो चमत्कार प्रत्यक्ष देखिरहेका थिए कप्तान कमिन्स जो क्रिजमा टिकेर मात्रै उनको साथ दिइरहेका थिए ।
अन्त्यमा त्यही भयो जे हुनु थियो, म्याक्सवेलले उक खुट्टामा उभिएर छक्का प्रहार गर्दै । फिल्डरलाई छानी छानी बिट गरेर बाउन्ड्री मात्र डिल गरेर एक्लै २०१ रन बनाए ।
त्यो इनिङ कुनै तर्कले मेल खाँदैन। स्कोरकार्ड हेर्दा अचम्म लाग्छ, लाइभ हेर्दा झन् अचम्म लाग्छ। कुनै सामान्य खेलाडीबाट त्यस्तो सम्भव हुँदैन। त्यसैले म्याक्सवेल असामान्य हुन्।
असमानता भित्रको स्थायित्व
म्याक्सवेल सधैं ‘अनियमित’ भनेर आलोचित भए। तर उनी सधैं त्यो क्षणमा चम्किए जब अस्ट्रेलियालाई सबैभन्दा बढी आवश्यक थियो। त्यसका उदाहरणहरू नै छन् ।
सन् २०१५ को एकदिवसीय विश्वकप क्वाटरफाइनलान जब शेन वाट्सन र स्मिथले वहाब रियाजको आक्रमण सामना गरिरहेका थिए, म्याक्सवेलको ४४ अविजित रनले खेल सन्तुलनमा ल्यायो।
सन् २०१६ मा भारतसँगको खेलमा उनको ८३-बल ९६ रन मद्दतमा अस्ट्रेलियाले २९६ रनको लक्ष्य पूरा गरेर खेल जित्यो ।
सन् २०२० मा इंग्ल्याण्डको म्यान्चेस्टरमा भएको एकदिवसीय खेलमा जब अस्ट्रेलिया ७३/५ थियो र ३०३ रनको लक्ष्य पछ्याउँदै थियो, म्याक्सवेल र एलेक्स केरी दुवैले शतक बनाएर जित दिलाए।
२०२२ मा श्रीलंकासँगको एकदिवसीयमा ५१ बलमा अविजित ८० रन बनाएर अस्ट्रेलियालाई २ विकेटको जित दिलाए । २०२३ को विश्ववपमा अफगानिस्तानसँगको २०१ रनको पारी त महान नै भइहाल्यो ।
यसै वर्ष भएको आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो खेलमा इंग्ल्याण्डले दिएको ३५२ रनको लक्ष्य पछ्याउँदा जोश इङ्लिस र एलेक्स क्यारीको शानदार साझेदारीपछि आएका म्याक्सवेलले १५ बलमा ३२ रन बनाए ।
यी उनका केही महत्वपूर्ण पारिहरूको झलक मात्र हो । सन् २०१४ मा पाकिस्तानविरुद्ध अन्तिम ओभरमा २ रन डिफेन्ड गर्ने क्रममा डबल विकेट मेडन राख्दै १ रनले खेल जिताउने पनि म्याक्सवेल नै थिए ।
म्याक्सवेललाई मुख्य बलरको रूपमा कहिल्यै हेरिएन। तर २०१५ विश्वकपमा उनी अस्ट्रेलियाका लागि मुख्य स्पिनर थिए। फाइनलमा मार्टिन गप्टिलको विकेट लिए।
२०२३ को फाइनलमा जब रोहित शर्मा तुफानी पारीमा थिए, म्याक्सवेलले पावरप्लेको अन्तिम ओभरमा बलिङ गर्दै ठूलो छक्का र चौका खाएपछि पनि हिम्मत नहारेर पेस र ट्राजेक्टोरी परिवर्तन गरे र रोहितलाई आउट गरे। त्यो विकेटले खेलको सम्पूर्ण प्रवाह बदल्यो — १ लाख दर्शक शान्त भए, १.६ अर्ब मन चुँडियो।
उनको सबैभन्दा उल्लेखनीय तथ्य के हो भने ३४ वटा सफल चेसमा उनी ५६.४० औसत र १२७.८९ स्ट्राइक रेटमा खेले। जुन एकदिवसीय इतिहासमा कमै हुने गर्छ ।
मोडर्न क्रिकेटमा निडर भएर इनोभेटिभ शट खेल्ने क्षमता राख्ने म्याक्सवेलकै शैलीबाट प्रेरित भएर अहिले अन्य अस्ट्रेलियन तथा बाहिरी खेलाडीहरूले पनि त्यो क्षमता विकास गरिरहेका छन् । पेस बलरलाई पनि रिभर्स शटमा छक्का हान्न सक्ने ल्याकत म्याक्सवेलमा छ ।
जीवन पनि उतारचढावले भरिएको
म्याक्सवेलको जीवन मैदान बाहिर पनि त्यत्तिकै ‘ड्रामाटिक’ रह्यो। मानसिक स्वास्थ्य समस्या, खुट्टाको भाँचिएको हड्डी, गल्फ कार्टमा लागेको चोट, डिहाइड्रेसनका कारण अस्पताल भर्ना — यी सबैपछि पनि उनी खेलमा फर्किए।
उनी कहिले साथीको जन्मदिन मनाउने क्रममा चिप्लिएर खुट्टाको चोट बोक्थे । कहिले गल्फ खेल्ने क्रममा चोट बोक्थे । जसबाट रिकभर भएर फेरि मैदानमा फर्केर जादू पनि देखाएकै हुन्थे ।
उनले सन् २०१९ मा केही समय क्रिकेटबाट ब्रेक पनि लिएका थिए । ब्रेकबाट फर्किएपछि उनको ब्याटिङ स्टान्स पनि परिवर्तन भएको थियो ।
म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट मात्र बिदा लिएका हुन्, तर टी-२० मा अझै सक्रिय हुनेछन्। अहिले चलिरहेको आईपीएलमा चोटका कारण बीचमै छाडेपनि २०२६ को टी२० विश्वकपमा उनी फेरि चम्कने सम्भावना छ। किनभने, म्याक्सवेल असम्भवलाई सम्भव बनाउने खेलाडी हुन्।
उनको करियरले हामीलाई सिकाएको छ — ‘यदि तपाईंले म्याक्सवेललाई उनको खराब दिनमा सहन सक्नुहुन्न भने, उनले दिएको चमत्कारको आनन्द लिन पाउने अधिकार पनि तपाइसँग छैन ।
म्याक्सवेलको एकदिवसीय करियर आँकडाले होइन, क्षणहरूले सम्झिनेछ। ती पागलपनले भरिएका अनि चमत्कारिक बनेका क्षणहरूले धेरैलाई प्रेरणा दिइरहनेछन्।
सायद उनीजस्तो अर्को म्याक्सवेल कहिल्यै नआउला…
-क्रिकइन्फोका लागि एलेक्स मालकोमले लेखेको आर्टिकलबाट भावानुवाद
प्रतिक्रिया 4