+
+
Shares
चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकको गुनासो :

‘बाँसुरी बजाउन समय छ, हामीलाई भेट्न फुर्सद हुन्न’

परराष्ट्रमन्त्री ज्ञवालीले दुई हात जोड्दै भने - कृपया पैसाको कुरा नगर्नुस्

सागर बुढाथोकी सागर बुढाथोकी
२०७६ माघ २४ गते २०:५३

२४ माघ, काठमाडौं  ।  कल्पना गर्नुस्, तपाईं कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएको चीनको वुहानस्थित कुनै एक घरमा १५ दिनदेखि थुनिरहनुभएको छ  । भएको खानेकुरा सकिँदैछ, बाहिरको हावासमेत घरभित्र छिर्न निषेध छ ।  मोबाइल हेर्‍यो  कि मृत्युको समाचार पढिरहनुपर्छ । आफ्नो देशमा रहेका आफन्तहरुलाई सुनाउन  पनि ‘डर’ बाहेक अरु समाचार छैन  ।

सँगै बसेका अरू देशका साथीहरुलाई उद्धार गरिसक्दा पनि तपाईंको देशले भने ‘तयारी गरिरहेका छौँ’ भनेर आश्वासन मात्र दिइरहेछ । अझ आफ्नै देशमा कतिपयले त ‘खबरदार यता आउलास्… भन्ने झै टीकाटिप्पणी गरेको सुन्दा कस्तो महसुस हुन्छ ?

शुक्रबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालयको प्राङगणमा कृष्णकुमारी भण्डारीले यस्तै प्रश्न गर्दा  उनलाई सुनिरहेका १५ जना अभिभावकले ‘हो मा हो…’ मिलाए र भने ‘यिनीहरुलाई हाम्रो पीडा के थाहा ?

वुहानमा रहेका नेपाली विद्यार्थीका अभिभावकहरु केही दिनयता मन्त्रालय धाइरहेका छन् । छोराछोरीहरुले ‘उद्धार गरिदिनु’ भन्दै गुहार मागेकाले उनीहरु सरकारसँग हारगुहार गरिरहेका छन् । तर, आश लिएर मन्त्रालय पुगेका उनीहरु निराश भएर फर्किएका छन्, उनीहरूको प्रश्न प्रश्नमै सीमित भएको छ ।

छोराछोरीलाई नेपाल ल्याउने सपना, सपना नै हुन लागिसक्यो । बरू मनमा डर लाग्न थालेको छ, ‘आफ्नो सपनाको मलामी जानु नपरोस् ।’

त्यसैले सोधिरहेका छन्, ‘हाम्रा छोराछोरीलाई कहिले उद्दार गर्छौ ?

तर, सरकारी जवाफ ‘तयारी गरिरहेका छौँ’ भन्ने छ । यसबाट आजित भएका उनीहरु ‘तयारी कहिले सकिन्छ ?’ थाहा पाउन चाहन्थे ।  छोराछोरीहरुलाई नेपाल ल्याउने मिति सुन्न आतुर देखिन्थे ।

तर, सरकारलाई गरेको प्रश्नको उत्तर सजिलै कहाँ पाइन्छ र ! बिहीबार स्वास्थ्य मन्त्रालयबाट नाजवाफ भएर फर्किए ।

शुक्रबार सिंहदरबारमा अभिभावकहरू दौडधुप गरिरहे । तर, घर फर्किँदै गर्दा पनि उनीहरूसँग जवाफ छैन ।

पीडा र आक्रोश मिसिएको स्वरमा अभिभावक उमेशबहादुर सिंहले भने, ‘छोराछोरीको चिन्ताले केही सोच्न नसक्ने भयौँ, मन्त्रीहरु पीडा नै बुझ्दैनन् ।’

बिहीबारदेखि मन्त्रालयको दैलो चहारिरहेकी कृष्णकुमारी भण्डारीकै शब्दमा भन्दा ‘मन्त्रीहरुले दिएको गैरजिम्मेवार जवाफ’ले उनीहरूको चित्त दुखेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादललाई राखेको गुनासो उनले सुनाइन्, ‘त्यो सरकारले केही गर्दैन भनेर छोराले फोन काटेको तीन दिन भयो, अहिलेसम्म फोन गरेको छैन । अस्ति नै खानेकुरा सकियो भनेको थियो, के खाएर बसेको होला… ।’

हामीले सोध्यौं, ‘के भन्नुभयो त मन्त्रीले ?’

कृष्णकुमारी जंगिँदै बोलिन्, ‘त्यही त हो नि … तयारी गरिरहेको छौं.. सधैंको तयारी तयारी.. यिनीहरुको तयारी पूरा हुदाँ उता के के भइसक्ने हो । ‘

उनीजस्तै उपस्थित अधिकांश अभिभावकको पीडा उस्तै छ, आक्रोश उस्तै छ । गृहमन्त्री थापाको जवाफ उनीहरुलाई चित्त बुझेकै थिएन ।

मोबाइलमा रिंगटोन बजिरहँदा पनि अनुहार अध्याँरो भइहाल्छ ।  किनकि, वुहानबाट छोराछोरीहरुले सोधिरहेका थिए, ‘के भन्नुभयो मन्त्रीज्यूले, हामीलाई कहिले उद्धार गर्ने रे ?’

उनीहरु एक अर्कासँग मुखामुख गरेर भन्थे, ‘तयारी भइरहेको छ .. चाँडै हुन्छ रे । ‘

उनीहरु आफ्नो पीडा लुकाएर छोराछोरीलाई  ‘नआत्तिनु, चाँडै उद्धार हुन्छ’ भनेर सम्झाउँछन् ।  तर, आश्वासनले कतिञ्जेल थेगोस् ? एउटै घरमा थुन्निएको १५ दिन नाघिसकेको छ ।

त्यहीबेला एकजना अभिभावककी छोरीले चीनबाट फोन गरिन् ।

बुवाछोरीको छोटो औपचारिक वार्तापछि उताबाट आवाज आयो—

‘यो त भोकले मर्न लागेको छोराछोरीलाई जीवित राख्न आलु.. भन्दै ढुंगा उसिनेको कथा जस्तै भयो त…’

‘आलु पाक्ला ..पाक्ला भनेर ढुंगा कुरिरहेका लाचार सन्तान जस्तै पो भयौं त हामी ..।’

कति कुर्नु ? कहिलेसम्म कुर्नु ?… के हामी कोरोना संक्रमित भएर मरेपछि लास लिन आउने हो सरकार ?’

‘…न पानी छ.. न राम्रो खाना.. हावा पनि नछिर्ने कोठामा थुनिएर मृत्युको समाचार पढ्दा पढ्दा पागल भइसक्यौं हामी…. । ‘

आक्रोश मिसिएको मलीन आवाज निरन्तर आइरहेको थियो । अभिभावकले छोरीलाई रोक्दै भने, ‘ल अहिले..राख, हामी परराष्ट्रमन्त्रीलाई कुरा राख्न जाँदैछौं ।

गृह मन्त्रालयबाट अभिभावकको टोली परराष्ट्र मन्त्रालयतिर लाग्यो ।

एकैछिन कुरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अभिभावक कुरिरहेको कोठामा छिरे।

उनले आक्रोशित नभई शान्तसँग प्रतिक्रिया राख्न अनुरोध गर्नासाथ एक अभिभावक बोले, ‘सरकारको काम र शैलीप्रति हामीलाई शंका लाग्यो, २ हप्ता भइसक्यो तयारी गरिराखेको छौँ भनेको .. तयारी कहिले पूरा हुन्छ ?’

उनको कुरा काट्दै अर्का अभिभावक बोले, ‘गृह र स्वास्थ्य मन्त्रालयबाट प्रष्ट कुरा नै आएन । अब त उनीहरुलाई कोरोना संक्रमण होला भन्ने डर लागिसक्यो, हाम्रा छोराछोरीलाई कहिले ल्याउने हो भन्दिनुपर्‍यो मन्त्रीज्यू…’

अर्की अभिभावक निराश स्वरमा बोलिन्, ‘हाम्रा छोराछोरीको समस्या कति सुनाउँ… बरु सरकारलाई के समस्या छ, किन प्रकिया ढिलो भएको छ ? पैसा नभएर हो भने हामी हाम्रो घरजग्गा बेचेर भए पनि छोराछोरी ल्याउँछौं… । ‘

उनलाई बीचमा रोकेर दुई हात जोड्दै पराराष्ट्रमन्त्री ज्ञवाली बोले, ‘कृपया पैसाको कुरा नगर्नुस्, उहाँहरुलाई ढिलो उद्दार गर्ने हाम्रो कुनै नियत होइन । हामी ‘फास्ट ट्रयाक’मा काम गरिरहेका छौँ । ‘

परराष्ट्रमन्त्री ज्ञवालीको कुरा नसकिँदै उनीहरु एकै स्वरमा बोले, …’त्यसो भए किन यत्ति धेरै ढिलो त… । ‘

मन्त्री ज्ञवालीले उद्धार ढिलो हुनुका चार कारण सुनाए ।

पहिलो— विश्व स्वास्थ्य संगठनले चीनबाट अन्य देशमा नागरिक पठाउन आधारभूत मापदण्ड तोकेको छ ।  जसमा, १५ दिन राख्न क्वारेण्टाइन स्थल, त्यहाँ राख्दाराख्दै कोही संक्रमित भए राख्ने आइसोलेसन वार्ड । क्वारेण्टाइनमा राखिनेहरूका लागि डाक्टर तथा नर्सहरु र उनीहरुको सेफ्टी किट अनिवार्य हुनुपर्छ ।

मन्त्री ज्ञवालीका अनुसार अहिले नेपालमा डब्लूएचओको मापदण्ड पूरा गर्न काम भइरहेको छ, तर सकिएको छैन ।  मापदण्ड पूरा हुनासाथ अरु प्रकिया सुरु हुन्छ ।

दोस्रो कारण— चीनले प्रष्ट रुपमा ‘आफ्ना नागरिक लानु छ भने नेपालमा सुरक्षाको ग्यारेण्टी गर्नू’ भनेको छ ।

मन्त्री ज्ञवालीकाअनुसार वुहानबाट नेपालमा सम्पूर्ण तयारी पूरा भएको भन्दै विमानस्थलसम्म विद्यार्थीहरुलाई ल्याइदिन आग्रह गर्दै परराष्ट्रले चीनलाई चिठी लेख्नुपर्छ ।  त्यो प्रकिया डब्लूएचओको मापदण्ड पूरा हुनासाथ सुरु हुन्छ ।

तेस्रो कारण — चीनमा रहेका विद्यार्थीहरू लिन पठाउने स्वास्थ्यकर्मीहरुको अझै टुंगो लागिसकेको छैन ।  त्यो काम अन्तिम चरणमा छ ।

र, चौथो कारण — चीनबाट ल्याएर राख्ने ठाउँ तोकिए पनि यहाँका स्थानीयबासीले विरोध गरेका छन् । उनीहरुलाई काउन्सिलिङ गर्न बाँकी रहेकाले पनि उद्दारको काम ढिलो भइरहेको छ ।

आफ्ना छोराछोरीहरुलाई उद्धार गर्न ढिलो गर्नुका कारणहरू परराष्ट्रमन्त्रीबाट सुनेपछि अभिभावकहरुले एकै स्वरमा सोधेँ, ‘यति काम सक्न कति दिन लाग्छ ? त्यो थाहा भयो भने हामी ढुक्कले बस्छौं… कहिलेसम्म ल्याइसक्नुहुन्छ ? त्यो चाहिँ भनिदिनुपर्‍यो ।’

मन्त्री ज्ञवालीले फेरि हात जोड्दै बोले, ‘कृपया मलाई मिति तोक्न बाध्य नपारिदिनुस् । हामी चीनमा रहेका नागरिकप्रति संवेदनशील छौँ, उनीहरुलाई ल्याउने दायित्व सरकारको हो, तयारी पूरा भएपछि ल्याउँछौँ ।’

यति भनेपछि उनी त्यहाँबाट विदा भए ।

गृहमन्त्रालयबाट फर्किँदा निराश भएका अभिभावकहरूले यो पटक कुनै गुनासो गरेनन् ।

‘किन त ?’

अभिभावक उमेशबहादुर सिंहले भने, ‘कम्तिमा उहाँले हाम्रो समस्या त सुन्नुभयो ।  ढिला हुनुको कारण त भन्नुभयो । अब हामी छिटो गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई भेट्छौं । ‘

परराष्ट्र मन्त्रालयबाट टोली प्रधानमन्त्री कार्यलयतर्फ अघि बढ्यो ।

तर, प्रम कार्यालयको ढोका कहाँ सजिलै खुल्थ्यो र ?’

गेटमा रहेका सुरक्षाकर्मीहरुले ‘पहिले नै जानकारी नगराई आकस्मिक भेट्न मिल्दैन’ भने । अभिभावकहरुले गृह र परराष्ट्रमन्त्रीलाई भेटिसकेको बताउँदै प्रधानमन्त्रीसँग पनि भेट दिन आग्रह गरे ।  तर ,सुरक्षाकर्मीले  दिएनन् ।

अभिभावकहरूले प्रधानमन्त्री कार्यालयका कसैलाई फोन गरे ।  उताबाट जवाफ आयो, ‘उहाँ व्यस्त हुनुहुन्छ, भेट्न मिल्दैन । ‘

अभिभावकहरु जंगिए, ‘मन्त्रालयमा भोज गर्न फुर्सद हुन्छ, बाँसुरी बजाएर नाचगान गर्न समय छ, ठूलाठूला होटलमा भएका कार्यक्रम उद्घाटन गर्न व्यस्तताले छेक्दैन, तर छोराछोरीको सकस सुनाउन आएका अभिभावकलाई भेट्न  उहाँ (प्रधानमन्त्री) लाई फुर्सद हुन्न ।’

अभिभावकको भीडबाट अर्को आवाज सुनियो, ‘जनताको मन्त्रालय भनेको त रत्नपार्क नै रैछ, जाउँ, उतै… ।’

त्यसपछि अभिभावकहरु आक्रोशित हुँदै सिंहदरबारबाट निस्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?