News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले सोमबार स्कटल्याण्डविरुद्ध १ विकेटको रोमाञ्चक जित हात पार्यो ।
- करण केसी र गुल्सन झाले फिनिसिङमार्पत जित दिलाए।
- करणले अविजित ६५ रन र गुल्सनले ४२ रन बनाएर महत्वपूर्ण साझेदारी गरे।
२० जेठ, काठमाडौं । करण केसी र गुल्सन झा नेपाली क्रिकेट टोलीमा मिडियम पेसरको भूमिकामा छन् । अझ करण केसी त नयाँ बल नै लिएर स्वीङका साथ बलिङ गर्छन् । गुल्सन आवश्यकता अनुसार मिडल अर्डरमा बलिङ गर्ने गर्छन् ।
दुवैले आवश्यक परेका बेला ब्याटिङ पनि गर्छन् । तर क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्ध नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्दाका नायक उनै करण र गुल्शन रहे । दुवैले बलिङमा होइन ब्याटिङबाट म्याच जिताए ।
गुल्शनलाई नेपाली टोलीमा अलराउण्डरको रोलमा राखिएका छन् । त्यसैले उनलाई आवश्यकता अनुसार मिडल अर्डरमा ब्याटिङ गराइन्छ । तर स्कटल्याण्डविरुद्ध भने दुवैले अन्तिमतिर ब्याटिङ गरे । गुल्सनले सातौं र करणले नवौं नम्बरमा ब्याटिङ गर्दै नेपाललई खेल जिताए ।
गुल्शन र करण दुवैले यसअघि पनि नेपालका लागि महत्वपूर्ण अवसरमा जित दिलाएका छन् । यसपटक पनि यी दुई खेलाडी चम्किए । करणले ओडिआई करियरकै पहिलो अर्धशतक बनाउने क्रममा अविजित ६५ रन जोडे । गुल्सनले ४२ रन योगदान गरे । यो जोडीले आठौं विकेटका लागि ६० रनको साझेदारी पनि गरे । करण म्याच जिताएर अविजित रहँदै पेभेलियन फर्किए ।
भ्यालेन्टाइन ब्वाएको रुपमा चिनिने करणले यसअघि क्यानडाविरुद्ध खेलेको अविजित ४१ रनको इनिङ्स विशेष रुपमा सम्झने गरिन्छ । सन् २०१८ मा क्यानडाविरुद्धको महत्वपूर्ण खेलमा अन्तिम विकेट बाँकी रहँदा शानदार ब्याटिङ गर्दै करणले नेपाललाई एकदिवसीय मान्यता दिलाउन चमत्कारिक प्रदर्शन गरेका थिए ।
यस्तै गुल्सनले पनि यसअघि मिडल अर्डरमा कोचले जुनसुकै भूमिका दिएपनि आफूलाई प्रमाणित गर्दै आएका छन् ।
करण र गुल्शनको साझेदारी
नेपाली टोलीले २९७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात पाएको थियो । ओपनर कुशल भुर्तेलले अर्धशतक बनाउँदै आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि १२ ओभरमा ७२ रनको साझेदारी गरेका थिए ।
त्यसपछि ७८-२ हुँदै १५२-३, १६०-४, १७६-५, १९०-६ अनि १९२-७ को अवस्थामा पुगेपछि नेपालको इनिङ धर्मराएको थियो । त्यसबेला करण केसी क्रिजमा आए र गुल्शन झासँग मिलेर ४५ बलमा ६० रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।
४५औं ओभरमा ज्यासपर डेभिडसनलाई लगातार २ छक्का हिर्काएका गुल्शन ४६औं औभरमा आउट भएपछि नेपाललाई अन्तिम ४ ओभरमा ४३ रन चाहिने अवस्था थियो । त्यसपछिको ओभरमा स्कटल्याण्डका पेसर सफिया सरिफले जम्मा ५ रन मात्र दिए ।

अन्तिम ३ ओभरमा ३८ रन आवश्यक रहँदा नेपाल २५९-८ को अवस्थामा थियो । करणले ४८औं ओभरमा एक छक्कासहित सन्दीप लामिछानेसँग मिलेर १३ रन जोडेपछि अन्तिम २ ओभरमा २५ रन आवश्यक भयो ।
४९औं ओभरमा करणले सफिया सरिफलाई एक छक्का र २ चौका प्रहार गर्दै उक्त ओभरमा कुल १८ रन जोडेपछि नेपाललाई अन्तिम ओभरमा ७ रन मात्र चाहिएको थियो ।
अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने क्याचआउट भएपछि रिजन ढकालले खेलेको एक बल वाइड भयो भने एक बल डट खेलेपछि १ रन लिएर करणलाई स्ट्राइक दिए । करणले त्यसपछिको २ बलमा २-२ रन जोडेपछि अन्तिम बलमा १ रन आवश्यक थियो ।
उक्त बल डाउन द लेग करणको ब्याट र प्याडको निकै नजिकबाट गयो । बाइको रन लिन भागेका रिजन स्ट्राइकर्स एन्डमा विकेटकिपर म्याथ्यु क्रसले रनआउट गरे तर अम्पायरले वाइडको इशारा गरेपछि रनआउटको मान्यता नहुने भएकाले नेपालले १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।
यसरी नेपालको मध्यक्रम केही धर्मराएको अवस्थामा लोअर अर्डरमा आएर दुई अलराउण्डरले नेपालका लागि कीर्तिमानी जित निकाल्न महत्वपूर्ण भूमिका खेले ।
खेल जिताएपछि करणले आफ्नो लागि यसप्रकारको इनिङ खेल्न मन पर्ने प्रतिक्रिया दिए । ‘यस्तो प्रेसर वाला इनिङ खेल्न मलाई धेरै मनपर्छ, चान्स लिएर खेल्नुपर्छ टिमका लागि जित्नुपर्छ र यो विशेष पनि छ मेरा लागि’ उनले भने ।
नेपालका पूर्वकप्तान तथा हाल क्यानको सचिव रहेका पारस खड्काले ब्याटिङ साँच्चै नै उच्च स्तरको देखिएको बताउँदै टोलीलाई मोटिभेट गर्दै लानुपर्ने उल्लेख गरे । ‘राम्रो ओपनिङ पाएर मिडल अर्डरले पनि संयमित पारी खेल्दा अन्त्यमा गुल्शन र करणको फिनिसिङ राम्रो भयो’ उनले भने, ‘हामी यो टिममा विश्वास गर्छौं, यस टिमलाई अझै उत्प्रेरित गराउँदै लानुपर्छ।’
नेपालले बनाएको कीर्तिमान
नेपालले यस खेलमा आफ्नो नयाँ कीर्तिमान पनि बनायो, त्यो थियो एकदिवसीय क्रिकेटमा उच्च रनको लक्ष्यलाई सफलतापूर्वक पूरा गर्नु । यसअघि नेपालले सन् २०२४ मा भएको क्यानडासँगको खेलमा २८६ रनको लक्ष्य पूरा गरेको थियो जुन् नेपालका लागि सबैभन्दा सफल रन चेज थियो ।
सोमबार नेपालले उक्त रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गर्यो । स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य पूरा गर्दै नेपालले यस लिग २ शृंखलामा महत्वपूर्ण २ अंक पनि हासिल गर्यो ।
त्यसअघि सन् २०२३ मा नेपालले कीर्तिपुरमा यूएईसँग पहिलो इनिङ्समा ३१० रन बेहोरेको भएपनि खेल जितेको थियो । तर उक्त खेलमा खराब प्रकाशका कारण नेपालले डिएल पद्दतिअनुसार पहिल्यैका ओभरमा जित निकालेको थियो जसका कारण यो कीर्तिमानी रन चेज भने हुन सकेन ।
त्यस्तै करणले नवौंं नम्बरमा ब्याटिङ आएर अविजित ६५ रन जोडेका थिए । उनको यो स्कोर नेपालका लागि नवौं नम्बरमा ब्याटिङमा आएर कुनैपनि खेलाडीले बनाएको हालसम्मको उच्च स्कोर हो ।
यसअघि सन् २०२३ मा गुल्शन झाले आयरल्याण्डसँगको खेलमा नवौं नम्बरमा ब्याटिङ आएर अविजित ५७ रन बनाएका थिए ।
स्कटल्याण्डमाथि लगातार चौथो जित
सोमबार स्कटल्याण्डविरुद्धको जित नेपालका लागि लगातार चौथो जित रह्यो । नेपाल स्कटल्याण्डसँग सन् २०२३ देखि भएका ५ वटै खेलमा अपराजित छ। ४ खेल जित्दा १ खेल नतिजाविहीन थियो ।
पछिल्लोपटक सन् २०२४ अक्टोबरमा अमेरिकाको डलासमा भएको लिग २ शृंखलामा नेपालले सक्टल्याण्डसँगको पहिलो खेल जित्दा अर्को खेल वर्षाले नतिजाविहीन भएको थियो ।
त्यसअघि नेपालले सन् २०२३ फेब्रुअरीमा कीर्तिपुरमा भएका दुवै खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसबेला नेपालले २ विकेट र ३ विकेट अन्तरको जित निकालेको थियो ।
सोमबारको सहित नेपाल र स्कटल्याण्डबीच हालसम्म ओडिआईमा भएका ९ खेलमध्ये ५ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ ।
पछिल्लोपटक सन् २०२२ को डिसेम्बरमा नामिबियामा भएका दुवै खेलमा नेपाललाई हराएदेखि यता स्कटल्याण्डले नेपाललाई हराउन सकेको छैन ।
लिग २ को साविक विजेता समेत रहेको स्कटल्याण्डलाई उसैको मैदानमा हराउनु धेरै नै ठुलो सफलता भएको करणले उल्लेख गरे । ‘स्कटल्याण्डलाई हराउनु भनेको ठुलो कुरा हो, हामी अब यही लयलाई बाँकी ३ खेलमा निरन्तरता दिनेछौं।’
त्यस्तै पूर्वकप्तान पारसले एसोसियट क्रिकेटमा कुनैपनि कुरा सजिलो नहुने उल्लेख गर्दै मेहेनत गरेर निखार ल्याउन जरुरी रहेको बताए ।
नेपाली समर्थकको उल्लास
स्कटल्याण्डको घरेलु मैदान भएपनि त्यहाँ नेपाली समर्थकहरूको बाहुल्यता थियो । नेपालले लिने हरेक विकेट तथा प्रहार गर्ने हरेक बाउन्ड्रीमा दर्शकहरू नाचगान गरिरहेका थिए ।
अन्तिम ६ ओभरको रोमाञ्चक खेलका क्रममा त दर्शक बाउन्ड्रीकै नजिक आएर जोसिएका थिए । त्यहाँको सेक्युरिटीले नै बारम्बार बाउन्ड्रीबाट टाढा राख्न मेहेनत गरिरहनुपरेको थियो ।
जब नेपालले अन्तिम बलमा वाइडबाट खेल जित्यो, अम्पायरले वाइडको इशारा गर्नेबित्तिकै समर्थकहरू मैदानभित्रै ओइरिएका थिए । केहीले करण केसीसँग हात मिलाए भने केहीले सेल्फी नै लिन पनि भ्याएका थिए।
यसैबीचमा केही सेक्युरिटी पर्सनले करणलाई सुरक्षा घेराजस्तै बनाएर डगआउटसम्म पुर्याएका थिए ।
समर्थकबारे प्रतिक्रिया दिँदै करणले यो देखेर घरमै खेलेको जस्तो महसुस भएको बताए । ‘समर्थकहरू सधैं नेपाली क्रिकेटको ढुकढुकी रहँदै आएका छन् । आज घरमै खेलेको जस्तो महसुस भयो, यो साथका लागि सबैजनालाई धन्यवाद’ उनले भने ।

प्रतिक्रिया 4