Comments Add Comment

भाटभटेनीका साहु, जसले बालुवाटारमा एनआरएनलाई डुबाए

२५ माघ, काठमाडौं । सपिङ सेन्टरको नाम लिनेवित्तिकै भाटभटेनीको नाम आइहाल्छ । देशको सबैभन्दा धेरै चलेको र शाखा सञ्जालसमेत धेरै ठाउँमा पुगेको भाटभटेनीको नाम नसुन्ने नेपाली कमै होलान् । यही भाटभटेनीका साहु मीनहादुर गुरुङ यतिबेला बालुवाटार काण्डमा परेका छन् ।

३५ हजार रुपैयाँमा लगानी सुरु गरेको बताउने गुरुङसँग अहिले अर्बौको सम्पत्ति छ । भाटभटेनीकै मात्र १७ वटा आउटलेटहरु देशभर छन् । एक महिनाअघि उनले बाग्लुङमा पनि भाटभटेनी खोल्ने योजना रहेको बताएका थिए ।

व्यवसायमा ‘सफल’ बन्दै गएका मीनबहादुरलाई आर्थिक छलाङ मार्न ललिता निवासको जग्गा निकै फलदायी बन्यो ।

बालुवाटारको सयौं रोपनी सरकारी जमिन ब्यक्तिका नाममा गराउन आर्थिक लगानी गर्ने, योजना बनाउने र त्यसको लाभ लिनेमा मिनबहादुर नै पहिलो नम्बरमा रहेको अख्तियारले दायर गरेको अभियोग पत्रले पुष्टि गर्छ ।

बालुवाटारमा ‘कनेक्सन’

बालुवाटारमा ब्यापारिक घरानालाई जग्गा बेच्ने प्रपञ्च मिलाउने मीनबहादुर नै भएको र अधिकांश क्रेताले उनकै विश्वासमा जग्गा किनेको प्रष्टै देखिन्छ । अख्तियारको अभियोगपत्रमा समेत उल्लेख छ कि जग्गा बिक्री गराउन मूख्य भूमिका खेल्ने मीनबहादुर नै हुन् भन्ने अख्तियारको दाबी छ ।

उनीसँग ५० करोड ४७ लाख बराबरको जरिवाना र त्यतिकै बिगो असुल उपर गर्न माग गरिएको छ । राष्ट्रसेवक कर्मचारी, पदाधिकारीलाई अनुचित प्रभावमा पारेर सरकारी सार्वजनिक जग्गा गैरकानुनीरुपमा आफूसमेतको नाममा सट्टाभर्ना गरेर आफूलाई लाभ र सरकारलाई प्रत्यक्ष हानी पुर्‍याउने काम गरेको अभियोग गुरुङमाथि लगाइएको छ ।

सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति र मुआब्जा दिएर खरिद गरेको २८४ रोपनीमध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङसहित शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीलगायतसँगको मिलोमतोमा खरिद गरेका थिए ।

व्यक्तिका नाममा सारिएको बालुवाटारको ११२ मध्ये आधाभन्दा बढी जग्गा गुरुङले लिएका थिए । उनले व्यक्तिगत, संयुक्त, भाटभटेनी सुपरमार्केट र आफन्तका नाममा जग्गा खरिद गरेका थिए । कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरु गुरुङले आफ्नै नाममा लिएका थिए ।

गुरुङले भाटभटेनी डेभलपर्स प्रालिका नाममा १० कित्ता जग्गा राखेको देखिन्छ । कित्ता नम्बर १०, १२, १४, १७, ५७, ५८, ७९, ८१, ८२ र २८६ को जग्गा अहिले पनि भाटभटेनीको नाममा छ । बाँकी जग्गा छोरा कल्याण लगायतका आफन्तका नाममा राखिएको छ ।

०६० चैत २५ गते राज्यले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा खरिद गरेपछि शुरु भएको गुरुङको संलग्नता त्यसपछि भने क्रमशः निर्णायक भूमिकामा परिणत हुँदै गएको पूर्वसचिव शारदाप्रसाद त्रिताल समितिको ठहर थियो ।

आफूले कमाए, एनआरएनएलाई डुबाए

रोचक कुरा के छ भने बालुवाटारबाट धेरै सम्पत्ति मीनबहादुरले कमाए । तर, उनको पछि लागेर गुमाउने अरु छन् । मीनबहादुरकै कारण गैरआवासीय नेपाली संघ (एनआरएनए) समेत फसेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन)लाई पनि बालुवाटारमा गुरुङले नै भित्र्याएका थिए । सो जग्गा विवादित नभई सरकारले पहिले जफत गरेर फिर्ता गरेको १४ रोपनीमध्येबाट रहेको बिश्वास दिलाएर अधिग्रहण गरिएको जग्गा किनाएका थिए ।

एनआरएनको भवन ०७१ फागुन १५ गते शिलान्यास गरिएको थियो । जबकि एनआरएनले ०७२ जेठ १४ गते मात्रै जग्गा किन्यो । एनआरएनले जग्गा किनेको रकमको चेक मिनबहादुर गुरूङ र उनकी पत्निलाई दिएको जग्गा खरिदका लागि गठित समितिले पत्ता लगाएको थियो ।

एनआरएनएले खरिद गरेको जग्गामा अहिले करोडौं खर्चिएर महल ठड्याइसकेको छ । गत कात्तिकमा अन्तर्राष्ट्रिय विश्व सम्मेलनको धेरै काम एनआरएनएले आफ्नै नयाँ भवनमा सञ्चालन गरेको थियो ।

अहिले भने उक्त भवन भाडामा लगाइएको छ । मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक नै अहिले त्यस विवादित जग्गामा बनेको भवनमा भाडा तिरेर बसिरहेको छ । अहिले अख्तियारले दायर गरेको मुद्दामा एनआरएनलाई पनि प्रतिवादी बनाएको छ ।

जग्गा जफत गर्नका लागि भन्दै एनआरएनलाई प्रतिवादी बनाइएको हो । ठूलो रकम तिरेर मालपोतमा गएर पास गरेर वैधानिक तरिकाले नै एनआरएनएले जग्गा किनेको हो । तर, मीनबहादुरकै कारण जग्गा र भवन निर्माणमा खर्चिएको करोडौं रकम एनआरएनएको डुब्दैछ ।

उसो त बालुवाटार जग्गा प्रकरणमा मात्रै होइन, भ्याट छलीमा समेत उनी मुछिएका छन् । मीनबहादुरले भ्याट छली गरेको सर्वोच्च अदालतले नै पुष्टि गरिसकेको छ । भाटभटेनीले मूल्य अभिवृद्धि कर छली र त्यसका आधारमा आयकरसमेत छली गरेको आधारमा ८० करोड रुपैयाँ राजस्व निर्धारण भएको थियो ।

भाटभटेनीले वस्तु आपूर्ति गर्नेहरुसँग खरिद गरेको नक्कली बिजक बनाएर आफ्नो खर्च बढाएको भन्दै अदालतले भाटभटेनीलाई दोषी ठहर गरिसकेको छ ।

छोटो समयमा अर्बपति

बालुवाटार जग्गा प्रकरणका खेलाडी मीनबहादुरको स्थायी घर खोटाङ हो । सामान्य कृषक परिवारमा जन्मिएका मीनबहादुर विद्यार्थीका रुपमा २०४१ सालमा काठमाडौं आएका थिए । शिक्षासँगै व्यवसायमा होमिएका उनी अहिले अर्बपति बनेका छन् ।

उनले व्यवसाय चाहिँ कसरी सुरु गरे त ? मीनबहादुरकै कुरा पत्याउने हो भने उनले त्यसबेला ३५ हजार लगानीमा व्यवसाय शुरु गरेका थिए । शुरुमा उनी, एउटा बैंकमा जागिरे थिए । जागिरमा छँदै श्रीमतीको गहना बेचेर १२ बाई १० क्षेत्रफलको कोठामा किराना पसलबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेको मीनबहादुरले बताउने गरेका छन् ।

३५ हजार लगानीमा आफूलाई पाल्नसमेत धौ–धौ हुने व्यवसाय विस्तार भएर अहिले उनी अर्बपति बनेका छन् । करिब ५ हजार त अहिले भाटभटेनीमा कर्मचारी छन् । भाटभटेनीका अहिले काठमाडौं, पोखरा, धरान, बुटवल, भरतपुर र बिराटनगरमा गरी १७ वटा ‘आउटलेट’ छन् ।

गुरुङकै शब्दमा भन्दा ३५ वर्षमा भाटभटेनीले उल्का (मेट्योरिक) आर्थिक छलाङ मारेको छ । अविश्वसनीय आर्थिक उन्नतिको प्रमुख हिस्सा भने घरजग्गासँग सम्बन्धित व्यवसाय रहेको गुरुङ निकटस्थहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment